• दुई छोराकी आमा भर्खर जुँगाको रेखी बसेको तन्नेरीसँग चक्कर चलाउँछिन्। कुनै ४० वर्षकी महिला २० वर्षको युवासँग रोमान्स गर्छिन्। यस्तो सम्बन्धको नियत के हुन्छ? देहसुख अर्थात् सेक्समात्र हो त? श्रीमान् विदेशमा हुने, श्रीमान्को माया नपाउने, असन्तुष्ट र कुण्ठित महिलाहरूले यस्तो सम्बन्ध राखेको पाइएको छ।

    उता तन्नेरीहरूका आफ्नै कथा छन्। उनीहरू ‘आन्टी’हरूसँग फस्नुका कारण अनेक छन्। कसैका लागि यो एकप्रकारको रोजगारी हो, कसैका लागि आर्थिक संकट हल गर्ने उपाय। अनि, कसैका लागि परिपक्व महिलासँग देहयात्राको आनन्द।
    यस्तो सम्बन्ध राख्ने प्रवृत्ति किन बढ्दै छ समाजमा? अनि यसका जटिलता के–के हुन्?

    केस नं. १
    काठमाडौँका २३ वर्षीया जनम परिवारले बिहेको कुरा झिक्यो कि सुइँकुच्चा ठोक्छन्। अरू विषयका पारिवारिक छलफलमा उनी सहभागी हुन्छन्। तर, बिहे भन्नासाथ उनको सातो जान्छ। कारण, उनी आफूभन्दा झन्डै दोब्बर उमेरकी महिलासँगको प्रेममा फसेका छन्। एक प्रहरी निरीक्षककी ४२ वर्षीया श्रीमतीको मायाजालमा परेका जनमलाई अहिले यो सम्बन्ध निल्नु न ओकल्नु भइरहेको छ। भन्छन्, ‘पहिले बिहे भएको र दु–दुइटा छोराकी आमा हो भन्ने थाहै भएन। आँखा चिम्लेर लभ गरियो। अहिले उम्किनै गाह्रो भा’छ।’

    उनका श्रीमान् प्रायः घरबाहिर हुने र उनको खासै पर्वाह नगर्ने भएकाले उनी आफूसँग लहसिएकी जनम बताउँछन्। ‘मैले छुँदामात्रै पनि मक्ख पर्छिन्,’ उनले भने, ‘मैले हेरेको, छोएको साह्रै मन पर्छ रे। मसँग टाँसिरहन खोज्छिन्। त्यसैले मैले पनि उनलाई छोड्न सकिरहेको छैन। मलाई मर्का पर्दा सहयोग पनि गर्छिन्। साढे तीन वर्षमा करिब सात लाख रुपैयाँ सहयोग पाइसकेँ।’

    केस नं. २
    शंखमूल, काठमाडौँका २४ वर्षीय विवेकको जिन्दगी ऐसआरामसाथ बितिरहेको छ। कामधन्दा, रोजगारी केही छैन। दिनभरि घरतिरै बरालिने वा साथीभाइसँग डुल्ने गर्छन्। यद्यपि, उनलाई आर्थिक संकट कहिल्यै पर्दैन। चितवनस्थित बा–आमालाई पनि गुहार्दैनन् उनी। ‘आयआर्जनको अर्कै स्रोत जुटाएको छु,’ उनी भन्छन्, ‘एउटा सुड्डी–फ्रेन्ड छे मेरो। म भनेपछि हुरुक्कै हुन्छे। पैसाको बन्दोबस्त उसैले गर्दिन्छे। जति मागे पनि ‘छैन’ भन्दिन। आनन्दै छ मलाई।’
    कमला नामकी ४६ वर्षीया महिलासँग उनको ‘चक्कर’ छ। उनको घर विवेकको डेराछेउ छ। कमलासँग किरानापसलमा भेट भएको र एक महिनाको हाई–हेलोपछि सम्बन्ध सुरु भएको विवेकले बताए।

