बाहुण्डाँगी । नेपाली कांग्रेसका युवा नेता गगन थापाले जेसीजबाट सिकेर पार्टीमा आउन युवाहरुलाई आग्रह गर्नु भएको छ ।
कपन जेसीजको ९ औँ पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले जेसीजले व्यक्ति होइन विधिको शासनमा रहेर काम गर्ने संस्था भएकाले पहिले युवाहरुलाई जेसीजमा लाग्न आग्रह गर्नु भएको हो ।
‘सामाजिक अभियानमा केही सिक्नु छ भने जेसीजमा मात्र छ’ कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका थापाले भन्नु भयो–‘अहिलेसम्म जेसीजका दर्जनौँ सभाहरुमा पुग्ने अवसर पाएर मैले पनि धेरै कुरा सिक्ने मौका पाएको छु । यसमा युवाहरुको नेतृत्व र व्यक्तित्वको विकास मात्र होइन आफ्नो कार्यकालपछि कसरी नेतृत्व हस्तान्तरण गर्ने भन्ने पनि सिक्न पाइन्छ । त्यसैले युवा साथीहरु पहिले जेसीजमा लाग्नुहोस् त्यसपसिछ आफुलाई मन पर्ने पार्टीमा प्रवेश गर्नुहोस् ।’
कार्यक्रमका विशेष अतिथि बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले जेसीजको नेतृत्व हस्तान्तरण प्रक्रिया हामी सबैको लागि प्रेरणादायी रहेको बताउँदै राजनीतिक दलले जेसीजबाट सिक्नु पर्ने बताउनु भयो । उहाँले अन्य संस्थामा बारम्बार एक जना मात्र नेतृत्व गर्ने मानसिक्तालाई जेसीजले चिर्ने गरेको र यसले हरेक युवाहरुलाई अब्बल बनाउँदै आएको बताउनु भयो । साथै नगर प्रमुख खरेलले २०२० को अभियानलाई सफल बनाउन नगरपालिकाले सहकार्य गरेर अघि बढ्ने समेत बताउनु भयो ।
शाखाका २०१९ का अध्यक्ष अमितकुमार अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा २०२० नवनिर्वाचित अध्यक्ष रुपेश भट्टराईलाई सपथ ग्रहणसँगै आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गर्नु भएको थियो । नवनिर्वाचित अध्यक्ष भट्टराईले आफ्नो कार्य समितिलाई सपथ ग्रहण गराउनु भएको थियो ।
यस अघि भएको अधिवेशनले कार्यकारीणी उपाध्यक्षमा दिपकजंग अधिकारी र मुना लामा, उपाध्यक्षहरुमा सविना मोक्तान, आशिष अधिकारी, निमा लामा र विनिता खतिवाडा निर्वाचित भएका थिए । पदहस्तान्रण समारोहमा अध्यक्ष भट्टराईले विभिन्न पदमा मनोनित गर्नु भएको थियो । शाखाको महासचिव विश्वबल्भ नेपाल, कानुनी सल्लाहकार विमला घिमिरे र कोषाध्यक्षमा श्यामकुमार तिम्सिना मनोनित गरेका छन् ।
यसैगरी, सोही अवसरमा कपन जुनियर जेसीजको समेत पदहस्तान्तरण सम्पन्न भएको थियो । २०१९ का जुुनियर जेसीजका अध्यक्ष सुजल अधिकारीले २०२० की नवनिर्वाचित अध्यक्ष विनिता सिल्वाललाई पद हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा एम्नेष्टि नेपालका पूर्व राष्ट्रिय अध्यक्ष सूर्यबहादुर अधिकारी
निरुपित कार्यकारीणी उपाध्यक्ष गोकुल सापकोटा, कार्यकारीणी उपाध्यक्ष शोभा खरेल, उपाध्यक्ष रमा प्याकुरेल र धिरज शाहि, पूर्व अध्यक्षहरु हेमराज दाहाल, होमबहादुर अधिकारी (मनोज), झनकबहादुर अधिकारी (दिपक), निवर्तमान अध्यक्ष विकास श्रेष्ठलगायतको सहभागितामा सम्पन्न भएको हो । श्यामकुमार तिम्सिनाको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव सञ्चालन नवराज वनले गरेका थिए ।