काठमाडौं, ५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दुई वर्ष पुरा गरेको छ । तर, यस सरकारमा रहेका केही मन्त्रिपरिषद् सदस्यहरुको कार्यशैली र व्यवहार सहज नभएको पाइएको छ ।
आफ्नो जिम्मेवारी र कार्यसम्पादनमा औसत देखिएका यस्ता मन्त्रीहरु र मन्त्रालयगत कार्यभारलाई उपलब्धिमूलक बनाउने दिशामा कमजोर मात्र होइन, बाह्य संघ संस्था र व्यक्तिहरुको स्वार्थमा परिचालित हुन्छन् भन्ने सुन्दा पाठकहरुलाई समेत अनौठो लाग्न सक्छ ।
उनीहरु राष्ट्रिय हित र स्वार्थलाई केन्द्रविन्दुमा राखेर होइन आन्तर्राष्ट्रिय संस्था तथा दातृ निकायहरुको स्वार्थ अनुकूल आफ्नो जिम्मेवारीलाई निर्देशित गर्न तत्पर हुँदा मुलुकले अपेक्षित सुशासनको लक्ष्य हासिल गर्न सकिरहेको छैन भने सरकार पनि गतिशील र प्रभावकारी हुन नसकिरहेको आम गुनासो रहेको छ ।
यस्तैमध्येका केही मन्त्रीहरुको कार्यसम्पादन मूल्यांकनलाई यहाँ प्रस्तुत गरिएको छ । जीवनभर लाभैलाभको पदमा बसेर पछिल्लो अवधि प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास र सद्भावमा अर्थमन्त्री नियुक्त भएका डा.युवराज खतिवडा आफूले प्राप्त गरेको जिम्मेवारीलाई इमानदारीपूर्वक बहन गर्न नसक्ने मन्त्रीका रुपमा दर्ज भएका छन् ।
नेपाल राष्ट्र बैंकको गभर्नरबाट अवकाश प्राप्त गरेपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिको कोटाबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका डा.खतिवडाको दुई वर्षे कार्यकाल अगामी २०७६ फागुन २१ गतेबाट समाप्त हुँदैछ ।
अझै मनोनयन भई अर्थमन्त्रीको जिम्मेवारीलाई निरन्तरता पाउनका लागि विभिन्न शक्ति केन्द्रमा धाइरहेको स्रोत बताउँछ । राष्ट्रिय सभामा निरन्तरता नपाए पनि आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्ने अवसर भएपनि पाउँ भन्दै शक्ति केन्द्रहरुमा अनुनयविनय गरिरहेको नेकपा स्रोत बताउँछ ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्रीका रुपमा डा.खतिवडालाई विज्ञ व्यक्ति ठानेर मुलुकको अर्थतन्त्रको भारी बोक्ने जिम्मेवारी दिएका थिए । आर्थिक क्षेत्रका होनहार भन्ने ठानेर डा.खतिवडा अर्थतन्त्रको बागडोर जिम्मा दिएका प्रधानमन्त्री ओलीले सकारात्मक र उपलब्धिमूलक हुने अपेक्षा गरेका थिए तर यसबीचको डा.खतिवडाको कार्यसम्पादनले प्रधानमन्त्रीको विश्वास र अपेक्षालाई सही रुपमा प्रतिनिधित्व गर्न नसकेको आरोप लागेको छ ।
आफ्नो विज्ञतालाई प्रयोग गरेर अर्थतन्त्रमा सुधार ल्याउन उनले भूमिका खेल्न नसकेको आरोप उनीमाथि लागेको छ । उनले आफ्नो विज्ञताको प्रभाव देखाउन सकेनन् ।
