उपत्यकाको नागरिकले महसुस गर्नेगरी शान्ति सुरक्षा प्रदान गरिने भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज यहाँ आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताए । “समुदायसँग प्रहरी हरेक कार्यमा सहकार्य गर्छ, कसैले गलत फाइदाका लागि प्रहरीसँग सहकार्य गरे कारबाही गछौँ”, उनले भने ।
पोखरेलले सुशासन कायम गर्ने सरकारको प्रतिबद्धतालाई सफल बनाउन कानूनमा आधारित प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यावसायिकताका साथ व्यक्तिगत स्वार्थविना कार्य गर्ने स्पष्ट पारे ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले नागरिकको सूचनाले नै अपराध नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। शङ्कास्पद ठाउँमा तुरून्तै प्रहरी परिचालन गर्ने, सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक छलफल गरी नागरिकसँगको समन्वय र सहकार्यमा उपयुक्त कदम चाल्ने उनको भनाइ थियो ।
काठमाडौँ महानगरपालिका–१३ का सदस्य एवं प्रहरी टोल सुधार समितिका संयोजक रामबाबु कोइरालाले शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई नागरिक समुदायको साथ र सहयोग हुने बताए ।
रासस