• काठमाडौँ । सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सिनियर र जुनियरको विवाद कायमै छ । पछिल्लो अर्न्तवार्तामा पनि प्रधानमन्त्री ओलीले आफू सिनियर अध्यक्ष भएको बताएका थिए ।

    तर, ओलीको अनुपस्थितिमा पनि सचिवालय बैठक बसेर नेकपाले महत्वपूर्ण निर्णय गर्न थालेको छ। ओली उपचार वा आराममा रहेकाले तीन वटा बैठकमा सहभागी हुन सकेनन्। यद्यपी यस्तो बैठक बोलाउनु अगाडि बैठकको मिति र एजेन्डाबारे दाहालले ओलीसँग भने छलफल गर्ने गरेका छन्।

    ओलीको अनुपस्थितिमा तीन बैठक

    पार्टी एकताको १८ महिनामा ओली सहभागी नभएका नेकपाका तीन सचिवालयका बैठकले १५ निर्णय गरेको छ। पछिल्ला दुई बैठक ओली र दाहालको जिम्मेवारी तय गर्ने मंसिर ४ को निर्णयपछि बसेका छन् भने एउटा बैठक ओली उपचारका लागि सिंगापुर गएको बेला भदौ ९ गते बसेको थियो।
    एपेन्डिसाइटिसको शल्यक्रियापछि ओली मंसिर १९ गते मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट प्रधानमन्त्री निवास बालुवाटार गएका थिए। अहिले उनी निवासमा आराम गरिरहेका छन्।

    सचिवालय बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुंगो लगाएको थियो। यसैका आधारमा दाहालले आफ्नो अध्यक्षतामा बैठक बोलाउन थालेका हुन्।त्यसैले सोमबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली अनुपस्थिति रहे। तर, दाहालको अध्यक्षतामा बसको बैठकले ८ वटा निर्णय लियो।

    बैठकको पहिलो निर्णय पार्टी विधानमा केही संशोधनगर्ने निर्णय गरेको छ। दोस्रो, हालै सम्पन्न उपनिर्वाचनको समीक्षाका सन्दर्भमा सम्बन्धित पार्टी कमिटीहरुलाई समीक्षात्मक रिपोर्ट पठाउन पाँच दिनको समय थप गर्ने निर्णय गरेको छ।

    तेस्रो, संगठन विभागका तर्फबाट पेश भएको कार्ययोजनासम्बन्धी प्रस्तावलाई पार्टीको अर्को सचिवालयको बैठकमा अध्यक्षले निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरेको छ।

    चौंथो, पार्टीका केन्द्रीय निकायहरुको पूर्णताका लागि सम्बन्धित विभाग, आयोगका प्रमुख र उपप्रमुखहरुले सात दिनभित्र त्यससम्बन्धी प्रस्ताव पेश गर्ने उक्त प्रस्ताव अनुसार अर्को सचिवालय बैठकले पूर्णता दिने निर्णय गरेको छ।

    पाँचौं, विभिन्न जिल्लाहरुमा संगठनात्मक क्षेत्रमा समस्याहरु देखा परेको सन्दर्भमा ती समस्याहरुको आवश्यक छानविन र समाधान गर्न संगठन विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

    छैटौं, सचिवालयको आगामी बैठक मंसिर २७ गतेलाई बोलाउने निर्णय गरेको छ। सातौं, स्थायी कमिटीको बैठक २९ गतेलाई बोलाउने निर्णय गरेको छ।

    पार्टीको कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकार गर्ने निर्णय सहित आठ वटा निर्णय सोमबारको सचिवालय बैठकले गरेको छ।

    यस अघि मंसिर १८ गते ओलीको अनुपस्थितिमा बसेको सचिवालय बैठकले तीन वटा निर्णय लियो। पहिलो निर्णय उपनिर्वाचन भएका क्षेत्रका पार्टी कमिटीलाई समीक्षा सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो।

    दोस्रो, प्रधानमन्त्रीको स्वास्थ्यलामको कामना र चुनावी समीक्षा र पार्टी संगठनको विषयमा निर्णय लिन सोमबारलाई सचिवालय बैठक बोलाउने निर्णय गरेको थियो।

    त्यसबाहेक ओली उपचारका लागि सिंगापुर गएका बेला दाहालको अध्यक्षतामा भदौ ९ गते बसेको नेकपाको सचिवालय बैठक चार निर्णय गरेको थियो।

    उक्त बैठकले केही सांगठनिक एकीकरणका काम टुंग्याएको थियो भने केही नेताहरुको जिम्मेवारी हेरफेर गर्ने पहिलो निर्णय गरेको थियो।

    दोस्रो, प्रधानमन्त्रीको स्वास्थ्यलाभको प्रस्ताव पारित, तेस्रो, विभिन्न पार्टीबाट नेकपामा प्रवेश गरेका चार जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो।

    पार्टीका नेता तथा कार्यकर्ताकालाई पार्टीसँग सम्बन्धित विषयमा पार्टी कमिटी बाहेक अन्यत्र नबोल्न निर्देशन दिँदै सार्वजनिक रुपमा बोले कारबाही गर्ने चौंथो निर्णय उक्त बैठकले लिएको थियो।

    दाहालले बोलाएका बैठक पार्टी कार्यालयमा

    ओलीले बोलाएका सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए। दाहालले भने तीन वटै बैठक पार्टी कार्यालय धुम्बाराहीमा डाकेका छन्।

    दाहालले कार्यकारी भूमिका पाएलगत्तै पालैपालो तत्कालीन एमालको केन्द्रीय कार्यालय धुम्बाराही र तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाउने बताएका थिए।

    धुम्बाराही र पेरिसडाँडा दुवैतिर ओली र दाहालका भिन्दाभिन्दै कार्यकक्ष छन्। तर, दुवै अध्यक्ष बैठक बस्ने बेलाबाहेक केन्द्रीय कार्यालय जाने गरेका छैनन्।

    सिनियर र जुनियर विवाद कायमै

    मंसिर ४ गतेको नेकपाको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष पुष्पकमल दाहाल कार्यकारी अधिकार सहित पार्टी काममा केन्द्रित हुने। बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने। आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन कमरेड पुष्पकमल दाहालले गर्ने निर्णय गरेको थियो।

    यो निर्णयपछि ओलीको अनुपस्थितिमा पनि नेकपाको बैठक बस्ने औपचारिक बाटो खोलेको थियो। यद्यपी दुई अध्यक्षबीचको समझदारीमा दुवैले आवश्यकता अनुसार बैठकको अध्यक्षता गर्न सक्ने समझदारी छ।

    पछिल्लो निर्णयले पार्टी झन् एक ढिक्का भएको भन्दै कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा दाहालले भनेका थिए, ‘दुईटा अध्यक्षले कताकता जोड दिने भन्ने पनि टुंग्याएका छौँ। एउटाले सरकारमा जोड दिने र एउटाले पार्टीमा जोड दिने भन्ने पनि टुंग्याएका छौँ। पार्टीमा अब कुनै भ्रम छैन। अब बाटो साफ भएको छ।’

    जबकी कार्यविभाजनबारे कान्तिपुर टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ओलीले भनेका थिए, ‘हामी दुवै अध्यक्ष छौं। मैले अध्यक्षता नगर्ने र म कार्यकारी होइन भन्ने होइन। म पनि कार्यकारी अध्यक्ष हो र म सिनियर अध्यक्ष हो। वरीष्ठताक्रममा मेरो प्रथम स्थान हो। त्यसपछि उहाँ हो र म पनि कार्यकारी हो। उहाँ पनि कार्यकारी हो।’कान्तिपुर ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …