पुष्कर खड्का
रामेछाप - रामेछाप जिल्लाका दुई वटै नगरपालिका र ५ गाउँपालिकाले हिउँदे सभा गरिसके । ऐन तथा नीतिहरु बनाएका छन् ।
ती पालिकाले ६ महिनाको कामको समीक्षासमेत गरेर आवश्यकताअनुसार बजेट रकमान्तरण गरेर अर्को काममा लगाउने निर्णय गरिसकेका छन् ।तर, जिल्लाको लिखु तामाकोशी गाउँपालिकालाई यी कुनै कुराले छोएको छैन । आर्थिक वर्षको पहिलो ६ महिना बित्दा पनि गाउँपालिको नीति तथा कार्यक्रम र बजेट ल्याएको छैन ।
गाउँपालिका ६ महिनादेखि योजना र बजेटविहीन अवस्थामा गुज्रेको छ ।गाउँपालिका भित्रको आन्तरिक कलहका कारण गाउँपालिको प्रशासनिक तथा विकासका सम्पूर्ण कामहरु रोकिएका छन् ।
यस आर्थिक वर्षको बजेट तथा कार्यक्रम पास गर्न गत असारमा बसेको गाउँ कार्यपालिकाको बैठकमा गाउँपालिका अध्यक्ष गोविन्द खड्का र उपाध्यक्ष दीपशिखा दाहाल तथा प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कार्यपालिका सदस्यवीच बजेट विनियोजनको विषयामा कुरा नमिल्दा गाउँपालिका कुनै काम अघि बढ्न सकेको छैन ।गाउँपालिको बजेट विनियोजनको क्रममा गाउँपालिका अध्यक्ष खड्काले अघिल्लो आर्थिक वर्षमा काम भएको वडा नं १ को विद्युतीकरणमा करिब ६ करोड रुपैयाँ विनियोजन गरेर बाँकी रकम अन्यत्र विनियोजन गर्ने प्रस्ताव गरेका थिए ।
तर उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र अन्य कार्यपालिका सदस्यहरुले सो आयोजनाको स्थलगत अनुगमनपछि मात्र बजेट छुट्यान प्रस्ताव गर्दा दुईपक्षवीच हातहालाहालको अवस्था आएको थियो । सोही कारणले स्थगित भएको पालिकाको बैठक अघि बढ्न सकेको छैन ।घटनापछि प्रमुख प्रशासकीय अधिकृतसमेत असुरक्षित भएको भन्दै पालिका छाडेर हिँडेका थिए । त्यसपछि सो पालिकामा प्रमुख प्रशासकीय अधिकृत गएका छैनन् ।गाउँपालिका उपाध्यक्ष पनि असुरक्षित भएको भन्दै कार्यालयमा गएकी छैनन् । पालिकामा केही करारका कर्मचारीहरु बाहेक अन्य कर्मचारी छैनन् ।करारका कर्मचारीहरुले समेत गएको साउन महिनादेखि तलब पाएका छैनन् । स्थायी कर्मचारीको रुपमा एक जना वडाअध्यक्ष कार्यरत छन् ।बजेट कार्यक्रम नआउँदा कर्यालयको प्रशासनिक काम र विकासका सम्पूर्ण कामहरु रोकिएको गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाल बताउँछिन् ।६ महिनादेखि प्रशासनिक खर्चसमेत वडा कार्यालयमा नजाँदा कार्यालयमा फोटाकपि गर्ने कागजसमेत नभएको वडाअध्यक्षहरु बताउँछन् ।
पालिकाको बजेट पास नहुँदा यस वर्षका विकासका कामहरु सबै रोकिएका छन् । विद्यालयमा छात्रावृत्तिको रकम गएको छैन ।स्वास्थ्य संस्थामा औषधि सकिँदा पनि औषधि खरिद गर्ने पैसा पुगेको छैन । कृषि, पशुसेवा, भौतिक पूर्वाधारलगायतका विकासका काम ठप्प भएका छन् ।कर्मचारीहरुले तलब खान पाएका छैनन् । तैपनि सरोकारवालाहरु मौन रहेका छन् । समस्या समाधानतर्फ ध्यान दिनु पर्ने निकायको ध्यान जान सकेको छैन ।नेकपा रामेछापका इञ्चार्ज एवम् पूर्वसांसद देवशंकर पौडेल भने समस्या समाधानको लागि पार्टीको तर्फबाट धेरै प्रयास भएको बताउँछन् । यस विषमा गम्भीर भएर लाग्दा पनि अझै निकास निकाल्न नसकिएको उनको भनाइ छ ।कूल ७ वटा वडा रहेको या गाउँपालिकामा २ नं वडा बाहेक अध्यक्ष उपाध्यक्ष र सबै वडामा तत्कालीन एमालेका उम्मेदवारहरु विजयी भएका थिए ।पार्टी नीति विपरीत काम गरेको भन्दै नेकपाले गाउँपालिकाका अध्यक्ष खड्कालई पार्टी सदस्यताबाट निलम्बन गरेको छ ।