तीन वर्षमा लडेर ८० जनाको मृत्यु
जाजरकोट नलगाड नगरपालिका–४ स्यालापाटा निवासी ७१ वर्षीय शान्तबहादुर वलीको बिहीबार भीरबाट लडेर मृत्यु भयो। सिलाजस्थित बाघखोरको जंगलमा खर काट्ने क्रममा उनी भीरबाट लडेका थिए।
दुई साताअघि बारेकोट गाउँपालिका–२ लिम्सास्थित वीरेन्द्रऐश्वर्य माविमा कार्यरत शिक्षिका भगवती शाही भीरबाटै लडेर बितिन्। विद्यालयबाट फर्कने क्रममा घर नजिकैको भीरबाट लडेर उनको ज्यान गएको थियो।
गत असारमा भीरबाट लडेर नलगाड–८ मैदेस्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी हबल्दार मोहवीर खड्काको ज्यान भयो। उनी गस्तीमा गएका बेला लडेका थिए। गत वर्ष बाटोमा हिँड्ने क्रममा नलगाड–५ को गेरेनी भीरमा माथिबाट आएको ढुंगाले लागेर बारेकोट मैनाका ५६ वर्षीय मानबहादुर बस्नेतको मृत्यु भयो।
यी केही प्रतिनिधिमूलक घटना हुन्। जाजरकोटमा भीरबाट लडेर ज्यान गुमाउनेको संख्या बढ्दो छ। भिरालो भूबनोटका कारण हिँड्दाहिँड्दै बाटोबाट चिप्लिएर, ढुंगा लागेर, घाँसदाउरा र खर काट्ने क्रममा भीरबाट लडेर ज्यान जानको संख्या बढेको छ।
बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले भने, ‘यहाँका बाटा निकै साँघुरा र भिराला छन्। बाटोघाटो र भीर स्थानीयका लागि काल बनिरहेका छन्। डरलाग्दा भीरले मान्छे खाइरहेका छन्।’
तीन वर्ष अवधिमा जिल्लामा ८० जनाको ज्यान गइसकेको तथ्यांक प्रहरीसँग छ। लडेर मृत्यु भएपछि पोस्टमार्टम गर्नुपर्ने झन्झटका कारण स्थानीयले प्रहरीलाई खबर गर्दैनन्। त्यसैले सबै तथ्यांक नआएको प्रहरी निरीक्षक केशर कार्कीले बताए। भीरबाट लडेर मरेको भनेर प्रहरीमा खबर गर्दा गाउँलेले नै लास बोकेर सदरमुकाम ल्याउनुपर्ने भएको खबर नआउने उनको भनाइ छ।
बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले गाउँमा तीन वर्षयता भीरबाट लडेर ३५ जनाको मृत्यु भएको बताए। उनका अनुसार ६ महिनायता भीरबाट लडेर १० जनाको मृत्यु भएको छ। गाउँपालिकाले यसै आर्थिक वर्षदेखि कम्तीमा २० जनाको दुर्घटना बिमा गराइदिने भएको छ।
जुनीचाँदे गाउँपालिकामा तीन वर्षमा भीरबाट लडेर १४ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले बताए। नलगाडमा १०, छेडागाडमा ७, कुसेमा ६, शिवालयमा ५ र भेरीमा तीन जनाको मृत्यु भएको ती गाउँपालिकाले जनाएका छन्। जिल्लाका ग्रामीण भेगमा रहेका गाउँमा जाने बाटो साँघुरो, अप्ठ्यारो र जोखिमपूर्ण छन्। बारेकोटका पृथ्वीबहादुर नेपालीले भने, ‘बारेकोट जाने बाटो माथि हेर्दा पहाड मात्र देखिन्छ। तल सुसाउने खोला। हिँड्दा पनि चिप्लिएर खसिने हो कि भनेर आङै सिरिंग हुन्छ।’
जिल्ला सदरमुकामबाहेकका गाउँ तथा नगरपालिकामा सडक पुग्न सकेको छैन। कतिपय ठाँउमा पुल छैनन्। नलगाडका हाँसीलाल पन्तले भने, ‘गाउँ जाने बाटाहरू जोखिमपूर्ण छन्। माथिबाट ढुंगो खस्ने हो कि तल खुट्टो चिप्लिने हो पत्तै हुँदैन।’
लडेर घाइते भएकाहरूले पनि तत्काल उपचार पाउँदैनन्। नजिकै सुविधा सम्पन्न अस्पताल छैनन्। टाढा लैजान यातायात सुविधा छैन। पन्तले भने, ‘घरबाट निस्केको मान्छे फर्केर आउँछ कि आउँदैन भनेर चिन्ता छ।’ कतिपय ठाउँमा सञ्चार सुविधा नहुँदा पनि तत्काल उद्धार गर्न गाह्रो हुने गरेको स्थानीयको भनाइ छ।
अन्नपूर्ण पोष्ट दैनिक