काठमाडौँ । वन्यजन्तुका चिकित्सक डा. विजयकुमार श्रेष्ठ यतिबेला चितवन निकुञ्जको देवनगर पोस्टमा हात्तीको नङ कटाउँदै हुनुहुन्छ । हात्तीको स्वास्थ्य परीक्षण पनि हुँदैछ । उहाँलाई खोरसोरका कर्मचारी बुधन चौधरी लगायतले सघाइरहनुभएको छ ।
“हात्तीमा क्षयरोग लागे–नलागेको परीक्षण गर्दै जुकाको औषधि दिँदैछौँ,” श्रेष्ठले भन्नुभयो, “बलिया र कमजोर हात्ती छनोट पनि गर्दैैछौँ ।” यसैगरी निकुञ्जका विभिन्न पोस्टमा रहेका हात्तीको उहाँले स्वास्थ्य परीक्षण गरिरहनुभएको छ । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका हात्तीको दक्षता वृद्धिसँगै स्वास्थ्य र आहारामा विशेष ध्यान दिइँदैछ ।
यो सबै कुनै विशेष उत्सवका लागि भने हैन, आउँदो चैत महिनामा हुने गैँडा गणनाका लागि हात्ती तयार पारिन थालिएका हुन् । एकसिङ्गे गैँडा पाइने चितवन जस्तै पर्सा, बर्दिया, शुक्लाफाँटामा पनि यसैगरी तयारी हुँदैछ । हरेक चार वर्षमा हुने गैँडा गणनाअनुसार यस वर्ष गणना हुन लागेको हो । यसअघि सन् २०१५ मा गैँडा गणना भएको थियो ।
क्यामरा ट्र्यापिङ गर्नका लागि होस् वा प्रत्यक्ष जङ्गलमा विचरण गरेर नै किन नहोस्, गैँडाको वर्तमान अवस्था पत्ता लगाउन हात्ती चढेर गणकहरूले काम गर्छन् । जङ्गलका सबै क्षेत्रमा कच्चा सडक नभएकाले पनि हात्तीको प्रयोग बढी हुन्छ । सबैभन्दा धेरै गैँडा चितवनमै भएकाले विशेष तयारी चलिरहेको छ ।
त्यस्तैगरी गैँडाको अवस्थिति रहेको बर्दिया, पर्सा र शुक्लाफाँटा निकुञ्जमा पनि गैँडा गणनाको तयारी तीव्र छ । गैँडा गणना गर्ने मिति तय नभए पनि चैतमै गैँडा गणना सुरु हुने वन्यजन्तु संरक्षण तथा निकुञ्ज विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । “गैँडा गणनाका लागि फिल्डमा के के प्रविधि र सामग्री चाहिन्छ भन्ने सूची तयार पार्ने काम चलिरहेको छ”, उहाँले थप्नुभयो, “केही सूचीका सामग्री सम्बन्धित निकायमा माग पनि भइसक्यो ।” उहाँका अनुसार कुन कुन निकायसँग सहकार्य गरेर जाने र प्रविधिजन्य विषय र व्यवस्थापनमा कसरी अघि बढ्ने भन्ने बारेमा थप छलफल चलिरहेको छ ।
सहकार्य गर्ने निकायलाई लगत्तै तालिम, प्रशिक्षण दिइने उहाँले बताउनुभयो । हालको सतही अवलोकनमा गैँडाको अवस्था राम्रो देखिएको छ । तथापि यकिन तथ्याङ्क भने गणनापछि नै आउनेछ । गैँडाकै लागि भनेर दुई हजार हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थित गरिएको छ । पानी नपुग भएका स्थानमा कृत्रिम पोखरी, ताल तलैया निर्माण गर्ने कामले पनि तीव्रता पाएको छ । माइकेनिया लगायतका वनमारा झार व्यवस्थापन भइरहेको उहाँले जानकारी दिनुभयो । गैँडा गणनाका लागि सरकारले एक करोड १० लाख रुपियाँ बजेट छुट्याएको छ ।
जलवायु परिवर्तनले सङ्कट
ठूलो स्तनधारी संरक्षित प्राणीका रूपमा नेपालको एकसिङे गैँडा रहेको छ । विश्वमा पाइने पाँच प्रजातिका गैँडामध्ये एसिया क्षेत्रमा तीन प्रजातिका गैँडा पाइन्छ । त्यसमध्ये नेपालमा भने एकसिङे गैँडा मात्र पाइन्छ । एकसिङे गैँडाको अवस्था नेपालमा वर्तमान समयमा राम्रो रहेको गैँडा विज्ञ शान्तराज ज्ञवालीले बताउनुभयो । “सङ्ख्यात्मक हिसाबले चितवनमा अति राम्रो छ, बर्दियामा बढ्दो छ अनि शुक्लाफाँटामा पनि राम्रो रूपमा बढोत्तरी हुँदैछ,” ज्ञवालीले भन्नुभयो, “हालसम्म कायम बासस्थान, नदीतटीय क्षेत्र र घाँसे मैदानको विकासले सङ्ख्या बढाउन मद्दत गरेको हो । गोरखापत्रबाट ।