फागुन १२, पथरी ।
मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मा रहेको बाल नमुना विद्या मन्दिरले आफ्नो २४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवशको अवसरमा २ जना कलाकारलाई सम्मान गरेको छ ।
स्थानिय क्षेत्रबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तर सम्म कलाकारिताको क्षेत्रबाट पालिकालाई चिनाउन सफल वनेको कलाकार रंगकर्मी जिवन बराल र टेलिफिल्म दोबेटेमा मुख्य कलाकारको रुपमा अभिनय गरिरेहेकी लक्ष्णा राईलाई सम्मान गरेको छ ।
दुवैलाई कलाकारीताको क्षेत्रबाट नगरको गरिमालाई उच्च बनाएको भन्दै सम्मान गरिएको विद्यालयका निर्देशक बीर बहादुर घिमिरेले बताए ।
साथै विद्यालयले कार्यक्रममा विद्यालयका उत्कृष्ट पूर्व विद्यार्थीहरु, उत्कृष्ट शिक्षक, प्रत्येक कक्षाका उत्कृष्ट विद्यार्थीहरु, उत्कृष्ट अभिभावकलाई लगाएतलाई सम्मान गरेको छ ।
कार्यक्रममा विद्यार्थीहरुले फुड फेस्टिवल, हस्तकला, पेपर आर्टस देखि सेरामिक सम्मका कलाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख दिलिप कुमार राईले ग्रामिण क्षेत्रमा व्यवस्थित विद्यालय रहेको भन्दै खुलेर प्रशंसा गरेका थिए । संस्कार सहितको शिक्षामा जोड दिइएको विद्यालयको अझै सफलताको कामना गर्दै राईले आगामी दिनमा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने सुझाए ।
यस्तै एनप्याब्सन प्रदेश १ का अध्यक्ष जय कुमार श्रेष्ठले सानो विद्यालय तर व्यवस्थित रहेको भन्दै प्रशंसा गरे । गाउँमा रहेका धेरै विद्यालयमा बाल नमुना उत्कृष्ट विद्यालयको रुपमा रहेको श्रेष्ठले उल्लेख गरे ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै शनिश्चरे भुटानी सरणार्थी शिविरका प्रमुख चम्पासिंह राईले ग्रामिण क्षेत्रमा बाल नमुनाले उत्कृष्ट शिक्षा दिइरहेको भन्दै प्रशंसा गरे ।
शिविरबाट समेत विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएकाले अधिकांश विद्यार्थीहरु आइरहेको राईले बताए । शिविरका १८ जना विद्यार्थीहरु समेत निःशूल्क अध्यापन गराइरहेको भन्दै राईले शिविरका लागि विद्यालयले ठुलो गुण लगाएको बताए ।
२०५२ सालमा स्थापना भएको विद्यालय सामान्य तवरले चलिरहेको अवस्थामा २०७४ सालमा नयाँ व्यवस्थापनमा आएसंगै तिब्र रुपमा विकासको क्रममा अगाडी वढिरहेको निर्देशक बीर बहादुर घिमिरेले उल्लेख गरे ।
नयाँ व्यवस्थापनमा आउँदा १३९ जना मात्रै विद्यार्थी रहेकोमा हाल जम्मा ३३५ जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।
हाल १ विगाह ५ कठ्ठा क्षेत्रफलमा रहेको विद्यालयमा २ वटा स्कुल बस रहेका छन् । आगामी दिनमा बालउद्यान सहित स्वीमिङ पुल, प्रविधि मैत्री कक्षाहरु अगाडी बढाउने योजना रहेको विद्यालयका प्रिन्सिपल सरोज तिम्सीनाले बताए
हाल कक्षा ८ सम्म मात्रै अनुमति रहेको विद्यालयमा आगामी शैक्षिक सत्रमा कक्षा ९ अनुमति लिने र विस्तारै कक्षा १२ सम्म पु¥याउने विद्यालयको योजना रहेको छ ।