काठमाडौं । नेपाल एयरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरू असन्तुष्ट रहेका थिए । उक्त विवेदको अन्य हुनुपर्ने भन्दै उनीहरूले राजीनामा बुझाएका हुन् ।
९० दिनको समयसीमा दिँदै उनीहरूले बिहीबार व्यवस्थापन समक्ष राजीनामा बुझाएको बताइएको छ । व्यवस्थापनले नेपाली स्थायी कर्मचारीलाई काममा बढी लगाउने तर, विदेशीलाई कम काम लगाउने र सेवा सुविधा धेरै दिएको आरोप उनीहरूको छ ।
‘३ महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने कि, नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने,’ पाइलटहरूले राजीनामा पत्रमार्फत व्यवस्थापनलाई २ विकल्प दिएका छन् ।
विदेशीले महिनामा ४६ घण्टामात्र जहाज उडाउँछन् । यता नेपाली पाइलटले भने महिनामा ९५ घण्टासम्म जहाज उडाउनु पर्छ ।
पाइलटहरूका अनुसार विदेशीले हप्तामा २ दिन छुट्टी पाउँछन् भने नेपालीले हप्तामा एकदिन मात्र छुट्टी पाउँछन् । त्यसमा कर पाइलट आफैले तिर्दै आएका छन् ।
विदेशीले महिनामा १५ लाख तलब पाउँछन् भने कर पनि व्यवस्थापनले तिरिदिएको छ । नेपालीले ५ लाख तलब मात्र पाउँछन् ।
४० जनामध्ये २५ जनाले राजीनामा दिइसकेका छन् भने अन्य पाइलटले पनि राजीनामा दिने बताइएको छ ।