• काठमाडौँ,। चार महिनादेखि काठमाडौं उपत्यकामा सडक विस्तारको काम ठप्प छ । गत २ असोजमा सर्वोच्च अदालतले सडक विस्तार गर्दा घरजग्गाधनीलाई मुआब्जा दिनुपर्ने फैसला गरेपछि काम रोकिएको हो । विस्तार भइरहेका सडक दायाँबायाँका बासिन्दाले मुआब्जा नदिएसम्म काम गर्न नदिने बताएका छन् ।

    सर्वोच्चले फैसला गरेको करिब चार महिना बित्दा पनि फैसलाको पूर्णपाठ तयार भएको छैन । जसले गर्दा सडक विस्तार आयोजनाले काम अघि बढाउन सकेको छैन । महान्यायाधिवक्ता कार्यालयले पनि के गर्ने भन्नेबारे कुनै जानकारी दिएको छैन ।

    विस्तारित सडक दायाँबायाँका स्थानीय बासिन्दाले सामूहिक रूपमै मुआब्जाको माग चर्काउँदै लगेका छन् । ‘मुआब्जा पाइएपछि मात्रै भत्काउन दिने भनेर विस्तारको काम ठप्प पारिएको छ,’ काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसीले भने । केही सडकमा भने काम अघि नबढाउने अदालतकै अन्तरिम आदेश रहेको उनले बताए ।

    उपत्यकामा १० सडक र तीनवटा पुल विस्तार काठमाडौं उपत्यकामा अहिले १० सडक र तीनवटा पुल विस्तारको काम भइरहेको छ । तीमध्ये एउटा सडकमा मात्र सडक विस्तारको काम भइरहेको छ । इमाडोल सिद्धिपुर–गोदावरी खोला–लुभु–लामाटार सडकमा मात्र काम भइरहेको केसीले बताए । अरनिको राजमार्गमा पर्ने धोबीखोला पुलमा काम भइरहेको छ ।

    के छ सर्वोच्चको फैसलामा ? मुआब्जा नपाई घर भत्काउन नपाउने तथा जग्गा अधिग्रहण गर्न नपाउने भन्दै सानु श्रेष्ठलगायत ४७ जनाले ९ माघ ०७३ मा सडक विस्तार कार्यविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । गत २ असोजमा न्यायाधीशहरू केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको इजलासले सो रिटको पक्षमा फैसला दिएको थियो । सर्वोच्चबाट फैसलाको पूर्णपाठ प्राप्त गर्न प्रयास गरे पनि व्यस्तताका कारण ढिलाइ भइरहेको जवाफ पाएको महान्यायाधिवक्ता कार्यालयकी सहन्यायाधिवक्ता रमादेवी पराजुलीले बताइन् । ‘पूर्णपाठको सम्बन्धमा सरकारी कार्यालयदेखि स्थानीय नागरिकले समेत चासो राखिरहेका छन्,’ उनले भनिन्, ‘तर, ढिलाइ भइरहेको छ ।’

    ढिलाइका अन्य कारण अदालतको फैसला र अन्तरिम आदेशबाहेक अन्य कारणले पनि सडक विस्तार रोकिएको छ । विद्युत् र टेलिफोनका पोल समयमा स्थानान्तर नहुनु, सडक विस्तार क्षेत्रभित्र परेका रूख कटानमा ढिलाइ हुनु, घर भत्काउने विषयमा पुरानो नापी र नयाँ नापीको विवाद निकाली घर भत्काउन नदिनु, खानेपानी र ढल ‘लिकेज’ भई सतहमा बग्नुलाई पनि सडक विस्तारको बाधक मानिएको छ ।

    डेढ वर्षसम्म म्याद बढाउने तयारी काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ठेक्काको म्याद सकिएका कम्पनीलाई औचित्य र ढिलाइ हुनुको विभिन्न अवस्था हेरेर डेढ वर्षसम्मको म्याद थप गर्ने जानकारी दिएको छ । अधिकांश कम्पनीको आफ्नै बेवास्ताका कारणले भन्दा पनि अन्य समस्याका कारण भौतिक प्रगति हुन नसकेकाले म्याद थपिने आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठले बताए ।  नयाँ पत्रिकाबाट ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…