    कमला एक छोरा र एक छोरीकी आमा हुन्। उनका श्रीमान् दुबईमा छन्। ‘छोराछोरी स्कुल पठाएपछि मलाई फोन गर्छे,’ विवेकले आफ्नो ‘ड्युटीआवर’ बारे सुनाए, ‘त्यसपछि म उसको घर जान्छु। र, ४ बजेसम्म उतै बस्छु प्रायः।’ कमलाले विवेकका सम्पूर्ण आर्थिक समस्या टारिदिने गरेकी छन्। पेट्रोल खर्च, मोबाइल रिचार्ज, पकेटमनी सबैथोकको जोहो कमलाले नै गर्ने गरेको विवेकले बताए। ‘एसएफ (सुड्डी फ्रेन्ड) को आवश्यकता मैले पूरा गर्दिन्छु, मेरो आवश्यकता उसले,’ विवेकले भने, ‘मसँग हुँदा त बूढीमाउ ‘फेरि टिनएजमा फर्केझैँ लाग्छ’ भन्छे।’

    केस नं. ३
    काठमाडौँ, सुकेधाराका अविनाश प्रायः बागबजारमा भेटिन्छन्। ‘आन्टीले बोलाइरहन्छिन्,’ बागबजार धाउनुको कारण सुनाउँछन् उनी, ‘आफू त आन्टीको सेवक न परियो। जहिले बोलायो, तहिले आइदिनुपर्छ।’ ४४ वर्षीया आन्टीलाई हरबखत सेवा दिन तत्पर अविनाश २१ वर्षका छन्। भन्छन्, ‘मेरो गर्लफ्रेन्ड छे, कलेजमा। बागबजारमा चाहिँ ओभरटाइम गरेको हुँ।’ उनका अनुसार आन्टीका श्रीमान् बागलुङमा छन्। ‘वर्षमा एकदुई चोटिमात्र आउँछन् अंकल,’ अविनाशले भने, ‘आन्टी धेरैजसो एक्लै हुन्छिन्। छोराछोरी पनि छैनन्। त्यसैले मलाई बोलाइरहन्छिन्।’ यी दुईको चक्कर चलेको दुई वर्ष भयो।

    केस नं. ४
    धरानका दीपेश यही अक्टोबरमा इजरायल उड्दै छन्। ‘उतै सेटल हुने गरी जाँदै छु,’ उनले भने, ‘केटी मुसलमान भएकाले बिहे गर्न अलि समस्या भइरहेको छ। मैले धर्म परिवर्तन गर्नुपर्छ रे। त्यसका लागि कागजात पठाइसकेँ। अक्टोबरसम्ममा सबै काम बन्छ होला।’
    दीपेश टुरिस्ट गाइड हुन्। पर्यटक घुमाउने क्रममा उनको भेट इजरायलकी अथालियासँग भएको थियो। ‘त्यो बेला नै उसले मलाई खुब मन पराई,’ दीपेश भन्छन्, ‘इजरायल पुगेपछि पनि फोन गरिराख्थी। मेरा लागि ल्यापटप, मोबाइल आदि पठाइदिन्थी। इजरायलको सरकारी कर्मचारी हो ऊ। पैसा टन्न कमाउँछे। एकदम गाँठवाली छे।’ तिनै ४९ वर्षीया अथालियाको पहलमा २५ वर्षीय दीपेश इजरायल जान लागेका हुन्। ‘खै, किन हो, लास्टै माया गर्छे मलाई,’ दीपेश भन्छन्, ‘मैले पनि माया गरेजस्तो गर्दिन्छु। उता गएपछि राम्रो काममा लगाइदिन्छु भनेकी छे। जिन्दगी बन्छ भने किन नजानु?’
    केही महिनाअघि पनि ‘टुरिस्ट भिसा’ मा इजरायल डुलेर आएका दीपेशले आफूहरूका लागि दुइटा कोठा बुक्ड गरिसकेको बताए। ‘अस्ति जाँदा ऊसँगै बसँे,’ उनले भने, ‘अब त बिहे नै गर्दै छु। पाँच/दश वर्ष त्यै बज्यै (अथालिया) सँग उठबस गर्नुपर्ला। त्यसपछि आफ्नै देश फर्किन्छु।’

