पुष्कर खड्का
रामेछाप - रामेछाप जिल्लाको ट्राफिक व्यवस्थापनमा थप कडाई गरिएको छ । जिल्लामा अहिले ट्राफिक नियम विपरित संचालन भएका सवारी तथा ढुवानी साधनको चेकजाच र गतिमा समेत कडाई गरिएको छ ।
बजार क्षेत्रमा आवश्यक भन्दा बढी गतिमा सवारी साधन संचालन हुने गरेकाले त्यसलाई कम गर्ने अभियानमा आफुहरु लागेको जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापका प्रमुख प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेले जानकारी दिए । यसैलाई मध्यनजर गरी सोमबार जिल्ला प्रहरी कार्यालय रामेछापका डि.एस.पी बसन्त पाठकको उपस्थितीमा मन्थली नगरपालिकाको समन्वयमा मन्थली बजार क्षेत्रमा अधिकतम गति २० लेखिएको २६ वटा वोर्ड राखिएको छ ।
ट्राफिक प्रहरी कार्यलय रामेछापका प्रमुख पाण्डेले अबको दिनमा बजार क्षेत्रमा २० भन्दा बढि गतिमा संचालन हुने सवारी तथा ढुवानीका साधनलाई कडा कारवाही गरिने बताए । दैनिक ६ सय भन्दा बढि सवारी आवागमन हुने रामेछाप जिल्लाको कुनैपनि क्षेत्रमा जोखिमपुर्ण यात्रा नगर्न नगाराउन ट्राफिक प्रहरीले आह्वान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डि.एस.पी पाठकले जिल्लाको ट्राफिक व्यवस्थापनमा अझै कडाई गरिने बताए । यसका लागि सरोकारवाला निकायसंग आवश्यक छलफल र समन्वय गर्ने कार्य भैरहेको उनको भनाई छ ।