सिन्धुपाल्चोक, २९ माघ । नोबल कोरोना भाइरसका कारण सर्वसाधारण त्रसित बनेको अवस्थामा सिन्धुपाल्चोकमा कोरोना भाइरस सं’क्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् ।
गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।
सं’क्रमित भेटिएको स्थान चीनसँगको सीमानजिकै पर्छ । यद्यपि, चीनसँग आवतजावत गर्ने बाटो भने त्यहाँ छैन ।
गुम्बाबस्तीका केहि व्यक्तिमा कोरोना भाइरसका बिरामीमा जस्तो लक्षण देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले अनलाइनखबरलाई जानकारी दिए ।
बिकका अनुसार, स्थानीय स्वास्थ्य चौकीको सम्पर्कमा पुगेका त्यस्ता बिरामीले औषधि सेवन गरे पनि निको भएको छैन । संक्रमित सबै बिरामी घरमै रहेको उनले जानकारी दिए ।