    आफ्नै हातमा धनलक्ष्मी
    आफूभन्दा निकै जेठी महिलासँग हिमचिम बढाउने युवाका चर्तिकला हुन् यी। यस्ता क्रियाकलाप अचेल हाम्रो समाजमा देखिन थालेका छन्। पैसा र मोजमस्तीका लागि अनेक तिकडम अपनाइरहेकाहरू यसलाई पनि एउटा उपायका रूपमा लिइरहेका छन् । ‘काठमाडौँको महँगीमा टिक्न गाह्रो छ,’ शंखमूलका विवेक भन्छन्, ‘भनेको बेला जागिर पाइँदैन। पेट पाल्नका लागि केही न केही त गर्नैपर्छ।’ उच्च शिक्षाका लागि राजधानी आएका उनी भोकै बस्नुभन्दा ‘सुड्डी’ पट्याएरै भए पनि आफ्नो समस्या टार्नु बेस ठान्छन्। ‘त्यसबापत हामीले पनि त सेवा दिएकै हुन्छौँ,’ उनले भने, ‘लेनदेन दोहोरो छ भने धक मान्नुपर्दैन।’

    हामीले भेटेका अधिकांश युवाले पैसाकै लागि पाको उमेरकी महिलासँग ‘रोमान्स’ गरेको बताए। खासगरी उपत्यका बाहिरबाट आएका युवा यस्तो क्रियाकलापमा सरिक हुने गरेको पाइए।

    घरबाट पैसा मागिरहनुभन्दा यतै केही व्यवस्था गर्ने निहुँमा उनीहरू आफूभन्दा दोब्बर जेठी महिलाको यौनचाहना मेटाउने काममा लागेका छन्। ‘अरूको यौन चाहना मेटाइदिँदैमा आफ्नो भलो हुन्छ भने त्यसो गर्नु नराम्रो होइन,’ सुकेधाराका अविनाशको तर्क छ, ‘यसमा कसैको हानि–नोक्सानी हुँदैन। बरु, दुवै पार्टीलाई फाइदा हुन्छ।’
    आफ्नै उमेरकी केटीभन्दा कामकाजी महिलासँग प्रेम गर्दा राम्रो हुने बताउँछन्, नयाँ बानेश्वरका विजय। भन्छन्, ‘आफ्ना उमेरका केटीहरू त आफूजस्तै कंगाल हुन्छन्। डेटिङ जाँदा पनि आफ्नै पैसा सखाप हुन्छ। आन्टीहरू पट्याउन सके पैसाको अभाव हुँदैन।’ उनले पनि एउटा हस्पिटलकी एकाउन्टेन्ट आन्टी पट्याएको बताए। ‘पहिले–पहिले एक कप चिया खान पनि बाउसँग पैसा माग्नुपर्थ्यो,’ उनी भन्छन्, ‘अहिले आफ्नै हातमा धनलक्ष्मी छिन्। केटाहरू सबैलाई टि्रट दिने गर्याम छु। बाउसँग पनि सुको माग्नुपर्दैन। रिल्याक्स छ।’

    अनुभवीसँग आनन्द
    २१ वर्षको केटोले ४८ वर्षकी महिलासँग ‘रमिता’ गर्नुको एउटा कारण रमाइलो पनि हो। बागबजारका सुरेन्द्र भर्खरकी युवतीभन्दा अनुभवी महिलासँगको हिमचिम रमाइलो हुने बताउँछन्। ‘सिकारु त झ्याउ लाग्ने खालका हुन्छन्,’ सुरेन्द्र भन्छन्, ‘सबैथोक आफैँले सिकाउनुपर्छ। त्यसमाथि लजाएर र्यााक गर्छन्।

