भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मुलुकका सबै क्षेत्रलाई सवल बनाउन सकेमात्र समृद्धि सम्भव हुने बताएका छन्।
बुधबार गृहजिल्ला पाँचथरको हिलिहाङ गाउँपालिका वडा १ र २ अध्यारोमुक्त घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन्।
मुलुकका सबै क्षेत्रलाई सवल र समयानुकूल बनाउन सकेमात्रै समृद्धि सम्भव हुने भएकाले सरकारले विकास निर्माण र सेवा प्रवाहका सबै क्षेत्रमा सुधारको प्रयास गरिरहेको मन्त्री नेम्वाङको भनाइ छ। सरकारको प्रयासकै कारण विकास निर्माणका कार्य तथा सेवा प्रवाहका क्षेत्रमा परिवर्तन आएको मन्त्री नेम्वाङले दाबी गरे।
उनले ठूला पूर्वाधार आयोजना, विकास निर्माणका अन्य योजना र सेवा प्रवाहका क्षेत्रमा सरकारले एकैसाथ सुधारको प्रयास गरिरहेको बताए। ‘सल्लाको दियालो बाल्नुपर्ने अवस्थाको अन्त्य भयो। अब विदेशबाट आयातित ग्यासबाट खाना पकाउनुपर्ने, दाउराबाट खाना पकाउनुपर्ने अवस्थाको पनि अन्त्य गर्छौं,’ मन्त्री नेम्वाङले भने, ‘अब आफ्नै पानीबाट उत्पादित विद्युत् चुला चौकामा पुर्याई त्यसैबाट खाना पकाउने प्रबन्ध सरकारले गर्छ।’
मन्त्री नेम्वाङले देशका ४० जिल्लामा पूर्ण विद्युतीकरण गर्ने योजना चालु आर्थिक वर्षबाट अघि बढाइएको जानकारी दिए। यही कार्यक्रमअन्तर्गत पाँचथरमा चालु आर्थिक वर्षमा सरकारले करिब १ अर्ब ५० करोड रुपैयाँ बजेट विद्युतीकरणका लागि छुट्ट्याएको मन्त्री नेम्वाङले बताए। उनले १÷२ वर्षमै पाँचथरलाई अध्याँरोमुक्त जिल्ला निर्माण गर्ने कार्यमा जुट्न आग्रह गरे।
फरक प्रसङ्गमा मन्त्री नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका विभिन्न ७ वटा राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण कार्यलाई द्रूतगतिमा अघि बढाउन आफूले निरन्तर अनुगमनको कार्य गर्दै आएको बताए। उनले पुष्पलाल (मध्यपहाडी) लोकमार्गसहित पूर्वी पहाडका विशेष महत्त्वका तमोर कोरिडोर सडक, मदन भण्डारी सडक, राँके-रबी-भेडेटार सडक, पाथीभरा मन्दिर ताप्लेजुङ सडक निर्माणलाईसमेत आफूले विशेष चासो दिएको बताए।
कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले मन्त्री नेम्वाङकै अगुवाइमा जिल्लामा विद्युतीकरणको सुरुआत भएको र अहिले उनीबाटै विभिन्न वडालाई अध्याँरोमुक्त वडा बनाउने कार्य अघि बढ्नु सुखद् संयोग रहेको बताए।
हिलिहाङ गाउँपालिका १ र २ का करिब १ हजार २ सय घरमा विद्युतीकरणको कार्य पूरा भई अध्याँरोमुक्त वडा घोषणा गरिएको गाउँपालिका अध्यक्ष भूवानीप्रसाद लिङदेनले जानकारी दिए। यी वडा कूल ८ करोड ८० लाख रुपैयाँको लागतमा विद्युतीकरणको कार्य पूरा भएको हो। विद्युतीकरणका लागि नेपाल विद्युत प्राधिकरण फिदिम वितरण केन्द्रले १२ लाख बराबरको प्राविधिक सहयोग, इलाम कार्यालयबाट २० लाख, काबेली कोरिडोर परियोजनाबाट २ करोड ८० लाख, काबेली ए जलविद्युत परियोजनाबाट ७६ लाख, हिलिहाङ गाउँपालिकाबाट ७४ लाख, अरुण काबेली जलविद्युत आयोजनाबाट ३ लाख ६० हजार, विद्युत प्राधिकरणको सामुदायिक विद्युतीकरण कार्यक्रमबाट २ करोड ९२ लाख र उपभोक्ताबाट सङ्कलित ३२ लाख ५० हजार रकम प्राप्त भएको हिलिहाङ गाउँपालिका-१ का वडाध्यक्ष गोपिकृष्ण भण्डारीले जानकारी दिए।
गाउँपालिका अध्यक्ष लिङदेनका अनुसार हिलिहाङ १, २, ५ र ६ मा विद्युतीकरणको कार्य पूरा भएको छ भने वडा ३, ४ र ७ मा धमाधम काम भइरहेको छ। आगामी ६ महिनाभित्र विद्युतीकरणको काम सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताए।