महाशिवरात्री पर्वमा पशुपति मन्दिरमा आउने दर्शनार्थीको आवतजावतलाई सहज र सुरक्षित बनाउन पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालनको तयारी गरिएकाे छ ।
महानगरीय प्रहरी कार्यालयले महाशिवरात्रि सुरक्षा योजनाअन्तर्गत विशेष सुरक्षा व्यवस्था तयार पारेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपीको कमान्डमा रहने गरी सुरक्षाकर्मी परिचालन गरिनेछ ।
विशेष सुरक्षा योजनाको प्रत्यक्ष निगरानी र सहजीकरण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्नेछ । सम्भावित सुरक्षा चुनौतीको निगरानीका लागि ठूलो संख्यामा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।
यस वर्षको महाशिवरात्रिको दशनार्थ पशुपतिनाथ आउने भक्तजनको संख्या तीन लाखभन्दा बढी हुने महानगरीय प्रहरी कार्यालयले बताएको छ ।आवतजावतलाई सुरक्षित तथा व्यवस्थित गर्न सुरक्षा सतर्कता बढाइएको छ । जसका लागि ‘रिजर्व फोर्स’ मा रहेका प्रहरीलाई समेत परिचालन गरिएको छ । यस्तो फोर्स गौशाला प्रहरीवृत, विमानस्थल सुरक्षा कार्यालय, चाबहिल तथा गुह्वेश्वरीलगायत श्लेषमान्तक क्षेत्रमा तैनाथ हुनेछ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले महाशिवरात्री विशेष सुरक्षा योजनाको सबै तयारी पूरा भएको बताए । उनले भने, ‘गैरकानुनी क्रियाकलापअन्तर्गत मदिरा, गाँजा चरेसजस्ता लागुऔषध प्रयोगमाथि यसपटक पूर्ण नियन्त्रण गरिएको छ ।’
विशेष पास ‘खारेज’
पशुपति क्षेत्र विकास कोषले यसपटक भने दर्शनार्थीका लागि जारी गरिने विषेश पासको व्यवस्था खारेज गरिएकाे छ । पास हुने दर्शनार्थीले सुरुमै पूजाआजा गर्न पाउने र सर्वसाधारणले भने घण्टौं लाइन बस्नुपर्ने गुनासो बढेपछि यो व्यवस्था हटाइएको महानगरीय कार्यालय रानीपोखरीकी एसएसपी किरण बज्राचार्यले बताइन् । साथै मन्दिरको दर्शन छिटो र छरितो बनाउने उद्देश्यले एकद्वार प्रणाली लागू गरिएको पनि उनले बताइन् ।
जसनुसार पश्चिमतर्फको गौशाला तिलगंगा, दक्षिणतर्फको जयबागेश्वरी र गुह्वेश्वरी तर्फबाट चारवटा लाइनमार्फत मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ। दर्शनपश्चात् जुन क्षेत्रबाट प्रवेश गरेको हो सोही क्षेत्रबाटै निस्कने व्यवस्था गरिएको छ। विगतमा मन्दिर प्रवेश गर्ने लाइन व्यवस्थापन हुन नसक्दा दर्शनपछि बाहिरिने दर्शनार्थीको भीड बढ्नाले मन्दिर परिसर तनावग्रस्त हुने गरेको थियो ।
राष्ट्रपतिको दर्शन साँझ ५ बजे
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजे पशुपति मन्दिर पुगी विशेष पूजा गर्ने कार्यतालिका रहको बताइएको छ । त्यस समयमा सर्वसाधारणलाई मन्दिर प्रवेश गर्न दिइने छैन ।
राष्ट्रपति पशुपति मन्दिरमा आउनुपूर्व १५ मिनेटअघि देखि दर्शनको समयसम्म गरी करिब आधा घण्टा मन्दिर परिसर खाली रहने बताइएको छ । राष्ट्रपतिबाहेक अन्य उच्चपदस्थ अधिकारीको दर्शनको समयमा भने दर्शनार्थीको आवतजावत नरोकिने प्रहरीले जनाएको छ ।