• काठमाडौँ — सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसबीच विश्वविद्यालयका पदाधिकारी भागबण्डामा सहमति जुट्न सकेन । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब ३ घण्टा बसेको दुवै दलका शीर्ष नेताहरूबीच विश्वविद्यालयका पदाधिकारी भागबण्डामा सहमति जुट्न नसकेपछि बैठक निष्कर्ष विहीन बन्याे ।

     

    पदाधिकारी विहीन ६ विश्वविद्यालयमा नियुक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरूबीच शनिबार बिहान छलफल भएको थियो। छलफलमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकलगायत सहभागी थिए।
    कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयमा लामो समयदेखि उपकुलपति नियुक्त गरिएको छैन् । त्यस्तै,पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिसहित सेवा आयोगका अध्यक्ष र सदस्य पद रिक्त छन्। यी विश्वविद्यालयको शैक्षिक र प्रशासनिक वातावरण पदाधिकारी नियुक्त हुन नसक्दा अस्तव्यस्त बनेको छ।

     

     

    विश्वविद्यालयमा नियुक्तिबारे लामो छलफल भएको हो। प्रधानमन्त्रीले शुक्रबार नै दुवै दलका नेताहरूलाई विश्वविद्यालयमा नियुक्तिबारे छलफल गर्न बालुवाटार बोलाएका थिए। देउवाको कार्यव्यस्तताले शुक्रबार बैठक बस्न सकेन।

    '६ विश्वविद्यालयमा नेतृत्व छैन। कसले कति पाउने भन्नेमा छलफल भएपनि सहमति भएको छैन,' प्रधानमन्त्री निकट स्रोतले भन्यो, 'चाँडै सहमतिमा पुगेर विश्वविद्यालयहरूलाई नेतृत्व दिने भन्नेमा दुवै दलका नेता सहमत हुनुभयो।'

    विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा योग्य व्यक्ति ल्याउनुपर्नेमा छलफल भएको ती नेताले बताए। उनले भने, 'भागबण्डा भन्दा पनि उपयुक्त, क्षमतावान र योग्य व्यक्तिहरूलाई विश्वविद्यालयको पदाधिकारीमा नियुक्त गर्नुपर्छ भन्ने कुरा प्रधानमन्त्रीले छलफल राख्नुभएको छ।'

    नेकपा नेता नेम्वाङले भने प्रधानमन्त्रीले नियमित रूपमा संसदमा रहेका दलहरूसँग गर्दै आएको छलफलको पाटो अनुरुप नै शनिबार दुई दलका शीर्ष नेताबीच भेटघाट भएको बताए। उनले भने, 'दलका नेताहरूसँग प्रधानमन्त्रीको नियमित छलफल गर्ने नीतिअनुसार बैठक बसेको हो। संसदमा रहेका दलहरू त्यसमा पनि प्रमुख प्रतिपक्षसँग छलफल, सल्लाह गर्ने र समझदारी गर्ने भन्ने प्रधानमन्त्रीको सोच छ। भरसक सबै विषयहरूमा प्रतिपक्षी दलसँग छलफल गरेर अगाडि बढ्नुपर्छ भन्ने उहाँको सोच रहेको छ।'

    पछिल्लो समय प्रधानमन्त्रीले संसद र संसद बाहिरका कतिपय राजनीतिक विषयमा संसदमा रहेका दलहरूसँग समझदारी गरेर अगाडि बढ्न खोजेको नेम्वाङको भनाइ थियो। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका विधेयक अगाडि बढाउने सम्बन्धी सहमति र ती आयोगमा नियुक्तिपछि प्रधानमन्त्रीले प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्।

    प्रधानमन्त्रीले बोलाएको बैठकमा संसद संचालन र विश्वविद्यालयमा नियुक्तिबारे छलफल भएको कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले उल्लेख गरे। 'नेकपा र कांग्रेसबीच संसद संचालन र पदाधिकारी रिक्त रहेका विश्वविद्यालयमा नियुक्तिबारे छलफल भएको छ,' उनले भने, 'भोलिबाट संसद बैठक सुरु हुँदैछ त्यसबारेमा प्रधानमन्त्रीले बोलाएको बैठकमा छलफल भयो। विश्वविद्यालयहरूमा नियुक्तिबारे पनि छलफल भयो तर टुंगो लागेन।'

    प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख निर्वाचन हुँदैछ। सभामुखका लागि नेकपाका अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको छ। सभामुख घोषणा भएपछि कसरी अगाडि बढ्ने भन्नेबारे दुवै दलबीच छलफल भएको हो।

    विश्वविद्यालयहरूका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाल र कांग्रेस सभापति देउवासँग छलफल गरेपछि ती विश्वविद्यालयमा नियुक्ति प्रक्रिया अगाडि बढाउने तयारीमा छन्।

    पदाधिकारी रिक्त रहेका विश्वविद्यालयमा नियुक्तिका लागि सिफारिस समिति गठन गरिएका छन्। ती समितिहरूले इच्छुक र योग्य व्यक्तिहरूलाई विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…