काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमै बसेर स्वास्थ्योपचार गराईरहेकाले यतिबेला पूर्वनिर्धारित समयमा आफू चीन भ्रमणमा जान असमर्थ रहेको चिनियाँ प्रतिनिधिलाई जानकारी गराएकै दिन प्रधानमन्त्रीले त्यसको खण्डन गरिदिँदा प्रचण्ड लज्जित हुनुपरेको बुझिएको छ ।
प्रधानमन्त्रीले अस्पतालको शैय्याबाटै आफू स्वस्थ रहेको र केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने भिडियो सन्देश दिएका थिए । ओलीको सन्देशले प्रचण्ड चीन भ्रमणमा जान नचाहेको मुख्य कारण आफ्नो स्वास्थ्य नभै अर्कै रहेको अर्थ दिएपछि दुइ नेतावीचको सम्बन्धमै तनाव उत्पन्न भएको बताईएको छ । यसबाट प्रचण्डले चिनियाँ प्रतिनिधि र बाँकी समाजसँग लज्जित हुनुपरेको एक जानकार सूत्रले बताएको छ ।
यता प्रचण्डको चीन भ्रमण स्थगित हुनुको मुख्य कारण चिनियाँ राष्ट्रपतिसँग भेट्ने समय नमिल्नु बताईएको छ । उनले जम्बो भ्रमण टोलीको नेतृत्व गर्दै चीन पुगेपछि राष्ट्रपति सि जिन पिङसँग औपचारिक भेटवार्ताको अपेक्षा गरेका थिए । तर नेकपाको टोली नेतालाई यो अवसर हाललाई सम्भव नभएको सन्देश पाएपछि भ्रमण स्थगित गर्न एउटा उपयुक्त कारण चाहिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य उपयुक्त कारण बन्न सकेकाले प्रचण्डले यसैलाई उपयोग गरेको नेकपाकै अर्को एक सूत्रको दावी छ । तर बिरामी प्रधानमन्त्री ओलीले आफ्ना सहकर्मीलाई 'अप्ठेरो पर्नेगरी' भिडियो सन्देश दिएपछि प्रचण्ड सकसमा बताईएको छ ।
चिनियाँ राष्ट्रपतिको सी पथको अध्ययन र चिनियाँ बिकासको अवलोकन समेत गर्ने उद्देश्यसहित ६० जना सदस्यीय टोलीको नेतृत्व गर्दै प्रचण्ड यही मंसिर २४ गते चीन जाने तयारी थियो ।
यता प्रधानमन्त्री ओलीको पेटसम्बन्धी समस्या समाधान भइसकेको बताईएको छ । उनले बुधबार नै बालुवाटार फर्किन चाहेका थिए तर केही दिन अस्पतालमै बसेर स्वास्थ्य निरीक्षण गर्नुपर्ने भएकाले चिकित्सकले रोकेका थिए । ओलीलाई सम्भवत शुक्रबार डिस्चार्ज गरिने बुझिएको छ ।