विराटनगर, ४ माघ / मोरङको ग्रामथान गाउँपालिकामा आज दिउँसो बम विष्फोट भएको छ । ग्रामथान ६ खोरियाटोलका दुर्गाबहादुर रोक्काको खेत बम विष्फोट हुँदा उनका छोरा १८ वर्षीय एकराज रोक्का गम्भीर घाइते भएका छन् ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्ष अरुणकुमार बिसी जानकारी दिए । घाइतेको अनुहार र मुखमा चोट लागेको छ भने दुईवटा दाँत भाँचिएको प्रहरीले जानकारी दिए । घाइतेको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार खेतमा तोरी उखेल्दै गर्दा एकराजले टिनको बट्टामा टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु फेला पारेका थिए । बट्टामा बाँधेको वस्तु खोलेर हेर्ने खोज्दा विष्फोट भएको प्रहरीले जनाएको छ ।
एकराजसंगै अन्य चार जना पनि तोरी उलेल्ने काम गरिरहेका थिए । प्रहरीका अनुसार विष्फोटमा परेर घाइते भएपछि काम गरिरहेका अन्यले उपचारका लागि उनलाई अस्पताल पु¥याएका थिए । हातले बनाइएको आईडी (एम्प्रोभाईज एक्सप्लोसिभ डिभाई) नामक बम विष्फोट भएको प्रहरीले जनाएको छ । बिसीका अनुसार त्यसलाई डिब्बा बम पनि भनिन्छ ।
घटनास्थलमा अन्य दुईवटा बम पनि फेला परेका थिए । बमलाई मोरङको थलाहाबाट पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले दिउँसो २ बजे डिस्पोज गरेर अन्य क्षति हुनबाट जोगाएको छ ।
‘मानिसहरुको आवतजावत नहुने एकान्त ठाउँमा रहेको खेत लगेर बम राखिएको पाइयो,’ एसपी बिसीले भने, ‘डिब्बा बम भए पनि शक्तिशाली विष्फोट भएको पाइयो ।’ यो बम छुने वित्तिकै विष्फोट हुने प्रकृतिको रहेको प्रहरीले जनाएको छ । ‘यो एकदमनै जोखिमवाला चिज हो,’ प्रहरी स्रोतले भन्यो, ‘काहीं अपराधिक घटना गराउने योजना बुनिरहेको समूहले बम खेतमा छाडेर हिंडेको हुन सक्छ ।’
एसपी बिसीले लुटपाट, चन्दा असुली लगायतका अपराधिक समूहमा आवद्ध भएकाले सुनसान ठाउँमा बम राखेको हुन सक्ने बताए ।
यसैबीच नोवेल मेडिकल कलेजमा उपचार गराईरहेका घाइतेको फोटो खिच्न पुगेका संचारकर्मीलाई त्यहाँका स्वास्थ्यकर्मी र कर्मचारीले दुरव्यवहार गरेका छन् । उपचारका लागि अस्पतालमा राखिएका घाइते रोक्काको फोटो खिच्ने क्रममा दन्त रोग विभागका स्वास्थ्यकर्मीले संचारकर्मीको क्यामेरा नियन्त्रणमा लिने प्रयास गर्दै फोटो मेटाउन दवाव दिएका थिए ।
तर अस्पतालका प्रवन्ध निर्देशक सुनिल शर्माले भने नजानेर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गल्ती गरेको बताउँदै आगामी दिनमा यस्तो कमिकमजोरी दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।