    अनुभवी भए जसो–जसो भन्यो, उसो–उसो हुन्छ। साह्रै रमाइलो हुन्छ उनीहरूसँग।’ पाको उमेरका महिला होशियार हुने र आफूलाई संकटमा पनि नपार्ने भएकाले सुरेन्द्रको साँठगाँठ उनीहरूसँगै हुने गरेको छ। ‘योङ केटीहरूसँग कहिल्यै लभ गरिएन,’ उनले भने, ‘मोजमस्ती भनेको जान्नेबुझ्नेसँगै गर्नुपर्छ।’ यद्यपि, बिहे चाहिँ उनी आफ्नै उमेरकी केटीसँग गर्नुपर्ने बताउँछन्। ‘बिहे भनेको अर्कै चिज हो,’ भन्छन्, ‘यसलाई यस्तो हल्काफुल्का कुरासँग जोड्नु हुँदैन।’

    जनमलाई भने आफ्नी पाको उमेरकी प्रेमिकाले आत्मीय साथ र माया दिएको भान हुन्छ। भन्छन्, ‘हामीले थुप्रै पटक शारीरिक सम्पर्क गरिसकेका छौँ। तर, मैले यौन सन्तुष्टि र पैसाका लागि उनलाई प्रयोग गरेको होइन। उनले गर्ने प्रेम अन्य केटीले गर्नेभन्दा परिपक्व छ। परिपक्व मायामा फसेको छु म।’ उनी दुई छोराकी आमासँग बिहे गर्ने पक्षमा छैनन्। न त ती महिलाको नै विवेकसँग बिहे गर्ने सोच छ। ‘श्रीमान्को साथ र देखभाल नपाएकाले उनी मसँग झ्याम्मिएकी हुन्,’ जनमको बुझाइ छ, ‘मबिना कसरी बाँच्लिन् भन्ने पीर लाग्छ आजकल।’

    करिअर!
    कतिपय युवाले आफ्नो करिअर बनाउनका लागि पनि परस्त्रीसँग सम्बन्ध राख्ने गरेको पाइयो। धरानका दीपेश तिनैमध्ये पर्छन्। पाको उमेरकी महिलासँग बिहे नै गरेर उनी इजरायल उड्दै छन्। ‘पाँच/दश वर्ष मजाले कमाइयो भने जिन्दगी बन्छ,’ उनी भन्छन्, ‘त्यतिञ्जेल सम्बन्ध टिक्छ नै भन्ने ग्यारेन्टी छैन। टिक्यो नै भने पनि मेरा कारण त्यो महिलाले दुःख पाउँदिन। बरु, सुख पाउँछे। त्यसपछि म आफ्नो बाटो लाग्छु, ऊ आफ्नै संसारमा रमाउँछे। यसमा कसैको हानि हुँदैन।’
    यस्तो सम्बन्ध राख्ने केटाहरू आफूले कसैलाई जबर्जस्ती वा ललाई–फकाई सम्बन्ध नराख्ने भएकाले यो प्रवृत्ति गलत नभएको बताउँछन्। ‘उनी(महिला)हरू आफैँ हामीसँग टाँसिन आउँछन्,’ विवेक भन्छन्, ‘हामीले कसरी नाइँ भन्ने?’ सुकेधारका अविनाश भने महिलाहरू आफूजस्ता जवान र ह्यान्डसम केटाप्रति आकर्षित हुनु स्वाभाविक ठान्छन्। ‘राम्रामा त जसको पनि नजर गइहाल्छ नि,’ उनी भन्छन्।

