त्यो दिन मन सार्है रोयो जुन दिन समाचारपत्रहरुमा आयो बिजुलीको बिल भुक्तान गर्न नसकेर महेन्द्र मंजिलको विद्युतको लाइन काटियो।
दुरदर्शी महाराजकी बडामहारानी जसको छवीमा दाग लगाउन र जसको क्रियाकलापमा नेपाली जनताले कहिले औला उठाउने मौका पाएनन्। राजसंस्थाको समाप्ति पछि पुर्वराजा ज्ञानेद्रले हजार अनुनयविनुनय गर्दा पनि आफ्नो पतिको घर छोड्न राजी नहुनुभएको मुमाबडामहारानी रत्न अनि नेपाली राजनीतिक उथल-पुथलको जीवन्त साक्षी अर्थात असी काटेको बयोबृद्धाको सानो दरबारको बिजुली काटेर पुरुषार्थ देखाउने आंतकवाद मार्फत सत्तामा आएका संचार मन्त्री जनार्दन शर्माले दानवीय कुकर्म जनताको विरोधका कारण स्थगित गर्नुपर्यो।
राजा महेन्द्रकी बडामहारानी श्री ५ रत्न राज्यलक्ष्मी शाहको जन्म १९ अगस्ट १९२८ मा काठमाण्डौको हरि भवन अर्थात बाघ दरबारमा बुबा हरि शमशेर जबरा र मुमा मेघा कुमारी राज्यलक्ष्मी राणाको कोखबाट भएको थियो।
कहाँ छ काठमाण्डौमा बाघ दरबार:
तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले सन १८०५ आफु सत्तामा आएपछि बुबा अमरसिंह थापाले सुन्धारामा बनाएको सानो घर भत्काएर बाघ दरबारको निर्माण गर्नुभयो। १२० रोपनी जग्गामा पुनर्स्थापित दरबारको पुननिर्माण कार्य लामो समय सम्म जारी रह्यो र बाघदरबारको एक मन्दिरमा भेटिएको शिलालेखले निर्माण परिसरको भवन परिसरको भव्यता दर्शाउछ। भीमसेन थापाको पतन पछि भवनको राष्ट्रियकरण भयो तर थापाहरूले पुनः माथवरसिंह थापा आठ बर्ष पछि सत्तामा आएपछि पुनः कब्जा गरे। उनले दरबारलाई देशको प्रशासनिक केन्द्रमा परिणत गरे। इतिहासकारहरूका अनुसार दरबारको प्रवेशद्वारमा दुई धारीदार बाघहरू राखेका थिए। यसले स्पष्ट गर्छ कि दरबारलाई बाघदरबार भनिनुको कारण (टाइगर प्यालेस) तीनै दुई बाघहरूको उपस्थितिको लागि। आफ्ना भान्जा जंग बहादुरले मामा माथवरसिंहको हत्या नगरुन्जेल बाघ दरबार थापाहरुको मातहतमा रह्यो र राणाहरुको उदयपछि प्रधानमन्त्री बीर शमशेरले गौथली दरबारको पुनर्निर्माण गरे तर ९० सालको भुकम्पले दरबार पुर्णरुपमा क्षतिग्रस्त भयो। शासन जुद्ध शमशेरको हातमा आएपछि मल्ल वास्तुकारहरुको सहायतामा दरबारको पुनर्निर्माण गरी आफ्ना छोरा हरि शमशेरलाई उपहार दिए र हाल उक्त भवनमा काठमाण्डौ महानगरपालिकाको कार्यालय
रहेको छ।
दरबारप्रवेश:
जुद्ध शमशेरकी नातिनी र हरि शमशेरकी छोरी मुमाबडामहारानी रत्न राजा महेन्द्रकी दोस्रो श्रीमतीरुपमा शाह राजवंशमा प्रवेश गर्नुभएको थियो। दीदी तत्कालीन युवराज्ञी इन्द्रराज्यलक्ष्मीको अधिराजकुमार धीरेन्द्रलाई जन्म दिदा निधन भयो र युवराज महेन्द्र विधुर बन्नु भयो भने नवयुवराज बीरेन्द्रलगायत अन्य पांच अधिराजकुमार तथा अधिराजकुमारीहरु टुहुरो हुनुभयो। युवराज महेन्द्रलाई उपयुक्त बधुको कमी नभएपनि र आफ्ना बुबा त्रिभुवनको राणाहरुप्रति ठुलो घृणा हुदाहुदै र बुबा बिमति हुदाहुदै पनि रत्नसंग विवाह गर्न नपाए युवराज पदवी त्याग्ने धम्कीको अगाडी राजा त्रिभुवन पनि केही लागेन।
