• उर्लाबारी ।  उर्लाबारी नगरपालिकाको कार्यपालिकाको बैठक सम्पन्न भएको छ । उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोको अध्यक्षतामा बसेको बैठ्कले विभिन्न १४ वटा प्रस्तावमा छलफल भइ सर्वसम्मत रूपमा निर्णय गरेको कार्यपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष भानुभक्त शर्मा पराजुलीले जानकारी दिनुभयो ।
    सोमबारको बैठकमा सडक बोर्ड नेपालको ४० लाख रूपैयाँ लगानीमा हुने सडक मर्मत सम्भारका लागि ५ वटा सडक छनौट, सेवा करारमा कार्यालय सहयोगीको पदपूर्ति गर्ने, नगरपालिकाको घरनक्सा पासलाई सहज बनाउन अमिनको व्यवस्था गर्ने, नगरपालिका भित्रका सार्वजनिक जग्गाको अविलेख तयार गर्ने, स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएअनुसार योजनाको अनुगमन तथा सुपरिर्वेक्षण प्रतिवेदन गर्ने, वर्षायाममा हुने बाढीको क्षति न्यूनीकरण गर्न पूर्वतयारीका लागि तारजाली खरिदको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
    यस्तै, उर्लाबारीको बसपार्क निर्माणका लागि १ विघा १८ कठ्ठा जग्गा जग्गादाताबाट नगरपालिकालाई पास गरेको भएपनि हाल १ विघा १३ कठ्ठामात्र रहेकाले सो जग्गाको अध्ययन गर्न नगर प्रमुखको संयोजकत्वमा ५ सदस्यीय समिति चयन गर्ने र समिति सदस्यको चयन नगरप्रमुख आफैले गर्ने निर्णय बैठकले गरेको छ ।
    बैठकले स्थानीय सरकार सञ्चान ऐन २०७४ अनुसार सामुदायिक वन तथा सीमसार क्षेत्रहरूको व्यवस्थापन नगरपालिकाले नै गर्नुपर्ने उल्लेख भएकाले नगरभित्रका सामुदायिक वन तथा सीमसार क्षेत्रको सम्पूर्ण व्यवस्थापन नगरपालिकाबाट गर्ने र यसका लागि सामुदायिक वन समिति र सीमसार समितिसँग समन्वयन गरी कार्य गर्ने निर्णय गरेको छ ।
    यस्तै, बैठ्कले मदन भण्डारी स्मृति प्रतिष्ठानको सडक स्तोन्नतिका लागि ७५ प्रतिशत रकम विनियोजन गर्ने, नगरपालिकाको नयाँ पाश्र्व चित्र तयार गर्ने, आइसीटी भोलुन्टर नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउने, विद्यालय छेऊछाउका अव्यस्थित पशुपालन र दुर्गन्धलाई कार्यविधि तयार गरी निर्णय गर्ने, सार्वजनिक ऐलानी जग्गामा निर्माण भएका मठ मन्दिर, सामुदायिक भवन, जेष्ठ नागरिक भवन, सामुदायिक विद्यालय आदिमा बजेट विनियोजन भएतापनि उक्त जग्गा पास नहुने भएकाले कानूनी रूपमा स्पष्ट हुनका लागि अर्काे बैठकमा निर्णय गर्ने, खानेपानी महसुल निर्धारणका लागि अध्ययन गर्न नगरप्रमुखले समिति गठन गर्नेलगायत निर्णय भएको प्रवक्ता पराजुलीले जानकारी दिनुभयो ।
    सडक बोर्डको लगानीमा हुने सडक मर्मत सम्भारका लागि उर्लाबारी वडा नं. ८ र ९ जोड्ने दुर्गापुरी–मेहेरी टोली–आमवाडी सडक, सिरूझार स्कूलहुँदै सुनझोडा सामुदायिक वन कार्यालयसम्म जाने सडक, उर्लाबारी १ बिहीबारेदेखि अविरल चौकसम्म जाने सडक, भानु मावि दक्षिण लक्ष्मीनारायण मन्दिरसम्म जाने सडक, नयाँ मंगलबारे उत्तर हिमाली टोल हुँदै वडा नं. २ को सीमासम्म जोड्ने सडक छनौट भएको प्रवक्ता पराजुलीको भनाइ छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…