मेचीनगर । बीएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्राडा श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको दावी गरेका छन् ।
लामो समयदेखि मेडिकल कलेजको सम्बन्धनको पर्खाइमा रहेको बीएन्डसीको निवेदन लिएर मङ्सिर १५ गते आयोग जाँदा अध्यक्ष गिरीले निवेदन दर्ता नगरेको र सोही साँझ द्वारिका होटलमा बोलाएर २० करोड घुस मागेको प्रसाईको आरोप छ ।
उनको आरोपको बुधवार नै खण्डन गर्दै प्रसाईले आफ्नो मानहानी गरेकाले अदालत जाने चेतावनी दिएका छन् । आयोगका अध्यक्ष गिरीले पत्रकार सम्मेलन गरी आरोपको खण्डन गरेका हुन् ।
प्राडा गिरीले प्रसाईसँग नभेटेको समेत दावी गरेका छन् । उनले घुसको आरोप मिथ्या, कपोलकल्पित र चरित्रहत्या गर्ने नियतबाट आएको जिकीर गरेका छन् ।
प्रसाईले पत्रकार सम्मेलन गरे लगत्तै गिरी पनि पत्रकार सम्मेलन गरेका हुन् । दुबै जनाले विज्ञप्ति समेत जारी गरेका छन् ।
प्रसाईको आरोपले चिकित्सा जगतमा तरङ्ग ल्याए पनि उनले आरोपको पुष्टि हुने प्रमाण सार्वजनिक गरेका छैनन् । त्यसैकारण आरोपित गिरीले पुष्टि गर्न प्रसाईलाई चुनौति दिएका छन् ।