विराटनगर । सोमबार साँझ प्रवल घिमिरे विराटनगर २ स्थित घरमै थिए । ८ वर्षयता लेखा परीक्षकको काम गर्ने उनले प्रवल एण्ड एसोशिएट कम्पनीको अफिस घरमै छ ।
विराटनगरका ठूला ५० हाराहार कम्पनीको अडिट उनकै कम्पनीबाट हुन्थ्यो । सोमबार साँझ अडिटकै सिलसिलामा नन्दकिशोर राठीले उनलाई सम्पर्क गरे । विराटनगर शनिहाट घर भएका राठीको विराटनगर २ सरस्वती टोलमा गार्मेन्ट उद्योेग छ । श्रीमतीसँग बिदा मागेर हिडेका उनी राठीले बोलाएकै स्थानमा पुगे ।
मोटरसाइकल राठीको उद्योगमै राखेका प्रवल नन्दकिशोरसँगै उनी आमाज् बेकरी पुगे । आमाजमा बस्दा नन्दकिशाेरले मामाका छाेरा अनिल चाण्डकलाइ हाेटल मुनमा बाेलाए । भाट भटेनी सुपरमार्केट हुँदै हाेटल मुन पुग्दा अरुण राठी, अशोक अटलसँग भेट भयाे । उर्लाबारी घर भएका अनिलसहित पाँच जना करिब १ घण्टा बसे । त्यहाबाट बसपार्क पश्चिम रहेको लोटस बार पुगे । लोटसमा भने नन्दकिशोर बसेनन् ।
घरबाट फोन आएका कारण उनी फर्किए । केही समय बसेपछि अरुण र अटल पनि निस्किए । बारमा प्रवल र अनिल मात्र थिए । बारम्बार फोन आएपछि प्रवलपनि अनिलको गाडीमा लिफ्ट मागेर आए । तर उनी विराटनगर २ बञ्जरा चोक रहेको घरमा पुगेनन् । अनिलले वडा प्रहरी कार्यालय विराटनगरको र एनआइसी एसिया बैंकको अगाडी छाडेर उर्लाबारी लागे । प्रवललाई भने घरबाट बारम्बार फोन आइरहेको थियो । श्रीमती रेनुकाले फोन गर्दा उनले तीनपैनी आसपास नै रहेको जवाफ दिन्थे ।
उनी छोरासहित राति श्रीमानलाई लिन तिनपैनी चोकसम्म पुगिन् , तर प्रवल आएनन् । राति करिब १० बजे फोन गर्दा ‘कता छु कता’ भन्ने जवाफ दिए । अत्तालिदै रेनुकाले राति जेठाजू रविनलाई घटना सुनाइन् ।राति १०ः४२ बजे रबिनले रेनुकाको मोबाइलबाट फोन गर्दा प्रवलको जवाफ थियो ‘म आउदैछु ।’ प्रवलसँगको टेलिफोन सम्बाद त्यही अन्तिम थियो । आउदैछु भनेका प्रवल मध्यरातसम्म आएनन् । उनको फोन पनि लागेन ।
माेबाइल स्वीचअफ भएपछि अत्तालिएका रबिनले प्रवलका साथी सञ्जय श्रेष्ठ र नबिन रिजालाई सम्पर्क गरे । राति सोधी जोखी गर्दा नभेटेपछि १ बजेबाट विहान ४ बजेसम्म बजारमा खोजिरहे ।
अस्पताल होटल र सडकमा खोजी गर्दा नभेटिएपछि घिमिरे परिवारले घर आउने बाटो हेरिरहे । तर उज्यालो हुन नपाउँदै ‘प्रवल जस्तै देखिने मान्छेको शव संघियिामा भेटिएको खबर आयो । खोला पुग्दा लगाएको लुगा हेर्दा रबिनले परैबाट भाइलाई चिने । प्रवल घर फर्कने आश त्यहीबाट मर्याे । शव भेटिएपछि प्रहरीले काेशी अस्पतालमा पोष्टमार्टम गरेर जिम्मा लगायो । मंगलबार नै अन्त्यष्टीपछि घिमिरे परिवारले मृत्यु संस्कार गरिरहेका छन् ।
घर आउदैछु भनेको प्रवल खोलामा मृत भेटिएपछि घिमिरे परिवारले हत्या भएको आशंका गरेको छ । ‘शव भेटिएको स्थानमा दिउँसै पुग्न अफ्ठयारो छ ।’ रबिनले भने ‘ माेबाइल पनि भेटिएकाे छैन् ।’ बोलाएर लगेका व्यक्तिले बीचबाटैमा छोडका कारण प्रहरीलाई अनुसन्धान गर्न घिमिरे परिवारले आग्रह गरेको छ । मोरङ प्रहरीले पनि घटनाको अनुसन्धान गरिरहेको छ । मोरङ प्रहरी प्रवक्त लोकदर्शन थापाले शंकास्पद व्यक्तिसँग सोधपुछ थालिएको बताए ।