    साँच्चीकै प्रेम
    त्यसो त सबै युवाले आफ्नो स्वार्थपूर्तिका निम्ति मात्रै जेठीबाठी महिलासँग सम्बन्ध राख्ने गरेका छैनन्। कतिपयको त साँच्चै नै माया बस्ने गरेको पनि पाइयो। जनमकै उदाहरण लिऔँ। उनले प्रहरी निरीक्षककी श्रीमतीलाई मनैदेखि माया गरेको बताए। ‘लभ परेपछि उमेर–सुमेरको मतलबै नहुने रै’छ,’ उनी भन्छन्, ‘उसले पनि त्यही ठानेर माया गरिरहेकी होली मलाई। अब त हामी न छुट्टिन सक्छौँ, न बिहे गर्न सक्छौँ। साह्रै बिलखबन्दमा परियो।’ उनीहरूकै जस्तो हालतमा छन्, गोल्फुटार, काठमाडौँका २२ वर्षीय उदय र ३९ वर्षीय रूपा। ‘छ–सात महिना भयो अफेयर चलेको,’ रूपा भन्छिन्, ‘दुइटा छोरी छन् मेरा। श्रीमान् कोरिया जानुभएको दुई वर्ष भयो। उहाँ आउनासाथ हामीहरूको सम्बन्ध टुटाउनुपर्छ। त्यो दिन सम्झेर आजै आत्तिन्छु।’

    यौन नै प्रधान
    महिलाहरू कम उमेरका युवासँग लहसिनुको प्रमुख कारण यौन हुने गरेको पाइयो। गोल्फुटारकी रूपाले पनि यही आशय व्यक्त गरेकी छिन्। ‘श्रीमान् साथमा हुनुहुन्न,’ उनले भनिन्, ‘सँगै भए पनि उहाँलाई ममा त्यति रुचि छैन क्यारे। छुट्टाछुट्टै कोठमा सुत्थ्यौँ।’ उनी थप खुल्न चाहिनन्।
    पाको उमेरका महिलासँग सम्बन्ध राखेका युवाले पनि महिलाहरू यौन असन्तुष्टि र श्रीमान्को माया नपाएकाले आफूहरूसँग लागेको बताए। जनम भन्छन्, ‘श्रीमान्ले वास्तै नगर्ने, पारिवारिक र समाजिक प्रतिष्ठाका लागि मात्रै श्रीमतीको प्रयोग गर्ने गरेकाले उनी मसँग रहँदा खुशी हुन्छिन्। श्रीमान्को मायाबाट विमुख भएकाले मेरो साथ उनलाई प्रिय भएको हो।’

    परिणाम
    युवायुवतीले यस्तो सम्बन्धलाई जति सजिलो रूपमा लिएका छन्, यो उत्तिकै अप्ठ्यारो पैदा गर्ने सम्बन्ध भएको केही अनुभवीले बताए। ग्ल्यामर क्षेत्रमा आबद्ध एक युवाका अनुसार उनले पाँच वर्षअघि आफूभन्दा २१ वर्ष जेठी महिलासँग सम्बन्ध राखे। उनी आफ्नो अप्ठ्यारो सुनाउँछन्, ‘ऊ इभेन्ट म्यानेजर थिई। म भर्खर स्ट्रगल गर्दै गरेको मोडल। ऊसँग नजिकियो भने टन्नै अफर पाइएला भन्ने लोभले खूब भाउ दिएँ। उसले पनि मलाई सहयोग गरी। तर, यतिविघ्न सहयोग गरी कि आखिरमा उम्किन मुस्किल पर्योस।’ ती महिलाले सुरुसुरुमा सहयोग गरे जस्तो गरे पनि पछि आफूलाई नोकरलाई जस्तो व्यवहार गरेको र उसलाई छोडेर गए भएभरका पोल खोलिदिने धम्की दिएको उनले बताए। ‘म त मर्नु न बाँच्नु भ’को थिँए,’ उनले भने, ‘बल्लतल्ल फुत्किएँ। अहिले त्यो महिला हङकङतिर छे।’
    दुई साताअघि धरान–६ की सुमित्रा लिम्बूले आफ्नो ‘श्रीमान्सँग सल्केको’ आरोपमा धरान–९ स्थित ३० वर्षीया गंगा कार्कीलाई खुकुरी प्रहार गरेकी थिइन्। लगभग ५० वर्षका, सुधीरसिंह लिम्बू (सुमित्राका श्रीमान्) सँग फोनमा कुराकानी गरेको, सल्किएको जस्ता आरोप लगाई सुमित्राले गंगाको कोठामै पुगेर अनुहार, घाँटी र टाउकोमा जथाभावी खुकुरी प्रहार गरेकी थिइन्। घाइते गंगाको हाल उपचार भइरहेको छ भने सुमित्रा प्रहरी नियन्त्रणमा छिन्।
    अमिल्दो सम्बन्धको परिणाम कतिसम्म घातक हुन्छ भन्ने एउटा उदहारण हो यो। पछिल्लो समय आफूभन्दा तलमाथि उमेरका व्यक्तिबीच सम्बन्ध कायम गर्ने फेशन चलेको धरानस्थित शुक्रवार संवाददाता गोपाल दाहालले बताए। भन्छन्, ‘श्रीमान् विदेशमा रहेका महिलाहरू खाइलाग्दा युवकलाई ‘ब्वाइफ्रेन्ड’ बनाइरहेका हुन्छन् भने उमेर ढल्किँदै गएका पुरुष पनि ‘भाञ्जी’ भन्दै नवयौवनाहरूलाई भेडेटार घुमाइरहेका भेटिन्छन्।’

