काठमाडौं, ४ फागुन । फ्लाइट डिले भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार विहान सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको जम्काभेट भएको छ ।
आइतबार बिहान प्रचण्ड र भट्टराई बेग्लाबेग्लै कार्यक्रममा जान विमानस्थल पुगेका थिए । झन्डै ३ घण्टा प्लेन उड्न ढिलो भएपछि प्रचण्ड र बाबुरामबीच विमानस्थलमा भेट भएको हो ।
बाबुरामले प्लेन उड्न ढिलो भएको भन्दै प्रचण्डसहित नेताहरूको फोटो ट्वीट गरेका छन् । उक्त फोटोमा गृहमन्त्री रामबहादुर थापा बादल पनि देखिन्छ ।
‘सात बजे उड्नुपर्ने प्लेन १० बजेसम्म उडेको छैन । एयरपोर्टमा घण्टौं कुर्दाको फाइदा चाहिँ सबै पार्टीमा छरिएका साथीहरूसँग भेटघाट र गफगाफ गर्न पाइने,’ भट्टराईले ट्वीट गरेका छन्, ‘नकारभित्र सकार भनेको सायद यही हो । अथवा चित्त बुझाउने मेसो ।’
भट्टराईका सहयोगी रोशन पोखरेलका अनुसार अहिले भट्टराई पोखरा पुगिसकेका छन् । पिएन क्याम्पसमा भातृ विद्यार्थी संगठनले गरेको कार्यक्रममा भाग लिन भट्टराई पोखरा पुगेका हुन् ।
यता प्रचण्ड भने प्रदेश नम्बर ५ स्तरीय नेकपा पार्टी नेता/कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम रहेको नेकपाले जनाएको छ ।