विकास खर्चसमेत बढाउन नसकेको मात्र होइन, उनको कार्यकालमा विकास खर्च घट्ने क्रमसमेत रोक्न सकेनन्, मुलुकको अर्थतन्त्रसम्बन्धी जानकार स्रोतको भनाई छ, सामान्य रुपले समेत अर्थतन्त्रलाई माथि लैजाने प्रयास गर्न सकेनन् ।
बरु स्थिर र सामान्य वृद्धि भइरहेको अर्थतन्त्रलाई सही बाटोमा ल्याउनुको साटो उनले खलबल्याए । बढी जान्ने भन्ने हुँ अहपनले यो परिणत निस्केको हो । आयातसमेत घट्यो, राजश्वको आम्दानीबाट कर्मचारीले तलब खान र निवृत्तिभरण वितरणमा समेत समस्या आईपर्ने अवस्था रहेको छ ।
विगतको द्वन्द्वकालमा समेत अर्थतन्त्र यसरी अहिलेको जस्तो राजश्व नघटेको अवस्थामा राजश्व घट्नुलाई अर्थशास्त्रीहरुले राम्रो लिएको छैनन् । अहिले जसरी निजी क्षेत्र निराश र आतंकित बनेको छ, यस्तो उदाहरणसमेत यसअघि कहिल्यै बनेको थिएन, एक जना अर्थविद्ले टिप्पणी गरे ।
यस अर्थ मन्त्रालयमा कर्मचारी वृत्तसमेत मन्त्री डा.युवराज खतिवडाको व्यवहार र कार्यशैलीका कारण निकै अप्ठ्यारो अवस्थाबाट काम गर्नु परिरहेको स्रोतको भनाई छ । केही समययता अर्थ मन्त्रालयको कर्मचारीहरुको मनोबल निकै घटेको बताइन्छ ।
उनीहरु मन्त्रीको व्यवहारबाट निकै अपहेलित र उपेक्षित बनेको महसुस गरेका छन् । यसपूर्व कर्मचारीहरुले यस्तो अवस्थाको कहिल्यै महसुस गर्नु परेको थिएन, टिम स्पीरिटका साथ काम हुने गरेको थियो, जानकार स्रोतले भन्यो ।
मुलुकको अर्थतन्त्रलाई गतिका साथ सञ्चालन गर्न अर्थमन्त्री डा.खतिवडाले निजी र बौद्धिक क्षेत्रसहित अर्थविद्हरुसँग परामर्श नगरिएको प्रति समेत आशंका व्यक्त गरिएको थियो ।
उनीहरुको सल्लाह र सुझाव नचाहिने भन्नेजस्तो व्यवहार देखाउने डा.खतिवडाले मेरो गोरुको बाह्र टक्का भन्ने भावमा काम गर्न खोजिरहेका कारणसमेत अर्थतन्त्रमा थप समस्या सिर्जना भएको आरोप अर्थ मन्त्रालय परिसरमा व्याप्त छ ।
अर्थमन्त्री खतिवडामा परिपक्वता नभएका कारण निर्णय क्षमतासमेत कमजोर रहेको आरोप लाग्ने गरेको छ । उनको कमजोर निर्णय क्षमताको प्रभाव मुलुकको अर्थतन्त्रमा परेको प्रस्टै देखिन्छ । यसअघि समेत यति लामो समयसमम अर्थतन्त्र घट्ने वा ओरालो लागेको उदाहरण नभएको स्रोत बताउँछ ।
हुन त अर्थमन्त्री खतिवडा नेकपाको केन्द्रीय सदस्यसमेत हुन् । पार्टीका नीति, सिद्धान्त र कार्यक्रम तथा चुनावी घोषणा पत्र उनका लागि कुनै नीतिगत मार्गदर्शनको दस्तावेजभित्र परेका छैनन्, तिनीहरुको आवश्यकता बोधसमेत गर्दैनन्, भन्ने ठूलो आरोपसमेत नेकपाका नेताहरुको रहेको छ, उनीमाथि, साँघुमा उल्लेख छ ।
बरु उनी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषप्रति बफादार देखिन्छन्, उनीहरुकै निर्देशनमा डा. खतिवडा चल्ने गरवेको आरोपसमेत लाग्ने गरेको छ । वास्तवमा अर्थमन्त्रीको शक्तिको स्रोत समेत यिनै दुई संस्थाहरु हुन् ।