• (रासस)

    काठमाडौँ, ९ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ ।

    सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

    शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ । भगवान् शिवका प्रतीकहरू अङ्कित लोगोले साङ्केतिक रूपमा सेनाको शक्तिलाई जनाउँछ । यसबाट नेपाली सेना देशका सबै प्रकारका राष्ट्रिय सङ्कटहरू निराकरण हुने विश्वास गरिँदै आएको छ ।

    समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०७६’ नामक वार्षिक पत्रिकाको विमोचन गर्नुका साथै ‘फ्री फल जम्प’मा प्रथम हुने हुद्दा लक्ष्मण बजगाईं र दोस्रो हुने जमदार राम बस्नेतलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो ।

    सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७६’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । बढाइँ कवाजअन्तर्गत लहरे र एकट्ठा प्रस्तुत गरियो । त्यस्तै सैनिक र नेपाली परम्परागत वेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो ।

    कार्यक्रमलाई रोमाञ्चक तुल्याउने क्रममा सैनिक मञ्चमा मास पिटी प्रस्तुत गरियोे । त्यसअन्तर्गत पिटी, तेक्वान्दो, खुकुरी ड्रिल प्रस्तुत भयो । नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो ।

    उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनी र सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्लेसमेत प्रस्तुत गरियो । नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो । सो अवसरमा आगलागी नियन्त्रणमा सैन्य कौशलको नमूना अभ्यास प्रस्तुत भयो ।

    उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा उपस्थित हुनुहुन्थ्यो ।

    उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसहित मन्त्रिगण, सांसद, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि र समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुग्नुभएको थियो । समारोहमा नेपाल भ्रमणमा रहनुभएका बेलायती सेनाध्यक्ष मार्क कार्लटन स्मिथ अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

    शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । उक्त समारोहको नेपाल टेलिभिजनलगायत विद्युतीय माध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । समारोहपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सञ्चारमाध्यममा सेना बिटमा समाचार लेख्दै आउनुभएका पत्रकारलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गर्नुभयो ।

    समाजका विभिन्न क्षेत्रबाट विशिष्ट योगदान पु¥याएका महानुभावलाई पनि सो पदक प्रदान गरियो । समारोहमा उत्कृष्ट कार्य गर्ने सेनाका विभिन्न गणलाई पुरस्कार एवं निशान चिह्न प्रदान गरिएको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …