• गोविन्द पोखरेल,

    उर्लाबारी। मोरङमा लागूऔषधसम्बन्धी घटना बढेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पछिल्लो चार आर्थिक वर्षको तथ्याङ्कले जिल्लामा लागूऔषधका घटना बढिरहेको पाइएको हो ।

    आर्थिक वर्ष २०७१/०७२ मा जिल्लामा लागूऔषधसम्बन्धी १ सय ३१ वटा मुद्दा दायर गरिएको थियो । आव २०७३/०७४ मा यो संख्या बढेर १ सय ६५ पुगेको छ । चालू आर्थिक वर्षको मंसिरसम्म जिल्लामा लागूऔषधसम्बन्धी ९३ वटा मुद्दा दायर भएका छन् ।

    लागूऔषध नियन्त्रणका लागि प्रहरीको सक्रियता बढाएसँगै मुद्दा बढेको जिल्ला प्रहरी कार्यालय मोरङको दाबी छ । कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक अरुणकुमार बिसीले भने– ‘सीमा नाकामा सादा पोशाकका प्रहरीको निगरानी बढाएपछि कारोबारी र सेवनकर्ताले उन्मुक्ति पाउँदैनन् । उनीहरू पक्राउ परेपछि स्वाभाविकरूपमा मुद्दा संख्या बढेको छ ।’

    जिल्लामा विशेष गरेर रानी नाकाबाट लागूऔषध ओसारपसार र सेवन गर्नेहरू बढी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक लक्ष्मी भण्डारीले लागूऔषधसम्बन्धी मुद्दामा आर्थिक वर्ष २०७१/०७२ मा १ सय ८८ जना, २०७२/०७३ मा १ सय ७९, २०७३/०७४ मा २ सय ३३ र चालू आर्थिक वर्षको मंसिर महिनासम्म १ सय ८ जनाविरुद्ध मुद्दा दायर गरेको जानकारी दिए । चार वर्षमा मोरङ जिल्लामा १ सय ८ जनालाई लागूऔषध मुद्दा दायर गरिएको उनले बताए । तीमध्ये २० जना महिला रहेका छन् ।

    प्रयोगकर्ता बढी

    जिल्ला प्रहरी कार्यालयका अनुसार लागूऔषधसम्बन्धी मुद्दामा विशेष गरी सेवनकर्ताहरू बढी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक बिष्णुहरि कोइराला भन्छन्– ‘छिमेकी मुलुक भारतबाट लागूऔषध सेवन गरेर आउने र प्रतिबन्धित औषधि ल्याउने क्रममा पक्राउ पर्ने गरेका छन् ।’

    नेपालमा यस्ता औषधिको बिक्री–वितरणमा रोकमा लगाइएको छ । खुल्ला सीमाको फाइदा उठाउन खोज्दा उनीहरू प्रहरीको फन्दामा पर्छन् । ‘४० प्रतिशत मुद्दामात्र लागूऔषध कारोबारसम्बन्धीका छन्’ डिएस्पी कोइरालाले भने– ‘त्यसमा पनि पहाडी क्षेत्रहरूमा उत्पादन गरिएका गँजा छिमेकी मुलुकमा बिक्री–वितरण गर्न खोज्नेहरू बढी छन् ।’

    यस्तै प्रहरीले चलाएका मुद्दामा पनि अधिकांश ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । साथीभाइको लहलहैमा लागेर, अर्काको देखासिकी, तनावलगायतका कारणले युवाहरू दुव्र्यसनीमा फस्ने गरेको पाइएको उनले बताए । उनीहरूलाई विभिन्न आश्वासन दिएर लागूऔषध कारोबारमा संलग्न गराइएका घटना पनि रहेको प्रहरीको दाबी छ ।

    दुर्व्यसनी न्यूनीकरणका लागि सेवनकर्तालाई पुनस्र्थापना केन्द्रमा पठाउने, प्रशिक्षण दिनेलगायतका जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । यस्ता जनचेतनामूलक कार्यक्रम भइरहँदा पनि प्रयोगकर्ता बढ्ने क्रम नरोकिएपछि चुनौती बढेको प्रहरीको भनाइ छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङले गत वर्ष जिल्लामा लागूऔषध नियन्त्रण कार्यदल गठन गरे पनि त्यसले खासै काम गरेको पाइएको छैन । प्रहरीको संयोजकत्वमा सरोकारवालाहरू रहने गरी जिल्लामा ६८ वटा लागूऔषध नियन्त्रण कार्यदल गठन गरिएको थियो ।

    स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका कारण कार्यदललाई सक्रिय बनाउन नसकिएको उपरीक्षक बिसीले बताए । उनले भने– ‘दुई/तीन महिना चुनावी प्रक्रियामा ध्यानकेन्द्रित थियो । अब फेरि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै कार्यदललाई सक्रिय बनाउनेछौं ।’

    यस्तै लागूऔषध नियन्त्रणका लागि समुदायको भूमिका रहने भए पनि समुदायबाट सूचना कम आउने गरेको प्रहरीको गुनासो छ । प्रवक्ता कोइरालाले भने– ‘शुरूमा अभिभावकहरू केही बताउनु हुन्न, लागूऔषधको लतमा परेर आफ्नाे सन्तानले आपराधिक गतिविधि गर्न थालेपछि मात्रै प्रहरीलाई खबर गर्नुहुन्छ ।’ आफ्ना छोराछोरीले लागूऔषध सेवन गरेको शंका लागेमा जतिसक्दो चाँडै परामर्श दिई लतबाट छुटाउन अभिभावक सचेत हुनुपर्नेमा उनले जोड दिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…