• काठमाडौं – कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले नेपालको सीमा मिचेपछि उत्पन्न विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने साझा संकल्प राष्ट्रियसभाबाट स्वीकृत भएको छ। राष्ट्रियसभाको बिहीबारको बैठकले सीमासम्बन्धी विवादलाई कूटनीतिक पहलबाट टुंगोमा पु-याउनुपर्ने भन्ने संकल्प प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो। सभाबाट स्वीकृत संकल्प प्रस्ताव सकारले कार्यान्वयन गरी संसद्मा प्रतिवेदन पेस गर्नुपनेछ। साझा संकल्प प्रस्तावको प्रस्तावक सत्तारूढ नेकपा र समर्थक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद हुन्।

    राष्ट्रियसभामा सत्तारूढ नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंको समर्थनमा सो प्रस्ताव प्रवेश गराएका थिए। सदनमा बिहीबार छलफल भएपछि प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो। नेपाल सरकारद्वारा जारी कूटनीतिक पहललाई अझै सजगता साथ अघि बढाउने र उच्चस्तरीय राजनीतिक पहल गर्ने, सीमा विवाद समाधान अभियानमा सम्पूर्ण राजनीतिक दल र नेपाली जनताको अभूतपूर्व एकता कायम राख्ने, राष्ट्रिय सहमति जुटाउने, नेपाल–भारत उच्चस्तरीय प्राविधिक समितिद्वारा सीमासम्बन्धी समस्या समाधानमा गरिएको पहललाई निष्कर्षमा पु¥याउने संकल्प प्रस्तावमा उल्लेख छ।

    गत कात्तिकमा भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई राखिएपछि नेपाल पक्षबाट विरोध भएको छ। सीमा अतिक्रमणविरुद्ध सबै राजनीतिक दल एक भएका छन्। सीमा विवाद समाधान गर्न आवश्यक भएको भन्दै सत्तापक्ष र प्रतिपक्षले मिलेर संकल्प प्रस्ताव दर्ता गराएका हुन्।

    संकल्प प्रस्तावमाथि सदनमा बोल्दै प्रस्तावक भट्टराईले कालापानी नेपालको हो भन्ने बलिया प्रमाण रहेको बताए। उनले कालापानीसँगै अन्य क्षेत्रमा देखिएको सीमा समस्या पनि समाधान गर्नुपर्ने बताए। त्यस्तै प्रस्तावको समर्थक प्रसाईंले सीमासम्बन्धी विषयमा सरकारले अहिलेसम्म जबाफ नदिएको बताइन्। यस विषयमा बोल्न सरकारलाई केले रोकेको छ भन्दै उनले सरकारी रबैयाबाट जनता आक्रोसत भएको बताइन्।

    कांग्रेस सांसद राधेश्याम अधिकारीले नेपाल–भारत सीमा विवादले दुई देशबीचको अरु सम्बन्धमा असर पार्न नहुने र यसलाई स्थानीयकरण गर्नुपर्ने बताए। उनले राज्यको उच्च तहबाट राजनीतिक सहमति कायम गरी सीमा विवाद टुंग्याउनुपर्ने बताए। उनले दार्चुलामा एउटा मात्र सुरक्षा चेकपोस्ट राखेर नपुग्ने भन्दै कम्तीमा चार÷पाँचवटा थप्नुपर्ने बताए। नेकपा सांसद् ठगेन्द्रप्रकाश पुरीले सरकारले छिमेकीसँग सम्बन्ध कायम गर्दै सीमा विवाद समाधान गर्ने स्पष्ट धारणा राखेको छ भन्दै संकल्प प्रस्तावले सरकारलाई काम गर्न थप सहयोग पुग्ने बताए। राजपाका बृजेशचन्द्र लालले सीमा समस्या समाधान सडकमा आक्रोस व्यक्त गरेर हुँदैन भन्दै कूटनीतिक पहल गर्न सुझाए। समाजवादी पार्टीकी प्रमिला कुमारीले कूटनीतिक पहलबाट नै समस्याको समाधान गर्नुपर्ने बताइन्।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लिपुलेक, कालापानी र लिम्पियाधुरा सीमा समस्या कूटनीतिक वार्तामार्फत समाधान गरिने बताए। कात्तिक २९ गते सरकारले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा निरीक्षण समिति र नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा निरीक्षण समिति बनाएको स्मरण पनि उनले गराए। दुवै समितिले काम सुरु गरिसकेको र सीमाका सम्पूर्ण समस्यासहितको प्रतिवेदन सरकारलाई दिने उनले बताए। उनका अनुसार केही समय लागे पनि सीमा समस्या समाधान हुन्छ।
    (नागरिक दैनिकबाट)

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …