बेइजिङ, ६ फागुन : कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या एक हजार ८६८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यस भाइरसका कारण हाल्का केही दिनयता एकै दिनमा करिब १०० व्यक्तिको मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनााएका छन् ।
गत आइतबार एकै दिनमा सो भाइरसका कारण १०० व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी सोमबार यस भाइरसको सङ्क्रमणका कारण ९८ जनाको मृत्यु भएको एपी समाचार समितिले मङ्गलबार जनाएको छ ।
मङ्गलबार प्राप्त एक समाचारका अनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या १ हजार ८६८ पुग्नुको साथै ७२ हजार ४३६ व्यक्ति सङ्क्रमित भएका छन् ।
चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले सोमबार दिएको एक जानकारीअनुसार यस रोगको शुरुवाती घ’टनाहरूको अध्ययन गर्दा यस भाइरसको थप सङ्क्रमणको सङ्ख्या यस महिनाको शुरुबाट ८० प्रतिशतले घ’टेको पाइएको छ ।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियसले सोमबार भएको एक पत्रकार सम्मेलनमा प्रकोपको स्पष्ट तस्वीर दिएको बताउनु भएको छ ।
जारी अनुसन्धानअनुसार यस रोगको सङ्क्रमणको दर घट्दो मात्रामा देखिन थालेका बताइएको छ । महानिर्देशक गेब्रियसले अहिले नै सङ्क्रमण दर घ’ट्यो भनेर निष्कर्ष निकाल्नु एकदमै चाँडो हुने बताउनुभयो ।
यसअघि आइतबार चीनमा २ हजार ४८ जना सङ्क्रमित भएका समाचारमा जनाइएको थियो । सङ्क्रमितहरूको यो सङ्ख्या चीनको ३९ प्रान्तमा रहेको सो समाचारमा जनाइएको छ ।
गत डिसेम्बरको अन्त्यबाट शुरु भएको यस कोरोना भाइरसको सङ्क्रमणको कारण हुबेई प्रान्तमा मात्र ५८ हजार १८२ जनालाई कोरानाभाइरस सङ्क्रमण भएको आइतबार प्राप्त समाचारमा जनाइएको थियो ।
चीनमा फैलिएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट यहाँको विभिन्न क्षेत्र नराम्ररी प्रभावित भएको जनाइएको छ । वैज्ञानिकहरूले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन खर्च विनियोजन गरेको चिनियाँ अधिकारीहरूले जनाएका थिए ।
यस भाइरसको उपचारका क्रममा खटिएका कम्तीमा पनि २ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । यसबाट सङ्क्रमणबाट सात जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको छ ।
यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताहरूले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन, युरोपेली युनियनसहित विश्वका नेताहरूले पनि यो सङ्क्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । (रासस÷एपी)