बाहुण्डाँगी । भद्रपुर जेसीजको ४४ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह बिहीबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति भद्रपुरको सभा हलमा आयोजित समारोहमा भद्रपुर जेसीज सन् २०१९ का अध्यक्ष अनुज खतिवडाले सन् २०२० का नवनिर्वाचित अध्यक्ष डिल्लीराम पोखरेललाई जेसीज चेन पहिराउँदै पद हस्तान्तरण गरेका हुन् ।
माघ ११ गते भएको ४४ औ साधारणसभावाट अध्यक्ष पोखरेल सहित कार्यकारिणी उपाध्यक्षमा मनोज भट्टराई र मनोज तिम्सिना, उपाध्यक्षहरू क्रमशः युवराज न्यौपाने, आरीफ अलि, टिकाराम पाण्डे र रमेश लुईटेललाई प्रमाणपत्र दिँदै पद हस्तान्तरण गराइएको थियो । नवनिर्वाचित अध्यक्ष पोखरेलले वर्ष २०२० का लागि जेसीजका विभिन्न विभाग प्रमुखमा १५ जनालाई मनोनीत गर्दै जिम्मेवारी प्रदान गरेका छन् । मनोनीत हुने महासचिवमा निकास पाण्डे, कोषाध्यक्षमा रमेश कार्की , कानुनी सल्लाहकार युवराज ढकाल, सहसचिवमा रविन कार्की, जनसम्पर्क संयोजकमा सङ्गीता खतिवडा, सञ्चार संयोजकमा सन्तोषकुमार महतो लगायत रहेका छन् ।
कार्यक्रममा वर्ष २०१९ का अध्यक्ष खतिवडाले कार्यकालको अन्तिम मन्तव्य राख्दै स्वर्गीय पिता कृष्णप्रसाद खतिवडाको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष बालबालिकाको क्षेत्रमा सहयोग पुर्याउने एक व्यक्तिलाई पुरस्कृत गर्ने घोषणा गरे । सन् २०१९ को वर्ष उत्कृष्ट जेसीजबाट रमेश लुईटेल र रमेश कार्कीलाई जेसीज अवार्डबाट सम्मान गरिएको थियो । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद बानिया, प्रदेश सांसद ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । निकास पाण्डेले स्वागत तथा मनोज भट्टराईले आस्था वाचन गरेको कार्यक्रमको सञ्चालन प्रथम चरणमा डिल्लीराम पोखरेल र दोस्रो चरणमा निकास पाण्डेले गरेका थिए ।
