-प्रेमनारायण भुसाल
रुवाइ प्रकृतिले मानवलाई सिकाएको पहिलो गुण हो। किनभने यस धर्तीमा जन्मनासाथ बालकले रोएर आफ्नो अस्तित्व प्रमाणित गर्छ। उमेर बढ्दै जाँदा उसले हाँसो तथा अन्य संवेगहरू व्यक्त गर्न थाल्छ। यसैले रुने काम प्रकृतिप्रदत्त प्राथमिक कार्य हो भन्दा अत्युक्ति नहोला। चाहे ५-६ वर्षको होस् वा १५-१६ वर्षको किन नहोस्, कुनै पनि बालबालिका यदि कसैसामु रुन्छ भने त्यसका पछाडि मुख्यतया दुई कारण हुन्छन् :
१. ध्यान आफूतिर खिच्न
२. आफ्नो निर्दोषपन पुष्टि गर्न
मानिस स्वभावैले आफूलाई बलियो देखाउन चाहन्छ। त्यसैले ऊ जतिखेर पनि र जहाँ पायो त्यहाँ रोएर आफूलाई कमजोर देखाउन खोज्दैन। ऊ बलपूर्वक सहन्छ अनि आफूलाई सहयोग गर्न सक्ने र आफ्नो पीडा बुझी सहानुभूति दिन सक्ने व्यक्तिका अगाडि पुग्नासाथ भक्कानिन थाल्छ।
छोराछोरी विद्यालयबाट घर आएपछि वा खेलकुदबाट फर्केपछि अभिभावकसामु अनावश्यक र ससानो कुरामा निहँु खोजेर रुन थाले उनीहरूलाई यति सानो कुरामा पनि रुने रुन्चे भनेर उपेक्षाको भाव देखाउनु हुँदैन। त्यसो गरेमा उसले शाब्दिक रूपमा व्यक्त गर्न नसकेका भावहरू कुण्ठित हुन्छन् र उसको अभिभावकप्रतिको विश्वास र आस्था हराउँदै जान्छ। फलतः आफ्ना कुरा कसैले बुझ्दैनन् भन्ने दृष्टिकोणको विकास भर्ई ऊ मौन, असहिष्णु र दुःखी बन्न थाल्छ।
यो व्यवहार लामो समयसम्म रह्यो र उसले आफ्ना अनुभूति अभिव्यक्त गर्ने अवसर पाएन भने उसमा डिप्रेसनजन्य मनोविकार देखिन थाल्छन्। हाम्रो समाजमा छोरो मान्छे भएर रुनु हुँदैन भनेर सानैदेखि बालकका भावनालाई व्यक्त हुन नदिई दबाउन प्रेरित गरिन्छ। वास्तवमा यहीँ समयबाट नै उसमा मानसिक समस्या सुरु हुन्छ।
रुनुको तात्पर्य नै मौखिक रूपमा व्यक्त गर्न नसकिएका भावना व्यक्त गरी आफूलाई सहयोग र माया गर्ने व्यक्तिबाट माया, ढाडस र सम्बन्धन प्राप्त गर्नु हो। रुवाइले जहिले पनि म निर्दोष छु, मैले जानीजानी कुनै गल्ती गरेको छैन, त्यसैले मलाई बुझिदिनुहोस् भन्ने आग्रह गरेको हुन्छ।
यस्तो बेलामा उसलाई अभिभावकले नखरा गरेको वा बहाना बनाएको भनी दोष लगाउनु हुँदैन। उसलाई रुन दिने, उसको रुवाइसँगै आफूले पनि सो अवस्था बुझेको छु भन्ने महसुस गर्ने किसिमको शारीरिक हाउभाउ देखाई बच्चालाई सुम्सुम्याउने, काखमा लिने वा अन्य माध्यमबाट ममता देखाउने गर्नुपर्छ। किन, कसरी जस्ता प्रश्नहरू नगरी निःसर्त कुनै पनि टिप्पणीबिना बच्चाका कुरा सुन्ने प्रयास गर्नु मानसिक तथा सामाजिक स्वास्थ्यका दृष्टिले हितकर हुन्छ। रुने क्रमबाट सम्हालिएपछि बच्चालाई बोलेर कुराकानीका माध्यमबाट आफ्ना समस्याहरू प्रस्तुत गर्न लगाउनुपर्छ। यसो गर्दा बीचबीचमा ‘म सुन्दै छु, ए अनि के भयो त ? त्यसपछि...’ भन्दै उसलाई आफ्ना भावना अभिव्यक्त गर्न सहज वातावरण सिर्जना गरिदिनुपर्छ।
