बेलबारी । स्थानीय निकायहरुमा दमकल (बारुणयन्त्र) नहुँदा आगलागीका घटनाबाट बर्षेनी ठुलो धनजनको क्षति भईरहेको अबस्थामा मोरङको बेलबारी नगरपालिकाले नयाँ दमकल खरिद गरेको छ ।
बेलबारी बर्षेनी आगलागीका घटना बढिरहेका बेला स्थानीय निकाय आफै सँग दमकल नहुँदा छिमेकी सुन्दरहरैचा नगरपालिका र ईटहरी उपमहानगरपालिकाको भर पर्नुपर्ने अबस्था रहेको थियो । सोही अबस्थालाई मध्यनगर गर्दै बेलबारी नगरपालिकाले नयाँ दमकल खरिद गरी सोमबार कार्यलयमा ल्याईसकिएको नगरपालिकाका प्रबत्ता तथा बेलबारी वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र सुवेदीले बताए ।
गत आर्थिक बर्षको नगरसभाबाटै दमकल किन्ने प्रस्ताव पारित भएको र सोही बमोजिम ७० लाख रुपैयामा नयाँ दमकल खरिद गरिएको उनले बताए । बेलबारीमा अर्को पनि दमकल आउने तयारीमा रहेको छ । सो दमकल क्यानेडिन कम्पनीले निशुल्क उपलब्ध गराउने भएको छ । दमकल केही महिना भित्रकै बेलबारीमा आउने सुवेदीले बताए ।
दमकल सञ्चालनका लागि तत्काल नयाँ कर्मचारी नखटाईएको र नगरपालिकामा भएकै कर्मचारी खटाएर सञ्चालन गरिने समेत उनले बताए । दमकल सञ्चालन गर्न ठुलो खर्च आबश्यक हुने भएका कारण खर्च धान्न भएकै कर्मचारीबाट दमकल सञ्चालन गरिने सुवेदीले बताए ।