नवलपुरको बौदीकाली गाउँपालिका-५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७२ प्रतिशत मत खसेको छ । शनिबार भएको उपनिर्वाचनमा ६ सय १५ मत खसेको निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए । जसमा दुई सय ५७ पुरूष र तीन सय ५८ महिला रहेका छन् । यस वडामा आठ सय ५३ मतदाता रहेका थिए ।
मतदान शान्तिपूर्ण सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए । मतपेटिकाहरु गाउँपालिकास्थित मतगणना केन्द्रमा जम्मा गरिएको उनले बताए ।
सर्वदलीय बैठक बसेर मतगणनाको आचारसंहिता तयार गरी शनिबार राति ८ बजेदेखि मतगणना सुरू हुने अधिकारीले जानकारी दिए । मत संख्या थोरै भएकाले अन्तिम नतिजा पनि राति नै सार्वजनिक हुने उनको भनाइ छ । वडाध्यक्षका लागि तीन जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।