पुष्कर खड्का
रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा जनप्रतिनिधिबीचको विवादको कारणले को कामकाज ठप्प भएको छ । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम पास नहुँदा गाउँपालिकाको सम्पुर्ण कामकाज ठप्प भएको हो । नागरिक निगरानीको क्रममा सो पालिकामा वेथितिको नमुना देखिएको मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईंले बताए । बजेट तथा कार्यक्रम पास गर्नका लागि असार महिनामा बसेको गाउँकार्यपालिकाको बैठकमा विवाद भएपछि बजेट र कार्यक्रम पास हुन सकेको छैन । त्यस यता गाउँ कार्यपालिकाको बैठक समेत बस्न सकेको छैन । सो पालिकाको सेवा प्रवाहको अवस्थाको बारेमा हुराडेक नेपाल दोलखाद्वार सञ्चालित नागरिक समाज पारस्पारिक जवाफदेहीता परियोजनाको सहकार्यमा सञ्जालले नागरिक स्तको निगरानी गरेको थियो । असारमा भएको बैठकमा गाउँपालिकाको वडा नं–१ दुरागाउँमा गरिएको विद्युतीकरणको लागि करिब ६ करोड रुपैयाँ विनियोजन गर्न गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले प्रस्ताव गरेका थिए । कामको अनुगमन गरेपछि मात्र रकम विनियोनज गर्नुपर्ने प्रस्ताव गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाललगायतका कार्यपालिकाका सदस्यहरुले राखेपछि अध्यक्षले गरेको कामको किन अनुगमन भन्दै अध्यक्षले विवाद उठाएको कार्यपालिका सदस्यहरु बताउँछन् ।अहिले विद्युत विवादको छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल झिकाएको छ । ७ वटा वडा रहेको सो गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र ६ जना वडाअध्यक्ष तत्कालिन नेकपा एमालेबाट बिजयी भएका छन् । एकजना वडाअध्यक्ष कांग्रेसबाट बिजयी भएका हुन् । बैठकमा विद्युतको लागि बजेट विनियोजन नगरेसम्म गाउँपालिकाको बजेट तथा कार्यक्रम पास नगर्ने अडान गाउँपालिका अध्यक्षले लिने गरेको नेकपाका नेता निकास पौडेलले बताए । गाउँपालिकाको बजेट नआउँदा स्वास्थ्य क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । बजेट नआएको कारण स्वास्थ्य संस्थामा आवश्यक औषधि खरिद हुन सकेको छैन । नागरिक निगरानीको क्रममा ३९ थरी औषधि हुनु पर्न स्वास्थ्य संस्थामा २० थरी औषधि पनि नपाइएको गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्नप्रसाद कँडेलले बताए । स्वास्थ्य संस्थामा भएका औषधिहरु पनि सीमित भएकोले बजेट नआए स्वास्थ्य संस्था चलाउनै नसकिने अवस्था रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्य संस्थाहरुमा बालबालिकाहरुलाई खुवाउने झोल सिटामोलदेखि, ज्वरो आउँदा दिने एमोक्सोसिलिन, आँखा र कानको औषधि लगायतका औषधिहरु समेत अभाव भएको छ । यस स्थानीय तहमा एक प्राथमिक स्वास्थ्य केन्द्र सहित ७ वटा भन्दा बढी स्वास्थ्य संस्थाहरु रहेका छन् ।
गाउँपालिकाले बजेट विनियोजन नगर्दा विद्यार्थीहरुले खाजा खर्च तथा छात्रावृत्तिसमेत पाएका छैनन् । गाउँपालिकाबाट बजेट नआएको कारण शैक्षिक सत्रको उत्तरार्ध्तिर आइपुग्दा पनि छात्रावृत्तिको रकम र र खाजा खर्चवापतको रकम विद्यार्थीलाई दिन नसकेको झटेश्वर मावि धोवीका सहायक प्रधानाध्यपक मोहनबहादुर श्रेष्ठले बताए । गाउँपालिका आन्तरिक विवादमा फसेपछि सो गाउँपालिकामा कुनै पनि कर्मचारी जान मान्दैनन् । गएका कर्मचारी पनि सरुवा मिलाएर हिँड्ने गरेका छन् । गाउँपालिकामा ६ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत छैनन् । लेखाका कर्मचारी पनि छैनन् । पालिकामा अस्थायी करारका कर्मचारी मात्र छन् । गाउँपालिकोका ७ वटा वडाको वडासचिवको जिम्मेवारी एक जना वडा सचिवले सम्हाल्दै आएका छन् । वडा नं ६ का वडा सचिव केहरमान तामाङले ७ वटै वडाको पञ्जीकरणलगायतको काम गरिरहेका छन् । उनी हप्तमा ४ दिन आफ्नो वडामा बस्छन् भने ३ दिन गाउँपालिकाको कार्यालयमा बासेर ६ वटा वडाको पञ्चिकरणको काम गर्दछन् । गाउँपालिकाको कृषि विकास शाखमा २ जना कार्यालय सहयोगीमात्रै छन् । उनीहरुले पालैपालो कार्यालय खोलेर बस्ने गरेका छन् । पहिलापहिला बिउ बिजन र प्राविधिक खोज्न किसान आउने गरेको भए पनि सेवा पाउन छाडेपछि किसान पनि आउन छाडेका कार्यालय सहयोगी लले मगरले बताए । गाउँपालिकाका करार कर्मचारीले ६ महिनादेखि तलबसमेत पाएका छैनन् । आफूहरुले दशैं खर्चसहित साउनदेखिको तलब नपाएको सवओभरसियर अच्युत तिमल्सिनाले बताए । सो गाउँपालिको अहिलेसम्म कुनै पनि ऐन, नियम र कार्य्विधि समेत बनाएको छैन । पालिका तोक, आदेश र निर्देशनको भरमा चलेको छ । यो व्यवस्था प्रतिकै उपहास भएको रामेछाप बारका अध्यक्ष बिचारसिंह तामाङ बताउँछन् ।