उदयपुर । किरात राई यायोक्खा केन्द्रिय समितीको आयोजनामा आज (शनिबार) उदयपुरको गाईघाटमा भएको अन्तरक्रियामा प्रदेश १ को नाम किरात राख्नुपर्ने निष्कर्ष निकालेका छ्न ।
किरात अभियान उपसमिती र संगठन बिभागको योजनामा भएको कार्यक्रममा यायोक्खा उदयपुर, सप्तरी र सिराहाका करिब डेढ सय सहभागी रहेका थिए ।
अन्तरक्रियामा प्रदेशको नाम साझा पहिचानको आधारमा किरात नराखिए निर्णायक आन्दोलनको घोषणा गर्न सहभागीहरुले सुझाब दिएका छन ।
उदयपुरको अध्यक्ष बलधन राईको सभापतित्वमा भएको कार्यक्रममा यायोक्खा केन्द्रिय उपाध्यक्ष तिलकप्रसाद राई, ज्ञनबहादुर राई, महासचिव जनक राई, उपमहासचिव भीम राई, सचिव अर्जुन जम्नेली राई, भाषाविद डा. तारामणि राईले किरात प्रदेश नामाकरण अभियान, संगठनको अवस्था, समुदायको संस्कृति, भाषा, लिपि बारे विचार राखेका थिए । अभियानमा केन्द्रिय सदस्यहरु मन्जु सोताङ, खुक्सङ खम्बू, युवराज राई लगायत सहभागी रहेका छन ।
यायोक्खा राई समुदायको साझा संस्था हो । संगठनले २०६३ सालदेखी पूर्बी नेपालको १७ जिल्लालाई किरात नाम राखिनु पर्ने माग गर्दै आएका छन ।
अन्तरक्रियामा सहभागीहरुले प्रदेशको नाम किरात नराखिए निर्णायक आन्दोलन घोषणा गर्न सुझाव दिएका छन ।
प्रदेश १ को हिउँदे अधिवेशन चल्न लाग्दा यायोक्खाले काठमाडौ पूर्ब किरात जागरण अभियान चलाउदै आएको छ ।
किरात एउटा जाती नभएर भूगोल, इतिहास, सभ्यता भएकोले भूगोलबासीको मनोबल उच्च बनाउन नाम किरात राखिनु पर्ने यायोक्खाले माग गर्दै आएको छ ।
किरात नाम राख्न दवाब दिने र नराखिए निर्णायक आन्दोलनको लागि तयारी भन्दै उदयपुरपछि २३ गते इलाम, २४ मा पाँचथर, २८ गते सुनसरी र २९ गते धनकुटामा किरात अभियान अन्तर्गत अन्तरक्रिया हुने प्रचार, प्रचार विभाग प्रमुखसमेत रहेका यायोक्खा केन्द्रिय सचिव अर्जुन जम्नेली राईले बताए ।
यस अघि काठमाडौको तीन जिल्ला, मोरङ र झापामा अन्तरक्रिया चलाइ आन्दोलनको तयारीमा रहन निर्देशन दिइसकेको केन्द्रिय उपाध्यक्षसमेत रहेका १ नम्बर प्रदेशको इन्चार्ज तिलकप्रसाद राईले बताए ।