काभ्रे। आत्महत्या विश्वभर जनस्वास्थ्यको सवाल बनेको छ । नेपाली समाजमा पछिल्लो समय आत्महत्याका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको विवरणमा उल्लेख भएनुसार जिल्लामा नैराश्यताका कारण आत्महत्या बढ्दै गएको देखिएको हो ।
कार्यालयको तथ्यांकनुसार १८ जना गरिबीका कारण, १६ जना दिर्घरोगी, ६ जना प्रेममा असफलताका कारण, ३५ जना नैराश्यता, ९ जना मानसिक असन्तुलनका कारण र ५ जना घरेलु हिंसाका कारण जिल्लामा आत्महत्याका घटना भएका थिए । यस्तै, आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या वृद्धि भएको एक तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको आर्थिक वर्ष २०७५ र २०७६ को वैशाखसम्मको तथ्यांकमा जिल्लामा भएका ८९ आत्महत्याको घटनामा पुरुषको संख्या बढी छ ।
तथ्यांकमा उल्लेख भएनुसार ५१ जना पुरुष, ३६ जना महिला र दुई जना बालिकाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्राप्त तथ्यांकनुसार यस आवमा भएका आत्महत्याका घटनाको उमेर समूहलाई हेर्दा ३६ देखि ४५ वर्ष उमेर समूहका धेरै देखिन्छ । आव २०७५/७६ मा विष खाएर २८ र झुन्डिएर ६१ जनाले आत्महत्या गरेका थिए । पेसागत रूपमा तथ्यांकलाई हेर्दा कृषकले बढी आत्महत्या गरेको देखिन्छ । तथ्यांकनुसार नोकरीमा आबद्ध एक, कृषिमा आबद्ध ४५, व्यापारी दुई, विद्यार्थी १५ र अन्यमा २५ जनाले आत्महत्या गरेका थिए । तथ्यांकमा उल्लेख भएनुसार जातजातितर्फ १४ जना ब्राह्मण, १८ जना क्षेत्री, ४४ जना जनजाति र १३ जना दलितद्वारा आत्महत्या भएको थियो ।
बैवाहिकताका आधारमा हेर्दा विवाहितबाटै बढी आत्महत्या भएको देखिन्छ । तथ्यांकमा उल्लेख भएनुसार ५८ जना विवाहित र १० जना अविवाहितले आत्महत्या गरेको देखिन्छ । घटनाको प्रकृतिमा विष खाएर र झुन्डिएर आत्महत्या हुने गरेको पाइएको छ ।
आत्महत्याको एउटै कारण सबैै व्यक्तिमा लागू हुन्छ भन्ने हुँदैन । उदासीनता, रक्सी र अन्य लागूऔषधको दुरुपयोग, दीर्घरोगी, मानसिक स्वास्थ्य समस्या, द्वन्द्व, घरेलु हिंसा, आफन्तको मृत्यु, गरिबी, बेरोजगारी, मायामा धोका, पढाइमा असफलजस्ता कारणले व्यक्ति आत्महत्याको तहमा पुग्ने मानव अधिकारकर्मी बताउँछन् । प्रत्येक आत्महत्या व्यक्तिगत समस्याका कारण फरक हुन्छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक बर्सेनि ८ देखि १० लाख मानिसले आत्महत्याको बाटो रोजिरहेका छन् । आत्महत्या गर्नेमा नेपाल विश्वमा सातौं स्थानमा पर्छ भने महिलामा तेस्रो स्थानमा पर्ने संगठनको प्रतिवेदनले देखाएको छ । हरेक वर्ष विश्व स्वास्थ्य संगठनलगायतका संस्थाले विभिन्न कार्यक्रम गर्दै आए पनि आत्महत्या रोकथाम न्यूनीकरण भने हुन सकेको छैन ।
(राजधानी दैनिकबाट)