• काठमाडौंँ, पुस २८ गते । तराई मधेसका कतिपय जिल्लाहरूमा बढेको चिसो र शीतलहर समेतले कम्तीमा २८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार चिसोबाट बालबालिका र वृद्धवृद्धा नराम्रोसँंग प्रभावित भएका छन् । चिसोका कारण मर्नेमा पनि वृद्धवृद्धा र बालबालिका बढी छन् ।





    केन्द्रीय प्रहरी प्रवक्ता मनोज न्यौपानेले शीतलहरका कारण चिसो लागेर सप्तरी र रौतहट जिल्लामा मानवीय क्षति बढी भएको जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालयका अनुसार केही दिनदेखि बढेको चिसो र शीतलहरका कारण सप्तरीमा ११ जना र रौतहटमा आठ जनाको मृत्यु भएको छ ।
    त्यस्तै, सर्लाहीमा तीन र सिराहामा दुई जना, पर्सा, कपिलवस्तु, महोत्तरी र धनुषामा एक–एक जना गरी नौ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । पछिल्लो एक हप्ताको अवधिमा सप्तरीको अग्नीसाइर कृष्णासवरनमा ६५ वर्षीय लखन ठाकुर, खडक नगरपालिका मुसरनियाका ७० वर्षीय मुसहरू चौधरी, कञ्चनरूप नगरपालिका–२ का ६० वर्षीय बेचन शेख, तिरहुत गाउँपालिका–१ का ६० वर्षीया भुटनीदेवी यादव र ६४ वर्षीय प्रेमबहादुर माझीको चिसोको कारण कठ्याङग्रिएर मृत्यु भएको छ ।
    त्यस्तै, हनुमाननगर कङ्कालिनी नगरपालिका–१ बस्ने गुल्डेन मण्डलकी ६ महिनाकी छोरी पार्वती मण्डल, सप्तकोसी नगरपालिका–१ का ६२ वर्षीय अर्जुन पोखरेल, सुरुङ्गा नगरपालिका–११ भजकाका ६५ वर्षीया दुर्गादेवी चौधरी, छिन्नमस्ता–२ रामपुराकी ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साह र सुरुङ्गा नगरपालिका–१ चहकाका ५१ वर्षीय अम्बरबहादुर पुलामीको अत्यधिक चिसोको कारण मृत्यु भएको छ ।
    यसैबीच, रौतहट परोहा नगरपालिका–९ रामपुर बस्ने ६५ वर्षीया मरठियादेवी राउत कुर्मी, परोहा नगरपालिका–२ जिङ्गडवाका ४५ वर्षीय शेख समिम, रामपुर टोलका ७० वर्षीया नसुरुल्ला, गुजरा नगरपालिका–७ प्रतापपुर पल्टुवाका ४३ वर्षीया फुलकुमारी पासवानको पनि चिसोले मृत्यु भएको छ ।
    रौतहटकै राजदेवी नगरपालिका–९ बह्मपुरी बस्ने ७० वर्षीय अलकबहादुर सिंह, दुर्गाभगवती गाउँपालिका–५ बडहर्वाका ६० वर्षीया देवी पास, परोहा नगरपालिका–९ रामपुरखापका ६० वर्षीय रामलगन प्रसाद पटेल, माधव नारायण नगरपालिका–४ मानपुरकी १ वर्षीया बालिका रेखाकुमारी यादवको पनि मृत्यु भएको छ ।
    सर्लाही ईश्वरपुर नगरपालिका–८ मुसहरी टोल बस्ने ४५ वर्षीय गिरीश माझी मुसहर, बसवरिया गाउँपालिका–१ मानपुर बस्ने ६५ वर्षीया सियादेवी यादव र ५ वर्षीय होरिल माझीको चिसोको कारण मृत्यु भएको छ । पर्सामा पनि बहुदरमाई नगरपालिका–४ बहुअरी पिडारी बस्ने ७० वर्षीय इसा मियाको जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।
    सिराहा लक्ष्मीपुर पतारी गाउँपालिका–६ बस्ने ४५ वर्षीया माकोदेवी पासवान र अरणामा गाउँपालिका–३ बस्ने ६५ वर्षीय कारी यादवको पनि आफ्नै घरमा सुतिरहेको अवस्थामा चिसोको कारण मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ सौरहवा बस्ने ६० वर्षीय बृजमोहन थारूको पनि मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।
    यसैबीच, महोत्तरी पिपरा गाउँपालिका–४ पिपरा बस्ने ६० वर्षीय सुरेन्द्र मिश्र र धनुषाका तिलेश्वर यादवको छोरा ४ महिनाको क्रिश्चन यादवको उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । चिसो पीडितलाई न्यानो प्रदान गर्न जिल्ला तथा स्थानीय प्रशासनबाट लुगाकपडाका अतिरिक्त दाउरा वितरण तीव्र पारिएको प्रवक्ता न्यौपानेले बताउनुभयो । उहाँले चिसोसँंगै शीतलहर चलेका कारण सर्वसाधारणलाई न्यानो कपडा लगाउनुका साथै तातो भएर बस्न आग्रह गर्नुभयो । गोरखापत्रमा समाचार छ

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…