•  

    काठमाडौं । व्यस्त बन्दै गएको राजधानी काठमाडौंमा पैदल यात्रु दिन प्रतिदिन असुरक्षित हुने क्रम बढेको छ । चालकले ट्राफिक नियमको पालना नगर्नु, मदिरा सेवन गरेर सवारी चलाउनु, लापर्बाही किसिमले चलाउनु र सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसक्नुलगायतका कारणले पैदल यात्रु दुर्घटनाको चपेटामा पर्ने क्रम बढेको हो ।

    पैदल यात्रु दुर्घटनामा घाइते भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सवारी क्षतिपूर्ति दिलाइ पाऊँ भन्दै निवेदन दिनेको संख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा क्षतिपूर्ति लिन आउनेको संख्या २५ प्रतिशत रहेकामा २०७६/७७ को माघ महिनासम्ममा नै त्यस्तो उजुरी गर्नेको संख्या २५ भन्दा बढी पुगेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ मा सवारी साधनले गराएको क्षतिपूर्ति प्रमुख जिल्ला अधिकारीले पीडकबाट भराइदिनुपर्ने कानुनी व्यवस्था छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडांैका प्रवक्ता जीवनप्रसाद आचार्यले अघिल्लो वर्षको तुलनामा यस वर्ष क्षतिपूर्ति उपलब्ध गराइपाऊँ भनी निवेदन दिनेको संख्या अत्यधिक बढेको बताए । प्रवक्ता आचार्यले भने, ‘मदिरा सेवन र तीव्र गतिमा चलाउनु नै दुर्घटनाको कारण हो ।’ समग्रमा हेर्दा ट्राफिक नियमको पालन नगर्नु नै सवारी दुर्घटनाको मुख्य कारण देखिन्छ,’ प्रवक्ता आचार्यले भने । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार ६० प्रतिशत दुर्घटनामा सवारीसाधनले पैदल यात्रीलाई ठक्कर दिने गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयअनुसार दुर्घटनाको क्षतिपूर्ति तिर्न प्रतिवादी उपस्थित नहुने, उपस्थित हुनेले पनि तिर्न नमान्ने गरेका छन् । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ मा घाउ खर्च, किरिया खर्च र क्षतिपूर्ति जिल्ला प्रशासन कार्यालयले पीडक पक्षलाई भराइदिने व्यवस्था गरिएको छ ।
    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ दफा (१) मा सवारी दुर्घटनाबाट कुनै पक्षलाई कुनै पनि किसिमको हानि नोक्सानी पुग्न गएमा पीडित पक्षलाई प्रमुख जिल्ला अधिकारीले घाउ खर्च र क्षतिपूर्तिको रकम चालक, सवारी धनी वा व्यवस्थापकबाट भराइदिनुपर्ने व्यवस्था छ ।

    घटना १

    गत पुस ९ गते बिहान लिलेन्द्र राईले चलाएको पल्सर मोटरसाइकल पछाडि बस्ने हिल्लारी राई घाइते भइन् । स्रोतका अनुसार उनीहरू राति नाइट क्लबमा मदिरा सेवन गरी बिहान घर फर्किने क्रममा दक्षिण ढोकानेर दुर्घटनामा परे । दुर्घटना हुँदा मोटरसाइकल चालक राईले घाइते अवस्थामा रहेकी हिल्लारी राईलाई त्यही नै छोडी हिँडेको आरोप हिलारीको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जाहेरवाला घाइतेकी आमाले प्रतिवादी मोटरसाइकल चालकबाट उपचार खर्चबापत ९ लाख ४२ हजार ३२ रुपैयाँ माग दाबी गरेकी छन् ।

    घटना २

    गत २१ असोजको राति ८ बजे नेत्रविक्रम श्रेष्ठले चलाएको ट्याक्सीले सुरेश नेपालीले चलाएको मोटरसाइकललाई ठक्कर दिएको दियो । मोटरसाइकल पछाडि बसेका दीपक नेपालीको मृत्यु र सुरेश नेपाली घाइते भए । त्यसमा ट्याक्सी चालक नेत्रविक्रम श्रेष्ठले अध्यधिक तीव्र गतिमा चलाएको पाइएको थियो । अहिले मृतकका आफन्तले क्षतिपूर्तिबापत ५ लाख र उपचार खर्च ९ लाख ५ हजार ७२ रुपैयाँ मागदाबी गरेका छन् ।

    घटना ३

    गत ८ मंसिरको बिहान ६ बजेर १५ मिनेट जाँदा नयाँ बानेश्वरमा पैदल बाटो काट्दै गर्दा एक गाडीले डा. प्रभुप्रसाद जोशीलाई ठक्कर दियो । तर, चालकले गाडी लिई फरार भए । घटनास्थल नजिकै पूर्वतर्फ जडान भएको सीसीटीफीले पनि स्पष्ट कभर गर्न सकेन । तर, पर्यटन बस भन्ने थाहा भयो । तीनकुने, कोटेश्वर, भक्तपुरको सूर्य विनायकलगायतको सीसीटीटीले पनि कभर गरेन । तर, भक्तपुरको सूर्य विनायकस्थित महानगरीय प्रहरी कार्यालयको सीसीटीभी फुटेजबाट यकिन भएको हुनाले प्रहरीले पहिल्याउँदै जाँदा रामेछापको चारधर्रे भन्ने ठाउँबाट बा३ख ६१४ नम्बरको टुरिस्ट लेखिएको बसका चालक बुद्धिकुमार कोजुलाई फेला पारिएको थियो । बसमा प्रमाण लुकाउन अगाडिको भागमा पुटिङ
    गरिएको थियो ।
    (राजधानी दैनिकबाट)

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …