काठमाडौं। १३औं दक्षिण एसियाली खेलकुदमा नेपालले चामत्कारिक प्रदर्शन गरेको छ । मैदानभित्र मात्र होइन मैदानबाहिर पनि नेपालको चामत्कारिक प्रदर्शन गरेको हो । खेल सुरु हुने अघिल्लो दिनसम्म पनि भौतिक पूर्वाधार पूर्ण तयार हुनेमा आशंका नै देखिएको थियो तर तोकिएको समयमा साग गर्नका लागि सम्पूर्ण भौतिक पूर्वाधार तयार भयो । नेपालले घरेलु मैदानमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान खेलकुदमा केन्द्रित गर्न सफल भएको छ । २०७२ सालको महाभूकम्पले ध्वस्त भएको दशरथ रंगशाला पुनर्निर्माणका साथलाई १३औं सागका लागि बेहुलीझंै सिँगारिएसँगै नेपालको खेलकुद तरंगित भएको छ ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, सदस्यसचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको उच्च आत्मविश्वासले १३औं साग सम्भव भयो भन्दा फरक पर्दैन ।
युवा तथा खेलकुदमन्त्री विश्वकर्माले धेरै रात दशरथ रंगशालामा बिताए । ‘मन्त्री नै रंगशाला पुनर्निर्माण भएको स्थानमा आएर किन बस्नुप¥यो पनि भने तर जसरी पनि हामीले तोकेको समयमा सागलाई सम्भव गराउनुथियो । त्यसैले, मैले मेरो पदभन्दा पनि देशको प्रतिष्ठालाई हेरें,’ उनले भनेका छन् ।
२३ असारमा रमेश सिलवाल सदस्यसचिवका रूपमा राष्ट्रिय खेलकुद परिषद् भित्रँदा सागको मस्कट र लोगो सार्वजनिक भइसकेको थियो । तर, अन्य तयारी केही थिएन । दशरथ रंगशालाको भीआईपी प्याराफिट, सातदोबाटोको हिटिङ सुइमिङ पुल, पोखराको भौतिक पूर्वाधारलगायत अन्य थुप्रै काम बाँकी थिए । तर, सिलवालले आत्मविश्वासका साथ ‘१३औं साग गराउने चुनौती सम्भव गराउन म आएको छु,’ भन्दा धेरैले ‘गफ’ दिए भनेका थिए । तर, उनले बोलेको कुरा पु¥याएका छन् । तेस्रोपटक साग सरेन बरु भव्य उद्घाटनका साथ सुरु भयो र पदक तालिकामा चामत्कारिक प्रदर्शन ग¥यो । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अस्पतालको बेडबाट उद्घाटन समारोह लाइभ हेरे र खुसी पनि व्यक्त गरे । जीवनराम श्रेष्ठले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको अध्यक्षको हैसियतबाट खेलेको भूमिकाले पनि १३औं साग काठमाडौं, पोखरा र जनकपुरमा गराउन सफल भयो ।
नेपालबाट १९८४ मा दक्षिण एसियाली खेलकुद फेडेरेसन गेम्सका रूपमा क्षेत्रीय खेल सुरु भएको थियो । त्यसपछि १९९९ मा नेपालले दोस्रोपटक साफको आयोजना ग¥यो । त्यतिबेला १२ खेल समावेश थियो । तर, यसपटक भूकम्पले जीर्ण भएको भौतिक पूर्वाधार पुनर्निर्माण गरेर २६ खेलमा प्रतिस्पर्धा गराउन चानचुने कुरा नभएको १३औं साग सचिवालयका प्रमुख कमल खनाल बताउँछन् । ‘सबैले हातेमालो गर्दा चामत्कारिक रूपमा साग सम्भव भयो,’ उनी भन्छन् ।
‘उद्घाटनको अघिल्लो दिनसम्म पनि पौडी पोखरीमा पानी थिएन तर पौडी सुरु हुने दिन सबै चमत्कार भइसकेको थियो । गरे के हुँदैन भन्ने सन्देश सागले दिएको छ,’ बंगलादेशबाट सागको रिपोर्टिङका लागि काठमाडौं आएका वरिष्ठ खेल पत्रकार प्रदीप सिल आश्चर्य व्यक्त गर्दछन् ।
यसपटक अर्काे ऐतिहासिक उपलब्धि पनि भएको छ । सागले पहिलोपटक ब्रोडकास्टिङ अधिकार बिक्री ग¥यो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठ र सदस्यसचिव सिलवालले ब्रोडकास्टिङ अधिकार बिक्री हुन्छ भन्दा धेरैले हाँसो गरेका थिए । तर, भारतको नक्षत्र मिडियासँग सोल्टी होटलमा सम्झौता भएपछि आलोचक छक्क परे ।
पदक तालिकामा नसोचेको रेकर्ड
नेपालले पदक तालिकामा पनि अहिलेसम्मकै सर्वाधिक धेरै पदक जितेको छ । १९९९ मा नेपालले ३२ स्वर्ण जितेको रेकर्डलाई यसपटक तोडेको छ । पछिल्लो पदक तालिकाअनुसार नेपालले ३९ स्वर्ण पदक जितिसकेको छ । कराते र तेक्वान्दोमा नेपालले पुनर्जीवन पाउँदा साइक्लिङ, गल्फ, भारोत्तोलन, एथलेटिक्स, पौडीलगायतमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् ।
सन् २००० को सिड्नी ओलम्पिकको २०० मिटर दौडमा रजत पदक जितेकी श्रीलंकाकी सुसनथिका जयासिन्घेले नेपाली खेलाडीले उच्च आत्मबलका साथ प्रतिस्पर्धा गरेको बताउँछिन् । ‘साँचै नेपालले पाठ सिकाएको छ । तर, व्यवस्थापन अझ उत्कृष्ट गर्न सक्ने ठाउँ भने देखिन्छ । त्यसलाई सुधार गर्न सकेको भए सुनमा सुगन्ध हुने थियो,’ उनले भनिन् ।
नेपाली खेलाडीले उच्च आत्मविश्वासका साथ तयारी गरिरहेको कारण पदक तालिकामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको कराते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखे बताउँछन् । ‘साग हुँदैन कि भन्ने आंशकाबाहिर भइरहँदा पनि खेलाडीले तयारीमा केही कमी आउन दिएनन् । एक दिन त हुन्छ नि भनेर उनीहरू निरन्तर तयारीमा जुटिरहे । जसका कारण चामत्कारिक प्रदर्शन सम्भव भयो ।’
सानातिना कमीकमजोरी र विवादलाई बिर्सने हो भने यसपटक काठमाडौं, पोखरा र जनकपुरधाममा भइरहेको सागले नेपालको प्रतिष्ठालाई उच्च बनाउने काम गरेको छ । सागले भ्रमण वर्ष २०२० लाई सफल बनाउन कोशेढंगा साबित हुनेछ । भारतीय खेलाडीले नेपालको आतिथ्यता र अपनत्व पाएको भन्दै अर्काे वर्ष परिवारका साथ पशुपति घुम्न आउने बताएका छन् । श्रीलंकी लिजेन्ट जयासिन्घे यसपटक लुम्बिनी भ्रमण गर्दै छिन् । ‘अर्काे वर्ष परिवारका साथ गौतम बुद्ध जन्मभूमि आउने योजना काठमाडौंमा बसेर बुन्दै छु । यहाँका मानिसको आतिथ्यता र भूगोलबाट म प्रभावित भएँ,’ उनले भनिन्, ‘हामी यति नजिक छौं तर पनि नेपाल भ्रमण गर्ने साइत सागले जुराइदियो ।’