विष्णु पौडेल
दमक/एनइसी एशिया बैंकको दमक देवकोटास्थित शाखाकी ग्राहक (बचतकर्ता )झापा कमल गाउँपालिका वडा नं ५ की जमुनादेवी लिम्बुले ३० हजार रुपैयाँको आफ्नो बैंकिङ चेकमा केरमेट गरेर थप ६ लाख रुपैयाँ बैंकका कर्मचारीले हिनामिना गरिदिएको भन्दै आफ्नो रकम फिर्ताका लागि माग गर्नुभएको छ ।
उहाँले आज कमल ५ स्थित वडा कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नो दुखले आर्जेको पैसा बैंकका कर्मचारीले हिनामिना गरेर ठगी गरेको गुनासो गर्नुभएको हो । पीडित लिम्बुका छोरा वकिल लिम्बुले बैंकका कर्मचारी र अडिटर हुँ भन्ने केहि व्यक्तिले गत कार्तिक महिनाको अन्तिम साता घरमै आएर ५÷६ लाख रुपैयाँ केहि होइन , हामी मिलाउँला बाहिर हल्ला नगर्नु भन्दै रकम फिर्ताको आश्वासन दिएपनि अहिले सम्म हिनामिना भएको रकम फिर्ता नदिएको बताउनु भयो ।
दुई चरणमा ६ लाख गायब, चेकको रकममाथि केरमेट
पत्रकार सम्मेलनमा जनाइए अनुसार लिम्बु गत बर्षको फागुन ७ गते आफ्नो खाताबाट ३० हजार रुपैयाँ रकम झिक्न ३ कक्षामा पढ्ने भतिजीसंग बैंकमा पुग्नु भएको थियो ।
बैंकमा खातावाल लिम्बुको नाममा रहेको खाता क्रियासिल नरहेको भन्दै बैंकका कर्मचारीले सोको प्रकृया शुरु गराएर ३ दिनपछि आउन भनेका थिए । लिम्बुले केहि दिनपछि बैंकमा गएर नगद ३० हजार रुपैयाँ आवश्यक रहेको भनि रकम निकाल्नका लागि बैंकको सोधपुछ कक्षमा रहेकी एक महिला कर्मचारीलाई चेक बुक दिनु भएको थियो । लेखपढ गर्न नजान्ने लिम्बुले आफूलाई चेकमा आवश्यक विवरण भर्न नआउने भएकाले ति कर्मचारीलाई ३० हजार रुपैयाँ चाहिएको छ भनेपछि कर्मचारीले ठाउँ ठाउँमा सहि गर्न लगाउनु भएको थियो ।
केरमेट गरिएको ५ लाख ३० हजार रुपैयाँको चेक
लिम्बुले भन्नु भयो– कता कता गर्नु भनिन मैंले त्यतै सहि गरें । म उहिले धुलोमा कोरेर नाम सम्म लेख्ने भएकाले चेकमा नाम लेखिदिएकी थिएँ । मैंले ३० हजार रुपैयाँ बैंकबाट लगेकी हुँ । पछि मेरो ३० हजारको चेकमा अगाडी ५ र पछाडी कति ओटा हो जिरो थपेर ५ लाख निकालेको रहेछ । त्यतिबैलानै अर्को चेकमा एक लाख भरेर एक महिना पछि त्यो पनि पैसा निकालेको रहेछ । बैंकले इस्यू गरेको ५ लाख ३० हजार रुपैयाँको चेकको ३०,००० माथि केरमेट गरिएको छ भने अगाडीको अंक ५ सानो अक्षरमा लेखेर थप गरेको देखिन्छ ।
लिम्बुले आफू नेपाली अक्षर समेत चिन्न नसक्ने भएकाले अंकमा र अक्षरमा लेखिएका दुवै रकम पढ्न नसकेको बताउनु भयो । मैंले ३० हजार मागेकी थिएँ, ३० हजार पाएपछि नानीसंग घर फर्किएकी हुँ । आफ्नो श्रीमानले साउदीको तातो घाममा दुख गरेर कमाएको पैसा बैंकबाटै हिनामिना भएपछि गत कार्तिकमा श्रीमान घर आएको बेला बैंकका कर्मचारीले हामी बुझ्दैछौं, हल्ला नगर्नु भनेर टारेको र अहिले आएर पैसाको जिम्मेवारी बैंक नभएको बताएपछि थप विलखबन्दमा परेको जमुनाले गुनासो गर्नुभयो ।
पत्रकार सम्मेलनमा कमल ५ का वडाध्यक्ष डम्बर निरौलाले लेखपढ गर्न नजान्दा लिम्बु ठगिएको हुन सक्ने आफूले अनुमान गरेको र बैंकको दमकस्थित शाखामा पुगेर बारबार शाखा प्रमुख तीर्थ प्रधानसंग कुराकानी गरेको जानकारी दिनु भयो । आफूहरुसंगको कुराकानीमा बैंक पक्षले केरमेट भएको चेकको भुक्तानी भएको रेकर्ड सो बैंकमा पहिलो घट्ना भएको भन्दै आफूहरु जिम्मेवार नरहेको बताउने गरेकाले राष्ट्र बैंक र कानुनी निकायहरुमा बैंक र त्यस किसिमका कर्मचारीको गलत नियतका विरुद्ध कानुनी कारवाहिको प्रकृया अघि बढाउने पनि जनाउनु भयो । यस बिषयमा एनआइसी एशिया बैंकको दमक देवकोटास्थित शाखाका प्रमुख तीर्थ प्रधानले पत्रकारहरुसंग आफू कुरा नगर्ने बताउनु भयो ।
आफ्नो नाम समेत समाचारमा कतै उल्लेख नगर्न भन्दै प्रधानले ग्रैह्रजिम्मेवारीपूर्ण जवाफ दिनु भयो ।