बच्चाका कुरा अभिभावकले सुनिदिँदा मात्र पनि उसका धेरैजसो समस्याहरू समाधान भइसक्छन्। उसले भन्ने जति कुरा भनिसकेपछि मात्र कुन कामको के असर हुन्छ भन्ने बारेमा बच्चालाई स्पष्ट पारिदिनुपर्छ। धेरैजसो अभिभावक बच्चासँग सल्लाह र कुराकानी गर्नुलाई आफू सानो भएको महसुस गर्छन् र बालबालिकाका कुरा लामो समयसम्म सुन्न दिक्क मान्दै छिट्टै समाधानका लागि उपाय सुझाउँछन्। यसले बच्चालाई आफ्नो कुरा व्यक्त गर्न नपाएर झनै छटपटी थपिन्छ। बच्चाका कुरा बाहिर आएर ऊ पूर्णतः रित्तिइसकेपछि दिएको सल्लाहले मात्र सही काम गर्छ। तर हतारिएर छिट्टै सल्लाह दिँदा बिर्को नखोली बोतलमा पानी भर्न खोजेजस्तै हुन्छ।
बच्चाले रुँदै अभिभावकसँग कुरा गर्नु वास्तवमै बच्चा र अभिभावकका बीचको सम्बन्धमा निकटता ल्याउने अवसर हो। निर्धक्क भएर रुँदै आफ्ना पीडा व्यक्त गर्न पाउँदा बच्चाको मन पानी परेपछि खुलेको आकाशझै निर्मल र स्वच्छ हुन्छ। यस्तो अवस्थाको रुवाइ मनका कसरमसर पखालेर मन सफा गर्ने काम सावित हुन्छ अनि बच्चाले आत्मसम्मान प्राप्त गरेको महसुस समेत गर्छ। अभिभावकसँगको घनिष्टता बढेका कारण ऊ आज्ञाकारी, इमानदार र लगनशील हुन थाल्छ।
बच्चाले आमाबाबुसँग खुसीमात्र होइन समय समयमा रिस देखाउनु पनि स्वाभाविक हो। ऊ रिसाउँदा वा रुँदा अवरोध सिर्जना गर्ने वा अभिभावक झनै रिसाउने गर्दा उसका भावनाहरू दमित बन्न पुग्छन् र कुण्ठाको रूप लिन्छन्। उनीहरूमा मनोसामाजिक समस्या आई खानपान, निद्रा र व्यवहारमा असामान्य परिवर्तन आउँछ। उनीहरू आफ्ना अभिभावकलाई अविश्वास गर्ने, कठोर बन्ने र विस्तारै कुसंगतमा लाग्ने सम्भावना बढ्छ। राम्रो संगत नभएमा आफूलाई असहाय र निरीह ठान्ने गरेका बालबालिका छिट्टै कुलतको सिकार बन्न सक्छन्। यसरी सामान्य र प्राकृतिक कुरामा अवरोध र बुझाइगत अन्तर बढ्दै गएमा बालबालिकाको भविष्य अन्धकारमा मडारिन पुग्छ।
सचेत अभिभावकले आफ्ना बालबालिकालाई भौतिक रूपमा सम्पन्न बनाउने कुरामा भन्दा मानसिक रूपमा स्वस्थ र सम्पन्न बनाउन प्रयास गर्नुपर्छ। भौतिक विपन्नता जुनसुकै बेला सम्पन्नतामा परिणत हुन सक्ला। तर मानसिक स्वास्थ्यमा क्षति पुगी बालबालिका विचलित भएमा उनीहरूलाई सत्मार्गमा पुनरागमन गराउन निकै नै कठिन हुन्छ। यसैले बालबालिकालाई राम्रो सुविधा दिएका छौं भनी दंग नपरौं, उनीहरूसँग खेल्ने, बोल्ने, डुल्ने र बस्ने कामभन्दा ठुलो सुविधा अरु केही हुन सक्दैन। बढीभन्दा बढी समय बालबालिकासँग बिताऔं, उनीहरूलाई काम गर्न प्रेरित गरौं जसबाट उनीहरू भोलिका सच्चा नागरिक बन्ने ढोका खुल्छ। उनीहरूका जीवनमा सुनौलो आभा भरिन्छ।
(भुसाल मनोवैज्ञानिक परामर्शदाता हुन् )