• काठमाडौं, २० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतले भ्रष्टाचार गरी आठ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपैयाँ आय नखुलेको सम्पत्ति आर्जन देखिएपछि २०७६ माघ १६ गते विशो अदालतमा मुद्दा दायर गरेको छ ।

    कार्यालय सहयोगी बस्नेतले राजस्व रसिद नै नक्कली छपाई गर्नेदेखि कानुन विपरीत छुट जग्गा दर्ता गरी अकूत सम्पत्ति आर्जन गरेको देखिएपछि उनीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ । करिब दस करोड रुपैयाँ उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको सम्पत्ति अख्तियारले फेला पारेको छ ।

    तर, कार्यालय सहयोगी बस्नेतले सरकारी जग्गा हकदाबीका सूचना प्रकाशित गर्ने र आफ्ना मानिसको नाममा निवेदन हाल्न लगाएर दर्ता गरेका पचासौं कित्ताको बारेमा अख्तियारले अझै पनि खोजी गरेको छैन । कार्यालय सहयोगी बस्नेत विगत १७ वर्षदेखि चाबहिल मालपोत कार्यालयमा कार्यरत थिए ।

    उनको सरुवा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष गथ्र्यो तर उनी कहिले मन्त्री, सचिवहरु प्रयोग गरी बदर गराउँथे त कहिले सर्वोच्च अदालतमा रिट हाली अन्तरिम आदेश गराउँथे । दर्जाले कार्यालय सहयोगी उनी कार चढेर कार्यालय आउँथे, अधिकृतदेखि कार्यालय प्रमुखलाई काम अह्राउने गर्दथे ।

    कार्यालय प्रमुखको सरुवा नै उनकै योजनामा हुन्थ्यो । चाबहिल मालपोत कार्यालयमा सरुवा गराउन अधिकृतहरु उनको सोर्सफोर्स लगाउँथे । यस्तो हैकमा जमाएर बसेका उनका विरुद्ध गैरकानुनी श्रेस्ता तयार गरी जग्गा दर्ता गरेर बिक्री वितरण गरेको आरोपमा अख्तियारले २०७४ भदौ १४ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    चाबहिल मालपोत कार्यालयका बस्नेत सहति १० कर्मचारीसमेत ५४ जनाविरुद्ध मुद्दा दायर भएपछि उनी दुई वर्षदेखि निलम्बनमा थिए । उक्त जग्गा दर्ताका डिजाइनर उनै बस्नेत नै थिए । अरु कर्मचारी उनको लहलहैमा पर्दा मुद्दा खेप्नेमा परेका छन् ।

    शक्ति र पैसाको आडमा जे जस्ता काम गर्दा पनि छुट पाइन्छ भन्ने भ्रम पाल्दा कार्यालय सहयोगी बस्नेतका विरुद्ध करिब दस करोड गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्दा दायर भइसकेको छ । कार्यालय सहयोगी बस्नेत एक उदाहरण हुन्, चाबहिल मालपोत कार्यालयमा आठ वर्षदेखि कार्यरत खरिदार लक्ष्मण बस्नेतले पनि भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेका थुप्रै उजुरी अख्तियारमा छन् ।

    उनलाई आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतले शुभलाभ लिएर संरक्षण गर्दै आएका थिए । पियन बस्नेतले मालपोत कार्यालय चाबहिलमा गरेका काण्डहरुको नालीबेलीमध्ये केही यस्ता छन् : २०७५ भदौ अन्तिममा ललितपुरका चन्द्रकृष्ण कायस्थको बुढानीलकण्ठमा रहेको करोडौं मूल्य पर्ने घडेरी किर्ते गरेर बेचबिखन गरेको प्रकरणमा मालपोत कार्यालय चाबहिलका प्रमुख कमल तिमल्सिनालगायत कर्मचारीमाथि अख्तियारले मुद्दा दायर गर्यो ।

    चाबहिल मालपोत कार्यालयका तत्कालीन कामु प्रमुख पदम अर्याल र खरिदार लक्ष्मण बस्नेत मिलेर दर्ता बाँकी जग्गा सरकारको निर्णयबेगर नै धुमाधम दर्ता गरे तर उनीहरुलाई कारबाही हुन सकेन । छानबिन भएन । चाबहिल मालपोत कार्यालय अन्तर्गत साविक गोठाटार, बालुवा, मूलपानी, विष्णु बुढानीलकण्ठ गाविसमा दर्ता हुन बाँकी धेरै जग्गा थिए ।

    ती जग्गा बस्नेतले कार्यालय प्रमुखसँग मिलेर दर्ता गरेको आरोप छ । यस्ता जग्गाहरु गैरकानुनी श्रेस्ता तयार गरी दर्ता गरेर बिक्री वितरण गरेको आरोपमा अख्तियारले चाबहिल मालपोत कार्यालयका दस कर्मचारीसहित ५४ जनाविरुद्ध २०७४ भदौ १४ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    इन्स्पेक्टरको पनि अकूत सम्पत्ति ?
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सेवामा कार्यरत रहँदा पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गर्नेहरुको विरुद्ध अनुसन्धान गरी मुद्दा दायर गर्ने गरेको छ । अख्तियारमा परेका उजुरी र विभिन्न सूचनाका आधारमा गैरकानुनी रुपमा भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्तिको छानबिन हुने गरेको छ ।

