बेझाड – कुखुराले बजार मूल्य नपाउँदा रामपुरका व्यावसायिक कुखुरापालक कृषक मारमा परेका छन् । ठूलो लगानीमा व्यवसायमा चलाएका यहाँका व्यवसायी लगानी पनि नउठ्ने गरी कुखुरा बिक्री गर्न बाध्य छन् ।
बाहिरबाट आएका जिउँदो कुखुरा र अण्डा सस्तो मूल्यमा पाएपछि स्थानीय उत्पादनले बजार नपाएको हो । अहिले जिउँदो कुखुराको मूल्य प्रतिकेजी रु १६० को हाराहारीमा रहेको छ । बिक्री गर्ने बेला भएका कुखुराले बजार नपाउँदा समस्या परेको व्यवसायी मेगराज न्यौपाने बताउछन् ।
“कुखुरा बिक्री गर्न लायकका छन्, १६० दिँदा पनि व्यापारीले लैजान मानेका छैनन्, दानापानीको भाउ सुन्दा डरलाग्दो छ, कुखुरापालक व्यवसायी सङ्कटमा परेका छौँ”, उनले भने ।
उनको फार्ममा हाल एक हजार कुखुरा छन् । करिब रु एक करोडभन्दा बढीको लगानीमा कुखुरापालन व्यवसाय चलाएका रामपुर एग्रोफार्मका सञ्चालक भुवन अर्याल पनि लागतअनुसारको मूल्य नपाउँदा चिन्तित छन् । उनले अण्डा उत्पादन गर्ने उद्देश्यले लेयर्स जातका करिब तीन हजार कुखुरा पालेका छन् । अण्डाले बजार मूल्य नपाउँदा व्यवसाय नै धरापमा पर्ने स्थिति आएको उनले बताए ।