झापा / झापाको विर्तामोडमा गुप्ताङ्ग काटेर जलाएको अवस्थामा शव फेला परेको बारे अनुसन्धान गर्न प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ।
शव भारत विहार राज्यस्थित अररिया घर भई हाल बिर्तामोड २ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय सुभान शेखको हुनुपर्ने आशंकामा प्रहरीले उनकै परिवारका तीन सदस्यलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको हो।
प्रहरीले सुभानका ससुरा रहमान, सासू रहाना शेखसहित उनकी श्रीमती शुष्मा शेखलाई मंगलबार नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका तीनैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर सोधपुछ गरिएको प्रहरीले जनाएको छ।
शुष्माका श्रीमान् हराउनु र परालमा जलेको अवस्थामा शव फेला पर्नुले शव सुभानकै भएको आशंका गरिएको हो। अनैतिक सम्बन्धले घटना हुन सक्ने प्रहरीको आशंका छ। बिर्तामोड २ चारपाने निवासी ऐनकुमार राजवंशीको खेतमा राखेको पराल कुन्यूमा सोमबार जलेको अवस्थामा शव फेला परेको थियो। घटनास्थलनजिकै पुरुषको अण्डकोषसहितको गुप्ताङ्ग काटेर फालिएको थियो।
शव पहिचानका लागि उनकी श्रीमती शुष्मा शेखसहित परिवारका तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको र घटना अनुसन्धानकै क्रममा रहेको प्रदेश १ का प्रहरी प्रवक्ता एसएसपी शेखर कोइरालाले बताए।