काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । नियमित मूल्य समायोजनमा निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने जनाएको छ ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेले जानकारी दिए । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ र डिजेल प्रतिलिटर ९७ रुपैयाँ मूल्य कायम रहेको छ ।
निगमले नियमित मूल्य समायोजन प्रक्रियाअन्तर्गत नै इन्धनको मूल्य घटाइएको बताएको छ । यसअघि निगमले गत माघ २० गते मूल्य समायोजन गरेको थियो । उक्त समयमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाइएको थियो । हवाई इन्धनको मूल्य यथावत राखे पनि खाना पकाउने ग्याँसको मूल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो ।