काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले २ वर्षमा तीब्र विकास गरिरहेको दावी गरेका छन् ।
शनिवार सरकारले २ वर्ष पूरा गरेको अवसरमा प्रतिनिधि सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व गरेपछि ३ हजार ६ सय ३६ किलोमिटर सडक कालोपत्रे भएको बताएका छन् । ३ हजार ५ सय ७८ किमी सडक ग्राभेल सडक निर्माण भएको, ३ सय २५ सडक पुल निर्माण भएको र यो वर्ष मात्रै ४० पुल बनेको ओलीको भनाइ छ । उनले भने–‘यो सरकार बनेपछि दैनिक ६ किलोमिटरका दरले कालोपत्रे भइरहेको छ ।’
६ सय भन्दा बढी तुइन विस्थापन भएको तथा अब डेढ दर्जन हाराहारीमा तुइन विस्थापन गर्न बाँकी रहेको पनि उनले उल्लेख गरे ।
उनले विश्वमा तीब्र आर्थिक बृद्धिदर हासिल गरिरहेका देशहरु मध्ये नेपाल उत्कृष्ट १० भित्र रहन सफल भएको पनि बताए ।
उनले देशमा कोही बेरोजगार नरहेको बताउदै भने–‘श्रमशक्ति बढेको जतिलाई रोजगारी थपिएको छ । अहिले नयाँ बेरोजगार थपिएका छैनन् । श्रम मन्त्रालयले अहिले बेरोजगारहरुको तथ्याङ्क संकलन गरिरहेको छ ।’
उनले बैकहरुको शाखा ९ हजार ३ सय पुगेको बताउँदै सरकारले थालेको ‘खोलौं बैक खाता’ अभियान मार्फत डेढ लाख नयाँ खाता खुलेको प्रगति पेश गरे ।
देशमा लगानीको वातावरण रहेको बताउँदै विदेशी तथा आन्तरिक लगानी प्रतिबद्धतामा उत्साह बढेको जानकारी गराए ।
यस्तै ६ दशमलव १ प्रतिशतले ब्यापार घाटा घटेको बताउँदै ओलीले भारतसँग ६८ प्रतिशत र अन्य देशसँग ३२ प्रतिशत व्यापार हुनेमा अहिले भारत बाहेकका देशसँग ४० प्रतिशत व्यापार भइरहेको उल्लेख गरे ।
दुध, अण्डा, माछा मासुको उत्पादनमा देश आत्मनिर्भर भएको पनि प्रधानमन्त्री ओलीको दावी छ ।