पुष्कर खड्का
रामेछाप - रामेछापको खाँडादेवी गाउँपालिकाले यही हिउँदे गाउँसभाबाट सुशासन सम्बन्धि नीति बनाउने भएको छ । गाउँपालिकामा मंगलबार भएको साझेदारी मञ्च बैठकमा सो निर्णय भएको हो ।
गाउँपालिकाले बनाउन लागेको सुशासन नीतिको बारेमा नागरिकहरुको सुझाव लिनको लागि पालिकाले आयोजना गरेको बैठकमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले मस्यौदा माथि नागरिकका सुझाव लिई नागरिकमैत्री नीति बनाउन कार्यक्रम आयोजना गरिएको बताए । सुशासन, पारदर्शिता र जवाफदेहीताको लागि नीति ल्याउन लागिएको उनले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठले नागरिक र पालिका बिचको सम्बन्ध अझ बलियो बनाउन यसले सहयोग गर्ने बताइन् । वडा नं ८ का वडाअध्यक्ष इन्द्र तामाङले ऐन निर्माण पछि अहिले गरिरहेका काम संस्थागत बन्ने बताए ।
पालिकाले बनाउन लागेको नीतिको मस्यौदामा भएको मूलभूत विषयको बारेमा अधिवक्ता पाण्डव प्रसाईँले जानकारी गराएका थिए । सहभागिहरुले नागरिकले खोजेको सूचना सहज रुपमा पाउने र विकासका काम र कार्यक्रमका सूचना नागरिसम्म पुर्याउने गरि काम गर्न सुझाव दिएका थिए ।