काठमाडौँ, फागुन ६ । नेपाली काँग्रेसका पुर्वसांसद भगवत ज्ञवालीको निधन भएको छ । नेपाली काँग्रेस गुल्मी जिल्लाका संस्थापक सभापती रहेका ज्ञवालीको ७५ बर्षको उमेरमा निधन भएको हो ।
जावलाखेलस्थित अलका अस्पतालमा उपचारको क्रममा ज्ञवालीको निधन भएको हो । केही समयदेखि अल्सरबाट पीडित ज्ञवाली उपचारको लागि दिल्ली समेत पुगेका थिए । ठिक नभएपछि उनलाई जावलाखेलको अलका अस्पतालमा भर्ना गरिएको थियो ।
वि.स २००१ मा जन्मिएका ज्ञवाली नेपाली काँग्रेसका तात्कालिन नेता विपी कोइरालाका सहयात्री हुन् । उनी वि.स २०४८ सालको आम निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । ज्ञवालीले पार्टीमा रहँदा लोकतान्त्रिक आन्दोलन र संगठन निर्माणमा ऐतिहासिक योगदान दिएको नेपाली काँग्रेसले जनाएको छ ।
उनको निधनप्रति दुख ब्यक्त गर्दै काँग्रेस सभापती शेरबहादुर देउवाले ज्ञवालीको निधनले सिंगो पार्टीलाई अतुलनीय क्षति पुगेको बताएका छन् । देउवाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारि गरेको विज्ञप्तीमा भनिएको छ, ‘ उहाँको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्दछु । साथै, उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’