काठमाडौं । केन्द्रीय अस्पतालको रुपमा रहेको गंगालाल अस्पतालमा सधै नै मुटुसम्बन्धी बिरामीको चाप हुने गर्छ । अस्पतालले चिसोकै कारण मुटुरोगका बिरामी बढेको भन्ने कारणगत तथ्यांक नराखेपछि औसतमा चिसोको समयमा मुटुरोगीको चाप बढी हुने अस्पतालका मुटु रोग विशेषज्ञ डाक्टर युवराज लिम्बुले बताए ।
‘नेपालमा कुनै विषेश अनुसन्धान गरिएको छैन, तर गर्मीको तुलनामा जाडोमा बढी बिरामी हुन्छन्, गर्मीमा भन्दा जाडोमा मुटुका बिरामी ५० प्रतिशत बढी हुन्छन् भनिन्छ,’ डा लिम्बुले भने, ‘केन्द्रको अस्पताल भएकाले बिरामीको चाप त सधै नै हुन्छ ।’
चिसोमा किन हुन्छ हार्ट अट्याकको जोखिम ?
गंगालाल अस्पतालका मुटु रोग विशेषज्ञ डा लिम्बुका अनुसार जाडोमा हार्ट अट्याकको जोखिम बढी हुन्छ ।
‘चिसोले गर्दा हाम्रो शरीरको रक्तनली खुम्चने गर्छ, जसले गर्दा शरीरका महत्वपूर्ण अंगमा रक्त सञ्चार राम्रोसँग हुन सक्दैन,’ डा लिम्बुले भने, ‘चिसोको समयमा मुटुलाई बढी भार पर्छ, मुटुलाई कामको लोड बढी भइरहेको समयमा कोरनरी अर्टिज खुम्चिने गर्छ, रगतको नशा खुम्चिदा रक्त चाप बढेर हार्ट अट्याक हुन्छ ।’
चिसोमा कसरी बच्ने मुटुरोगबाट ?
डा लिम्बुका अनुसार चिसोको समयमा शरीरलाई न्यानो राख्नुपर्छ । शरीरलाई न्यानो राख्दा रक्तसञ्चार प्रवाहमा असर पर्दैन । त्यसैले चिसोको समययमा न्यायो कपडा लगाएर न्यायो वातावरणमा बस्नुपर्छ ।
‘चिसोको समयमा बढी एक्सपोज भएर हिँड्ने मानिसलाई मुटुरोगको समस्या बढी देखिन सक्छ,’ डा लिम्बुले भने, ‘त्यसैले न्यायो कपडा लगाएर हिँड्ने, तातो खानेकुरा खाने, आफूलाई सक्रिय राख्ने गर्नुपछ ।’
जाडो भगाउने नाममा मदिरा सेवन गरेर चिसो वातावरणमा बस्दा झनै मुटुलाई समस्या हुने डा लिम्बु बताउँछन् ।
‘चिसोमा न्यायो हुन्छ भन्दै धेरैले अल्कोहल पिउँछन्, अल्कोहलले शरीरमा हिट पैदा भएको भन्दै न्यायो फिल गर्छन्र न्यायो कपडा लगाउँदैनन् । तर वास्तवमा शरीरलाई चिसो भइरहेको हुन्छ,’ डा लिम्बुले भने, ‘अझै कतिले त अल्कोहल पिउँदा न्यायो महशुस गरेर लगाएको कपडा पनि खोल्छन्, त्यसले गर्दा हार्टअट्याक हुने सम्भावना बढाउँछ । त्यसैले चिसोमा अल्कोहल पीएर न्यायो भइँदैन, न्यायो कपडा नै लगाउनु पर्छ ।’