काठमाडौं। निवर्तमान गृहसचिव राईले आफू सेवानिवृत्त हुँदैगर्दा गृह मन्त्रालयमा रहँदा २२ महिनाको अवधिमा गरेको कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् । उनले पद हस्तान्तरण तथा बरबुझारथ प्रतिवेदनसहितको कार्यविवरण सार्वजनिक गरेका हुन् ।
सो प्रगति विवरणनुसार २२ महिनाको अवधिमा संविधान र कानुनविपरीतका विध्वंसात्मक गतिविधि नियन्त्रण तथा न्यूनीकरण गरिएको, विखण्डनकारी क्रियाकलाप गर्ने कथित स्वतन्त्र मधेस गठबन्धनलाई राजनीतिक मूलधारमा ल्याइएको, राजमार्गमा हुने अवरोध तत्काल हटाई सुचारु गर्ने व्यवस्था मिलाइएको, सिंहदरबार सुरक्षाको गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याइएको छ । सो अवधिमा सुन तस्करीको संगठित जालो तोडिएको छ भने शान्ति सुरक्षामा व्यापक सुधार आएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
– ५३ जिल्लामा आपत्कालीन कार्यसञ्चालन केन्द्र
– विभिन्न २७ वटा कानुन तर्जुमा
– नेपाल प्रहरीमा ३० इकाई थप
– १८८ प्रहरी इकाई स्वीकृत
– दुवै प्रहरीमा सरुवा र बढुवा नियमित गरिएको
– प्रहरी आचरणका सम्बन्धमा २ हजार ३९२ पटक अनुगमन
– ९ हजार ७८६ प्रहरीलाई विभागीय कारबाही
– सशस्त्र प्रहरीतर्फ ३२३ लाई कारबाही
– ७५३ सेवाकेन्द्रको स्थापना
– अध्यागमन सुधार, कारागार सुधार
– सशस्त्रमा १६ गुल्म थप
गृहसचिवका कार्यकालका अन्य उपलब्धिमा ‘हाम्रो एक दिन’ कार्यक्रमअन्तर्गत प्रहरीको भौतिक उपस्थितिको दर १३ दशमलव २५ प्रतिशतले वृद्धि गरिएको, धार्मिक जातीय तथा साम्प्रदायिक आवरणमा हुने द्वन्द्व र विद्वेषलाई नियन्त्रण गरिएको छ । यसै अवधिमा झुटा विवरण लिएर नागरिकता बनाउने २० जना विदेशीको नागरिकता रद्द गरिएको छ ।
यसैगरी, अपराध नियन्त्रणअन्तर्गत सुन तस्करीको संगठित तथा आपराधिक सञ्जाल तोडिएको, अपराध अनुसन्धानका लागि दुईवटा प्रदेशमा डिजिटल फोरेन्सिक ल्याब स्थापना गरिएको, साइवर अपराध तथा मानव बेचविखनसम्बन्धी अनुसन्धान गर्ने छुट्टै ब्युरो स्थापना गरी सञ्चालनमा ल्याइएको, साइबर अपराधमा संलग्न १२२ जना चिनियाँलगायत अन्य विदेशीलाई कानुनी कारबाही गरिएको छ ।
गृहसचिव राईद्वारा जारी गरिएको प्रगति प्रतिवेदनअनुसार लागूऔषध अवैध ओसारपसार नियन्त्रणका क्रममा ७ हजार ३७४ जनालाई पक्राउ गरी ४ हजार ८७४ वटा मुद्दा दर्ता गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको, १४ हजार ८८६ केजी लागूऔषध बरामद गरिएको छ ।
यसैगरी, सो अवधिमा भौतिक संरचनाको मर्मतसम्भार सुधार कार्यलाई तीव्रता दिइएको छ । यसैगरी, मन्त्रालय र मातहतका निकायमा रहेको कुल बेरुजुको ७३ प्रतिशत फछ्र्यौट गरिएको छ । यसैगरी, हेलिकोप्टरबाट ६४ वटा आपतकालीन उद्धार उडानको व्यवस्था गरी १८ जना सुत्केरीसहित १२७ जनाको उद्धार गरिएको छ ।
(राजधानी दैनिकबाट)