काठमाडौं : तामाङ समुदायले नयाँवर्ष २८५४ औं अर्थात सोनाम ल्होछार भव्यताका साथ काठमाडौंमा मनाएका छन् । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने चलन छ ।
‘ल्होछार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ’सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वका साथ ल्होछार मनाउँदै आएका छन् । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुँगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरी मनाउने प्रचलन छ ।
यस वर्षको ल्होछार काठमाडौको भृकुटीमण्डपमा भव्यरूपमा विशेष कार्यक्रममा गरी मनाएका छन् । ल्होछार मनाउन भृकुटीमण्डपमा तामाङ समुदायका हजारौँ मानिसहरुको उपस्थिती थियो ।
सो अवसरमा आ–आफ्नो भेषभुषामा सजिएका तामाङ समुदायले झाँकी तथा गीत संगित प्रस्तुत गर्दै एकआपसमा शुभकामना आदानप्रदान तथा खुसियाली साटासाट गरेका छन् ।