    ‘मुख्य कारण असन्तुष्टि हो’

    डा. सरोजप्रसाद ओझा, मनोविद्   गाँस, बास, कपासलाई मात्र आधारभूत आवश्यकता भन्ने जमाना रहेन अब। अहिलेको समाजले त्यसको दायरालाई तन्काउन खोजिरहेको छ। मानव जीवनको एउटा मुख्य पाटो, सेक्सलाई पनि आधारभूत आवश्यकताका रूपमा लिन थालिएको छ। सेक्स सन्तानप्राप्तिका लागि मात्रै नभएर मनोरञ्जन, आनन्द वा सुखका लागि पनि नभई नहुने चिज हो। मन मिल्यो भने उमेरको कुनै सीमा हुँदैन। बूढोले किशोरीबाट सन्तुष्टि पाउँछ भने त्यसमा उसको कुनै दोष हुँदैन।

    आनन्द पाएर जीवनमा खुशी रहन्छे भने त्यो नराम्रो कुरा भएन। यसरी फरक उमेरका व्यक्तिबीच हुने सम्बन्धलाई समस्या नै भन्न त मिल्दैन। तर, त्यस्तो सम्बन्धले अन्य सम्बन्ध (आमा–छोराछोरी, श्रीमान्–श्रीमती आदि) मा फाटो ल्याउँछन् भने त्यो अवश्य समस्या हो। पाको उमेरका महिलापुरुषले तन्नेरी साथी ताक्नुको प्रमुख कारण यौन असन्तुष्टि हो।

    आफ्ना पार्टनरबाट सन्तुष्टि प्राप्त गर्न नसकेपछि मानिस कुण्ठित हुन्छ। फलतः ऊ अरूसँग आफ्नो यौनप्यास मेट्न खोज्छ। श्रीमान्को माया र साथ नपाएका महिलाहरूमा यस्तो समस्या रहन्छ। पुरुषमा पनि यही कुरा लागू हुन सक्छ। अहिले पाको महिलाले जवान केटा र पाको पुरुषले जवान केटीसँग सम्बन्ध राख्नुको कारण पनि यौन असन्तुष्टि हुन सक्छ। यस्ता सम्बन्धहरू दिगो हुँदैनन्। समयअनुसार आवश्यकता पनि फेरिन्छन्।

    यस्ता आवश्यकताको उतारचढावले त्यस्ता फरक उमेरका सम्बन्धहरू टुट्छन्। यस्ता सम्बन्धले भविष्यमा समस्या निम्त्याउन सक्छन्। पारिवारिक र सामाजिक कलह सिर्जना हुन सक्छन्। यी सम्बन्धले नराम्रो परिणाम ल्याउने सम्भावना उच्च रहन्छ। यस्ता सम्बन्धलाई प्रोत्साहन गर्नु हुँदैन।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…