शान्त र सुशिल व्यवहारकी धनी मुमाबडामहारानी रत्न एउटी यस्ती त्यागी महिला हुनुहुन्छ, आमा गुमाएका दरबारकी ती लालाबालाहरुलाई न त आमा कमी महशुस गर्न दिनुभयो न त राजा महेन्द्रको राजकाजमै कुनै हैकम चलाउनु भयो। यति मात्र नभएर कलिलो उमेरमा आमा गुमाएका राजकुमार राजकुमारीहरुको वात्सल्यप्रेममा कुनै कमी नआओस् भनेर उहांले आफ्नो गर्भ नै बाझो राखिदिनुभयो। राजा महेन्द्रको चितवन राष्ट्रीय निकुंजमा शिकार खेल्ने क्रममा चितवनको दियालो बंगलामा ह्रदयाघातबाट सन १९७२ स्वर्गारोण भएपछि तत्कालीन युवराज बीरेन्द्रले राजगद्दी सम्हाल्नुभयो र रत्नको पदवी मुमाबडामहारानीमा परिणत भयो।
जुन १, २००१ को साँझ शाही नरसंहार हुदा, मुमाबडामहारानी रत्न आफ्नी देवरानी राजकुमारी हेलेन शाहसँग बातचित गर्दै छेउको अर्को कोठामा बस्नुभएकोले बच्नुभएको थियो। उहाहरुले बन्दुकको आवाज सुनेपनि तर गम्भीरताका साथ लिनुभएन। केही मिनेट पछि, राजकुमार पारस आएर युवराज दिपेन्द्रले राजा लगायत सबैलाई गोली हानेको जाहेरी गरेपछि मात्र उहांले यस घटनाको बारेमा जानकारी पाउनुभयो र कोमामा रहनु भएका युवराज दीपेन्द्रलाई नेपालको राजा घोषणा गरिएपछि निकै छोटो समयलाई मुमाहबडामहारानी रत्न हजुरमुमाबडामहारानी बन्नु भयो। वशंनास गरेकै कारण मुमाबडामहारानी रत्नले युवराज दीपेन्द्रको शव हेर्न इन्कार गर्नुभएको थियो भने राजा बीरेन्द्रको शवको पोष्टमार्टम गर्न समेत दिनुभएन।
सामाजिक सेवामा मुमाबडामहारानी रत्न
आफ्नी दीदीले टुहुरा बनाएका राजा महेन्द्रका सन्तानलाई आमाको माया कमी हुन नदिनुभएकी रत्नले आमा गुमाएका अन्य नेपाली बालबालिकाहरुलाई पनि आमाको माया कमी हुन नदिन बाल मन्दिर नामको बालगृह खोलेर समाज सेवामा राजपरिवारलाई संलग्न हुन एउटा मार्गदर्शन गरिदिनुभयो। बाल मन्दिर नेपालको सबै भन्दा पुरानो गैह्र सरकारी सरकारी सामाजिक संस्था हो। जहां अझै पनि आमा गुमाएका विभिन्न उमेरका बालबालिकाहरुलाई संरक्षण दिइन्छ । मुमाबडामहारानी रत्नको बालबालिकाप्रति प्रेमकै कारण उहां जन्मदिन भदौ ४ गतेलाई नेपालमा बाल दिवसको रुपमा मनाइन्थ्यो ।
विभिन्न मानपदकबाट सम्मानित मुमाबडामहारानी रत्न नेपालकै सुन्दरी, सौम्य र शालीन राजमाता हुनुहुन्छ जसले धेरैलाई सामाजिक सेवामा लाग्न अभिप्रेरित गर्नुभयो। हाल एक्लै महेन्द्र मजिलमा बस्दै आउनुभएकी रत्नलाई राजपरिवारका सदस्यले बारम्बार भेटघाट गर्ने क्रम जारी छ भने केही समय अगाडी उहाँ बिरामी परेर अस्पताल भर्ना हुदा पुर्व राजारानी ज्ञानेन्द्र र कोमल आफैले पकाएको खाना लिएर भेट्न पुग्नुभएको थियो।