    अकूत सम्पत्ति आर्जन गर्ने माथिल्लो पदका मात्र हुन्छन् भन्ने छैन । निजामती सेवामा कार्यालय सहयोगी राजेन्द्र बस्नेतले भ्रष्टाचार गरी दस करोड रुपैयाँ स्रोत पुष्टि नहुने सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले २०७६ माघ १६ मा विशेष अदालतमा अकूत सम्पत्ति आर्जन गरेको उजुरी अख्तियारमा परेको छ ।

    हाल महानगरी ट्राफिक प्रहरी वृत्त महाराजगंजका प्रमुख रहेका इन्स्पेक्टर भारतीले इलाका प्रहरी कार्यालय काँकडभित्ता झापामा कार्यरत रहँदा भन्सार छली गर्ने व्यापारीसँग मिलेर अकूत सम्पत्ति आर्जन गरेकाले छानबिन गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ ।

    २०७६ माघ ८ मा परेको दर्ता नम्बर ७६७७ सी २२६१९ दर्ता नम्बरको उजुरीमा बा १५ च ९६५८ नम्बरको हुन्डाई ग्रान्ड कार, मोटरसाइकल दुई वटा, काठमाडौं चाबहिल गोपीकृष्ण हल पछाडि घर, भक्तपुरको बोडेमा जग्गा, नख्खु ललितपुरमा जग्गा, नयाँ बानेश्वरको हिमालय ज्वेलर्सलाई ८० लाख ऋण दिएको नेपाल इन्भेष्टमेन्ट बैंकमा ६० लाख नगद रहेको उल्लेख छ ।

    इन्स्पेक्टर भारतीको नाममा नेपाल बैंकमा पनि ९० लाख र सिटिजन्स बैंकमा ६० लाख रुपैयाँ रहेको उजुरीमा उल्लेख छ । उनले यी सम्पत्ति श्रीमती र छोराका नाममा पनि राखेको दाबी गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभित्तामा कार्यरत रहनु अघि उनको नाम रहेको सम्पत्ति र हालको सम्पत्ति छानबिन गर्न माग गरिएको छ ।

    काँकडभित्तामा सरुवा हुनुअघि उनको आर्थिक अवस्था सामान्य रहेको थियो । तर, काँकडभित्तामा सरुवा भइसकेपछि उनको आर्थिक स्थिति दिन दुई गुणा रात चौगुणाले बढेको उजुरीकर्ताले जनाएका छन् । उजुरीमा भारतीले छोरालाई अष्ट्रेलिया पठाउँदा २० लाख खर्च गरेको र बैंक ब्यालेन्स ४४ लाख देखाएको पनि उल्लेख छ ।

    आर्थि वर्ष २०७५–०७६ मा अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेका १२ वटा मुद्दा विशेष अदालतमा दर्ता गरेको छ । सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख सुरेश ठाकु र र उनकी श्रीमती अनिता ठाकुरले गैरकानुनी रुपमा भ्रष्टाचार गरी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले २०७५ असोज २१ म मुद्दा दायर गरेको छ ।

    यातायात व्यवस्था विभागका पूर्व महानिर्देशक चन्द्रमामान श्रेष्ठ, उनकी श्रीमती जमुना तुण्डुकार र अमेरिका बस्ने नवलपरासीकी भगवनी योगीविरुद्ध पनि मुद्दा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

    त्यसका अलावा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने कार्यमा संलग्न रेडियो अपरेटर श्याकृष्ण च्वामु श्रेष्ठ, उनका बाबु ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाई रामकृष्ण श्रेष्ठ, बुहारी रविना प्रधान, श्रीमतीहरु तारादेवी श्रेष्ठ र रेखा श्रेष्ठसमेतका विरुद्ध अकूत सम्पत्तिमा मुद्दा दायर गरेको छ ।

    त्यस्तै अर्थमन्त्रालयका उपसचिव रामजी रिजाल र उनकी श्रीमती स्वस्थानी रिजाल, राजस्व समूहकै शाखा अधिकृत मानप्रसाद विक र श्रीमती आइतमाली विक, यातायात कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीलाई पनि भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

    त्यस्तै भन्सार कार्यालय कन्चनपुरका नासु रामप्रसाद भुट्टराई र अध्यागमन कार्यालय एयरपोर्टका नासु ललितनारायण झाका विरुद्ध पनि अकूत सम्पत्तिमा मुद्दा दायर गरिएको छ, साँघुमा उल्लेख छ ।

    त्यस्तै सहायक वन अधिकृत विनोदकुमार सिंह, आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का, उनकी श्रीमती शर्मिला खड्का, अमिता लामा र सीजी डेभलपर्सविरुद्ध पनि अकूत सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको छ । अख्त्यिारले पछिल्लो दुई महिनाका बीचमा राजस्व समूहका उपसचिव कृष्ण बस्नेत, राजेन्द्र ढुंगाना विरुद्ध पनि गैरकानुनी रुपमा भ्रष्टाचार गरी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…