काठमाडौं । गलगाँडलाई थाइराइड पनि भन्ने गरिन्छ, जुन सास फेर्ने नलीको बाहिरपट्टि हुन्छ । पुतली आकारमा हुने ग्रन्थीले थाइराइड नामक हर्मोन उत्पादन गर्छ । विभिन्न कारणले उक्त थाइराइड ग्रन्थी बढेमा गलगाँडको समस्या हुने गर्छ ।
गलगाँडको समस्या ग्रामीण क्षेत्रमा बढी देखिने गरेको पाइएको छ । हर्मोन अत्यधिक वृद्धिका कारण खासगरी किशोर–किशोरीमा गलगाँडको समस्या बढी देखिने गर्छ । किशोरावस्थामा शारीरिक वृद्धि छिटो–छिटो हुने भएकाले बढी समस्या देखिए पनि बिस्तारै निको हुँदै जान्छ । यसबाहेक, पुरुषको तुलनामा महिलामा गलगाँडको समस्या बढी देखापर्छ ।
हर्मोन अत्यधिक वृद्धिका कारण किशोरावस्थामा गलगाँडको समस्या बढी देखिने गर्छ । यो वेला शारीरिक विकास छिटो–छिटो हुने भएकाले बढी समस्या देखिएको भए पनि बिस्तारै निको हुँदै जान्छ ।
कारण
थाइराइड ग्रन्थीले थाइराइड हर्मोन आवश्यकभन्दा बढी उत्पादन गरेमा घाँटीमा डल्लो देखापर्ने गर्छ । थाइराइडले उत्पादन गर्ने टिथ्री टिफोर नाम हर्मोन अत्यधिक वृद्धि हुँदा गलगाँड हुने गर्छ । जसलाई चिकित्सकीय भाषामा हाइपर थाइराइडिजम भनिन्छ ।
शरीरमा आयोडिनको कमीका कारण थाइराइड हुने गर्छ । यसबाहेक, टिएसएच नामक हर्मोनको अत्यधिक वृद्धिबाट समेत हुने गर्छ । यसलाई हाइपो थाइराइडिजम भनिन्छ ।
त्यस्तै, थाइराइडमा पलाउने ट्युमरबाट गलगाँड हुने गर्छ । । अनावश्यक रूपमा यसरी पलाउने गिर्खा क्यान्सर र विनाय गरी दुई किसिमका हुन्छन् । विनायबाट क्यान्सर हुँदैन ।
लक्षण
सामान्यतया, थाइराइड हँुदा घाँटीमा गाँड देखापर्छ । बाहिरबाटसमेत देखिने यस्तो गिर्खा ठूलो हँुदै गएमा विभिन्न समस्या देखापर्न थाल्छन् ।
मानिस दुब्लाएर जाने, पसिना आउने, मुटुको धड्कन बढ्ने, रक्तचाप बढ्ने, भोक लाग्ने र खाना बढी खान मन लागे पनि नपच्ने आदिजस्ता लक्षण गलगाँड हुनुअघि देखापर्छन् ।
रोकथाम र उपचार
शरीरमा आयोडिनको कमी हुन नदिन आयोडिनयुक्त पदार्थ खानुपर्छ । तरकारी, अचार आदि पकाउँदा आयोडिनयुक्त नुन पहिले नै राख्नुहुँदैन । यसले आयोडिनको मात्रा नष्ट हुन्छ । आयोडिनयुक्त नुन सकेसम्म काँचो खाँदा राम्रो । औसत जीवनभरिमा मानिसलाई एक चम्चा मात्र आयोडिन पर्याप्त हुन्छ ।
न्युक्लियर र रेडियमको सम्पर्कमा रहने मानिसलाई थाइराइडको समस्या हुने गर्छ । तसर्थ, एक्सरे, रेडियो, लाइट र रेडियसनमा काम गर्ने मानिसले ध्यान दिनुपर्छ ।
रगतको जाँच, भिडियो एक्सरे, एफएनएसी र रेडियो एक्टिभ विधिबाट गरिने थाइराइड स्क्यान, सिटी स्क्यान, तथा एमआरआई विधिबाट गलगाँड कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिन्छ ।
गलगाँड औषधिको प्रयोगबाट निको पार्न सकिन्छ । ट्युमरको उपचार शल्यक्रियाको माध्यमबाट पनि गरिन्छ । तर, क्यान्सरको पूर्ण शल्यक्रियापछि थाइराइक्सन नामक हर्मोन र क्याल्सियम जीवनभरि खाइराख्नुपर्ने हुन्छ ।
थाइराइडको शल्यक्रियालाई ठूलो शल्यक्रियाको रूपमा लिइन्छ । काठमाडौंका ठूला अस्पताल र क्षेत्रीय अस्पतालमा मात्रै यो सेवा उपलब्ध छ । शल्यक्रिया गर्दा बोली नआउने तथा श्वासनली बन्द हुने भएकाले यसलाई जटिल शल्यक्रिया मानिन्छ ।