काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले संसदीय दलका उपनेता उपसभापति विजयकुमार गच्छदारको मुद्दाप्रति असन्तुष्टि जनाउँदै संसद अवरुद्ध गर्दै आएकोमा अब अवरोध नगर्ने जनाएको छ ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुषालले राजद्रोहको मुद्दा लाग्दा कांग्रेस संस्थापक विपी कोइरालाले अदालतमा उपस्थित भई न्यायप्रणालीलाई सम्मान गर्दै लडाईँ लडेको उल्लेख गर्दै आफूहरू कानुनको पालक भएको बताइन् ।‘सभामुखज्यूले भनेझैँ गच्छदारको मुद्दा अदालतमा विचाराधीन छ, नेपाली कांग्रेस लोकतान्त्रिक, संसदीय र न्याय पद्धतिमाथि विश्वास गर्ने पार्टी हो, त्यसैअनुरुप कांग्रेसले आजको संसद अवरोध गर्दैन्,’ भुषालले भनिन् ।
उनले अख्तियार र संवैधानिक अङ्गहरू सरकारको प्रभावमा परेर निर्णय गर्ने र छायाँ बन्ने प्रयास गरेमा पुनः संसदमा अवरोध गर्ने चेतावनी समेत दिइन् । उनले राजनीतिक प्रतिशोधपूर्ण तवरले संवैधानिक निकायले निर्णय गर्नु सरासर गलत भएको जिकीर गरिन् ।